२०७४ फागुन १४ गतेको कुरा हो।
नेकपा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकाबिहानै महासचिव ईश्वर पोखरेललाई फोन गरे।
फोनमा ओलीले यत्ति भने, 'आज मन्त्रीको शपथ लिनुपर्छ, दिउँसो शीतल निवास आउनू।'
ओलीले पोखरेललाई शपथको निम्तो दिए पनि कुन मन्त्रालयको जिम्मेवारी दिन लागेको भनेर खुलाएनन्।
पोखरेलले अर्थ मन्त्रालय हाँक्ने आफ्नो इच्छा ओलीसँग खुलेरै व्यक्त गरेका थिए। तर ओलीले कुनै जबाफ दिएका थिएनन्।
काठमाडौंको धापासीस्थित निवासबाट दौरा सुरूवाल लगाएर पोखरेल शीतल निवासका लागि गाडी चढ्दासम्म उनको मन्त्रालय टुंगो लागेको थिएन।
शीतल निवास पुग्नै लाग्दा मात्र पोखरेलले आफूलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेको थाहा पाए।
विगतमा उपप्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका पोखरेललाई ओलीले उपप्रधानमन्त्रीको जिम्मेवारी त परै जाओस्, महत्त्वपूर्ण मन्त्रालयसम्म दिएनन्। एक किसिमले भन्ने हो भने पोखरेल मन्त्रिपरिषदमा घटुवामा परे।
पोखरेलले त्यति बेला ओलीले गरेको व्यवहारबारे आफ्ना निकटहरूसँग कुरा गरेका थिए।
'त्यो दिन मलाई शीतल निवासमा शपथ नलिई फर्किऊँ कि जस्तो लागेको थियो,' पोखरेलले भनेका थिए, 'अध्यक्ष ओलीले कुन तहको प्रतिक्रिया व्यक्त गर्लान् भन्ने सोचेर अडिएँ।'
ओलीले गठबन्धनमा रहेको माओवादी केन्द्रसँग सहमति अनुसार उपप्रधानमन्त्री पद नराखिएको र सबभन्दा वरिष्ठ मन्त्री पोखरेल नै हुने भन्दै थामथुम पारे।
त्यो घटनाबाट ओलीसँग मन अमिलो भए पनि पोखरेलले खुलेर केही भनेनन्।
तर त्यसपछि पनि ओलीले क्रमश: आफूलाई बेवास्ता गरेको पोखरेलले थाहा पाए।
२०७५ फागुन ३ गते — वाम गठबन्धन बनाएर चुनावमा गएका एमाले र माओवादी केन्द्रले पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए।
एकतापछि पार्टीमा ७ सदस्यीय सचिवालय गठन भयो। उक्त सचिवालयमा एमालेको महासचिवजस्तो जिम्मेवारीमा रहेका ईश्वर पोखरेल छुटे। बरू पार्टीका उपमहासचिव विष्णु पौडेल शक्तिशाली नेकपाका महासचिवमा बढुवा भए।
पार्टी एकता हुँदैछ भन्ने त पोखरेललाई थाहा थियो, तर ७ सदस्यीय सचिवालय बन्दैछ र त्यसमा आफूलाई राखिने छैन भन्नेबारे पोखरेल अघिल्लो दिनसम्म बेखबर थिए।
नेकपा कालमा पोखरेललाई प्रधानमन्त्रीका रूपमा ओलीले कतिसम्म गरे भने, २०७७ असोज २८ गते उनको नेतृत्वमा रहेको रक्षा मन्त्रालयको जिम्मेवारीसमेत खोसिदिए।
उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारेर जिम्मेवारीविहीन बनाइयो।
त्यति बेला नेकपाभित्रको विवाद चरम विन्दुमा पुगेको थियो। ओलीमाथि पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल लगायतका नेताहरूबाट दबाब थियो।
पार्टीभित्र बढ्दो किचलोका कारण ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गरी दुई पटक असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरे।
दुवै पटकको विघटन अदालतबाट बदर भयो।
बरू नेकपाको नाममा परेको मुद्दामा भएको फैसलाका कारण २०७७ जेठ २३ गते एमाले र माओवादी केन्द्र अलग अलग पार्टीका रूपमा ब्युँतन पुग्यो।
पार्टी ब्युँतिए पनि नेकपा एमाले सग्लो रहेन। माधव नेपाल, झलनाथ खनाल लगायतका नेताले छुट्टै एकीकृत समाजवादी पार्टी बनाए।
उक्त विभाजन बेला पोखरेलले ओलीलाई दरिलो साथ दिए। उनले यतिसम्म ओलीलाई साथ दिए, विभाजनपछि चितवनमा भएको एमालेको दसौं महाधिवेशनमा ओलीको नेतृत्वमै अघि बढ्ने र उनलाई नै आवश्यक टिम बनाउन सहयोग गर्ने बताए।
भीम रावल, घनश्याम भुसाल लगायतका नेता ओलीसँग प्रतिस्पर्धामा ओर्लिँदा पोखरेल भने ओलीको नेतृत्वको पक्षमा खडा भए।
पोखरेलले ओलीलाई साथ दिएको त्यो पहिलो पटक थिएन।
२०७१ असारमा भएको नवौं महाधिवेशनबाट ओलीलाई अध्यक्ष बनाउन पनि पोखरेलको महत्त्वपूर्ण भूमिका थियो। त्यसअघि बुटवलमा भएको आठौं महाधिवेशनमा झलनाथ खनाल प्यानलबाट महासचिव भएका पोखरेल नवौं महाधिवेशनमा ओलीको पक्षमा लागेका थिए। उनले केपी ओलीलाई 'झापा आन्दोलनको नेता' का रूपमा उल्लेख गर्दै परीक्षण हुन पाउनुपर्ने धारणा राखे।
पोखरेलले नवौं महाधिवेशनको ठिकअघि पार्टी बैठकबाट कुल प्रतिनिधिको पाँच प्रतिशत छनौट गर्दा समेत ओलीलाई सहज हुने गरी बैठकबाट निर्णय गराइदिए। त्यो निर्णय कति महत्त्वपूर्ण थियो भन्ने महाधिवेशनको अन्तिम नतिजामा झल्किएको थियो। उक्त महाधिवेशनमा ओलीले १ हजार ४७ मत ल्याए भने माधव नेपालले १ हजार ३ मत पाएका थिए। ओली ४४ मतको अन्तरले अध्यक्ष निर्वाचित भएका थिए।
पोखरेलको साथ ओलीको राजनीतिक उदयका लागि महत्त्वपूर्ण सिद्ध भयो। उक्त महाधिवेशनबाट पोखरेल महासचिवमा दोहोरिए।
केपी ओली र ईश्वर पोखरेल दुवैसँग काम गरेका नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा नवौं महाधिवेशनमा ओलीको जीतका लागि पोखरेल र वामदेव गौतमले अतुलनीय भूमिका खेलेको बताउँछन्।
त्यति बेला ओलीले पार्टीको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड दिएका थिए। ओलीले आफू पार्टीमा नदोहोरिने संकेत गर्दै 'केपी ओलीले एउटै कक्षा दोहोर्याएर पढ्दैन' भन्ने घोषणा गरेका थिए।
नेकपा एमालेलाई बहुपदमा लैजाने, ७० वर्षमा नेताहरूको अवकाश हुने र दुई कार्यकाल मात्र पार्टीको नेतृत्व गर्न पाइने प्रस्ताव ओली स्वयंले एमालेको महाधिवेशनबाट पारित गराएका थिए।
ईश्वर पोखरेल यसका पक्षपाती थिए। ७० वर्षको उमेर हद राख्ने प्रस्ताव पोखरेलले आफूलाई रोक्न ल्याएको भन्दै वामदेवले विरोध समेत गरेका थिए।
यसपटक भने ७० काटेका ओली र पोखरेल विधान संशोधन गरेर महाधिवेशनको मैदानमा एकअर्का विरूद्ध उभिएका छन्। नेकपा एमालेमा सधैं पार्टीको संस्थापन भएर काम गरेका पोखरेल यसपटक विद्रोही भएका छन्।
पोखरेल नेकपा एमालेमा अहिले भएकामध्यै सबभन्दा लामो समय केन्द्रीय समितिमा बसेर काम गरेका नेता हुन्। एमालेका पुराना नेतामध्ये माधव नेपाल र झलनाथ खनाल पार्टीबाट बाहिर छन्। पोखरेलले १४ वर्ष जेल परेका ओलीभन्दा धेरै पार्टी निर्माणमा काम गरेको एमालेकै नेताहरू बताउँछन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको समयदेखि कम्युनिस्ट पार्टीमा सक्रिय रहेका पाल्पाका नेता झपेन्द्र जिसी पोखरेल कुशल संगठक रहेको बताउँछन्। जिसी भूमिगत कालमा ईश्वर पोखरेलले एक महिनासम्म पाल्पाको मदनपोखरामा बसेर संगठन गरेको सम्झन्छन्।
एमाले केन्द्रीय समिति सदस्य थापा पोखरेललाई 'पार्टी इतिहासको जीवित अभिलेख' का रूपमा टिप्पणी गर्छन्। एमालेका सबै घटना, परिघटना, मोड र घुम्तीबारे पोखरेलसँग व्यवस्थित ज्ञान रहेको थापा बताउँछन्।
तर पोखरेलको उदय र ओलीको उदयलाई एउटै गरी हेर्न नहुने थापाको तर्क छ।
'पोखरेल बिहान ७ बजे पनि पार्टी अफिस गएर काम गर्ने व्यक्ति हो। उहाँ २०३२ देखि २०८२ सालसम्म ५० वर्ष केन्द्रीय समितिमा हुनुहुन्छ,' थापाले भने, 'आफ्नो समयमा पार्टीको निर्माण, विकास र विस्तारमा उहाँको भूमिका छ। तर सबै नेताको नेतृत्व गर्ने अनुकूलता पर्दो रहेनछ।'
पोखरेल महासचिव र प्रचार विभाग प्रमुख भएका बेला सचिव भएर काम गरेका थापा ईश्वर पोखरेलले पार्टीको नेतृत्व कहिल्यै दाबी नगरेको बताउँछन्।
'दसौं महाधिवेशनमा पार्टी विभाजनका कारण नेतृत्वबारे छलफल नै भएन। एघारौं महाधिवेशनका लागि पनि पोखरेलले कहिल्यै नेतृत्वका रूपमा छलफल अघि बढाउनुभएन,' थापाले भने, 'ओलीले पार्टी नेतृत्वका लागि २१ वर्ष तयारी गर्नुभयो। तर पोखरेल २१ दिनको तयारी गरेर प्रतिस्पर्धामा ओर्लिनुभएको छ।'
कम्युनिस्ट पार्टीहरूमा भावी नेतृत्वका रूपमा सीमित नेताहरूलाई अघि सार्ने गरिन्छ। अर्थात् 'प्रोजेक्सन' गरिन्छ। तर एमालेमा ओलीको उदय प्रतिस्पर्धाबाट भएको थापा बताउँछन्।
'केपी ओली फरक ढंगले पार्टीको नेतृत्वमा आउनुभयो,' थापाले भने, 'उहाँ प्रत्यक्ष चुनाव जितेर आएको व्यक्ति हो।'
केपी ओलीले विभिन्न कालखण्डमा मुखमै भैपरी आएको नेतृत्व छाडेको बरू प्रतिस्पर्धाबाट आफूलाई अब्बल साबित गरेको थापा बताउँछन्।
'दासढुंगा दुर्घटनामा मदन भण्डारीको मृत्यु भएपछि केशव बडाल र वामदेव गौतमले आर्यघाटमा दाहसंस्कार चल्दै गर्दा छेउमा तानेर तपाईं नेतृत्वका लागि तयार हुनुपर्छ भन्नुभयो,' थापाले भने, 'तर उहाँले त्यति बेला नेतृत्व लिनुभएन। माधव नेपाललाई महासचिव बनाएर जाने भनेर अघि सार्नुभयो।'
थापाका अनुसार २०६१ माघ १९ गते राजाले प्रत्यक्ष शासन हातमा लिएपछि माधव नेपाल सहितका नेताहरूलाई नजरबन्द राखिएका बेला ओलीलाई दोस्रो पटक यस्तो मौका आएको थियो। त्यति बेला माधव नेपाल र केपी ओली दुवैलाई नजरबन्द गरिएको थियो। झलनाथ खनाल बाहिरै थिए। पार्टीलाई क्रियाशील बनाउन खनाललालई संयोजक बनाएर उपलब्ध केन्द्रीय सदस्यको भेलाबाट अघि बढ्ने विषय छलफलमा आएको थियो।
'त्यतिबेला केपी ओलीले झलनाथ खनाललाई संयोजक बनाएर अघि बढ्न रोक्नुभयो,' थापाले भने, 'उहाँले झलनाथलाई कार्यवाहक महासचिव बनाउनुपर्छ भन्नुभयो। दुश्मनले पार्टी महासचिवलाई नजरबन्दमा राखेका बेला नेतृत्व परिवर्तन गर्नुहुन्न भनेर संयोजक बनाउने निर्णय उल्ट्याउनुभयो। माधव नेपाल नजरबन्दबाट छुटेपछि महासचिव हुनुभयो।'
थापाले अगाडि भने, 'केपी ओलीले चाहेका भए आफूले पार्टी हातमा लिन सक्नुहुन्थ्यो। तर दुश्मनले पार्टी नेतालाई अप्ठ्यारोमा पारेका बेला नेतृत्व खोस्न हुँदैन भन्ने राय उहाँले व्यक्त गर्नुभयो। जबकि माधव नेपाल र केपी ओलीको सम्बन्ध त्यति बेलै तिक्ततापूर्ण थियो।'
थापा अहिले केपी ओलीलाई पक्राउ गर्नुपर्छ भन्ने आवाज उठिरहेका बेला ईश्वर पोखरेलले हठात् उम्मेदवार बन्ने निर्णय लिएकोमा चकित छन्।
'बाह्य हमला भएका बेला भित्रको मान्छेले नेतृत्वलाई सहयोग गर्नुपर्छ। अहिले ईश्वर पोखरेलको भूमिका ठिक भएन। केन्द्रीय समितिले गौरीबहादुर कार्कीको आयोग खारेज गर्नुपर्छ भनेर निर्णय गरेको छ। तर पोखरेलले बयान दिन जानुपर्छ भन्नुभयो। यो मैले चिनेको ईश्वर पोखरेल होइन,' थापाले भने, 'केपी ओली र ईश्वर पोखरेलबीच चुनाव हुनुहुन्न भन्ने धारणा होइन। तर उहाँले लक्ष्मणरेखा नाघ्नुभयो। केपी ओलीलाई थुन्नुपर्छ भन्ने त बालेन शाह, सुशीला कार्की र ओमप्रकाश अर्याल नै छन्।'
थापा नेकपा एमालेमा ईश्वर पोखरेलले सधैं नेतृत्वलाई सहयोग गर्ने गरेको स्मरण गर्छन्।
माधव नेपाल, झलनाथ खनाल र केपी ओली सबैलाई पोखरेलले 'सेकेन्ड म्यान' भएर सहयोग गरेको उनको भनाइ छ। तर यसपटक पोखरेल उम्मेदवार हुनु नैतिक नभएको उनले बताए।
'ईश्वर पोखरेलले ७० वर्ष उमेर हद हटाउने विषयको विरोध गर्नुभयो। उहाँ आफै पनि ७० वर्ष पुगेर रिटायर्ड हुन्छु भन्ने मुडमा हुनुहुन्थ्यो,' थापाले भने, 'तर आफैले ७० वर्ष काटेको मान्छे नेतृत्वमा आउनु हुन्न भन्ने धारणा राखेपछि कम्तिमा आफू ७० काटेका कारण महाधिवेशनमा नेतृत्वको आकांक्षी हुनु हुन्थेन।'
थापा ईश्वर पोखरेललाई नेकपाको एकतापछि महासचिव बनाउन माधव नेपाल र पुष्पकमल दाहाल 'प्रचण्ड' ले रोकेको दाबी गर्छन्।
'केपी ओली पनि सहमत हुनुभयो तर नवौं महाधिवेशनमा ईश्वरले साथ दिएन भन्ने माधव नेपाल र झलनाथ खनाललाई परेको थियो। त्यसैले उनीहरूले प्रचण्डसँग मिलेर ईश्वरलाई रोक्ने काम गरे,' उनले भने।
थापाले भनेजस्तै २१ दिनको तयारीमै भए पनि पोखरेल एमालेमा ओलीको एकल निर्णयमा पार्टी नचल्ने सन्देश दिन यसपटक महाधिवेशनमा चेस खेलमा जस्तै 'चेकमेट' गर्न उभिएका छन्। उनलाई विगतमा ओलीसँग अत्यन्त राम्रो सम्बन्ध भएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले साथ दिएकी छन्।
एमाले विभाजन बेला माधव नेपाल र झलनाथ खनालाई साथ दिन छाडेर एमालेमै बसेका नेताहरूले पोखरेललाई दरिलो आधार दिएका छन्। त्यसैले पोखरेल यसपटक नेकपा एमालेका शक्तिशाली अध्यक्ष ओलीलाई चुनौती दिन उभिएका छन्।
एमालेका पुराना नेता एवं अनुशासन आयोगका सदस्य झपेन्द्र जिसी ओलीको कुनै पनि विषयमा निर्णय गर्ने र त्यसमा अडान लिन सक्ने क्षमता भएका कारण पछिल्लो समय एमाले राष्ट्रिय शक्तिका रूपमा उदाएको बताउँछन्।
पोखरेलले संगठनको क्षेत्रमा राम्रो काम गरेका भए पनि ओलीको व्यक्तित्वसँग उनले प्रतिस्पर्धा गर्न नसक्ने जिसीको भनाइ छ।
नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी गर्नेदेखि नाकाबन्दीसँग लडेको र चीनसँग पारवाहन सम्झौता गरेका कारण अहिले ओलीविरूद्ध षड्यन्त्र भएको जिसी बताउँछन्। साथै, अध्यक्ष भएपछि ओलीले पार्टी हराभरा बनाएपछि अवसरवादीहरूले आँखा लगाएको उनको जिकिर छ।
'उहाँलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खोजियो,' जिसीले भने, 'तर कार्यकर्ताको साथका कारण ओली अहिले उभिएका हुन्।'
ओलीलाई भेटेर उनी आसेपासेको घेराबन्दीमा परेकोबारे गुनासो गरेको जिसी बताउँछन्।
'कार्यकर्ता र अरू मान्छे भेट्नै नदिने अवस्था भयो,' जिसीले भने, 'मैले ओलीलाई भेटेरै भनेँ, उनले केही भनेनन्।'
ईश्वर पोखरेलले पार्टीभित्र कहिल्यै गुटबन्दी नगरको उल्लेख गर्दै उनले भने, 'पार्टीको काम गर्ने। जे जसो पाएको खाएर खट्ने उहाँको स्वभाव हो। उहाँले दुई दुई पटक महासचिव भए पनि गुटबन्दी गर्नुभएन।'
जिसी केपी ओलीले विद्या भण्डारीलाई दुई पटक राष्ट्रपति बनाएर गल्ती गरेको बताउँछन्। अहिले फेरि पार्टीमा विद्या भण्डारीलाई अध्यक्षका रूपमा बोकेर पोखरेलले गल्ती गरेको उनको तर्क छ।
'विद्या भण्डारी राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि भएको व्यक्ति हो तर उहाँ कुनै पार्टी निर्माण गर्ने व्यक्तित्व होइन,' जिसीले भने, 'उहाँले कार्यकर्ता नै चिन्नुहुन्न। राष्ट्रपति भएको व्यक्ति देशको अभिभावक भएर बस्न सक्नुहुन्थ्यो।'
एमाले नेता मुकुन्द न्यौपाने केपी ओलीले जेलभित्र लामो समय बिताउँदा पोखरेलले जनताको माझमा बसेर धेरै ज्ञान बटुलेको बताउँछन्।
'उहाँलाई उत्पादन गर्ने जनताको वर्ग संघर्ष थाहा छ, ज्ञान व्यवहारबाट आउँछ र त्यो व्यवहारमा फर्कन्छ,' न्यौपानेले भने, 'चौध वर्ष निरन्तर जनताको बीचमा संघर्षमा रहेको मानिस र १४ वर्ष जेलमा बसेको मान्छेको ज्ञानको तुलना हुँदैन।'
पोखरेल एमालेका अनुशासित व्यक्ति र पार्टी अनुशासन उल्लंघन नगरेको उनी बताउँछन्।
'बहुमतको निर्णय मानिँदैन भनेर भन्नुभएको मलाई थाहा छैन,' न्यौपानेले भने, 'केपी ओलीले लेखेरै ७० वर्ष र दुई कार्यकालको किताब छपाएका हुन्। तर अहिले हटाउनुपर्छ भनेर आफैले प्रस्ताव लगे। कोही बोल्न सकेनन्। किनभने ओलीका समर्थकलाई कुनै ज्ञान छैन। केपी ओलीका पक्षमा रहेकाहरू कसैले पनि मार्क्सवाद र वर्तमान विश्व व्यवस्था र समाजबारे खुला बहस गरेर देखाऊन्।'
ओलीलाई धेरैले अध्ययन गर्ने नेताका रूपमा चिनाउँछन्। तर ओलीले व्यवहारमा लागू हुने कुरै नगर्ने न्यौपानेको भनाइ छ।
'तुरतुरे भाषण त जसले पनि गर्छ,' न्यौपानेले भने, 'सुखी नेपाली समृद्ध नेपाल नारा दिएको छ, जबकि देशमा १० अर्ब रूपैयाँको चामल आयात हुन्छ। २८ खर्ब ऋण पुगिसक्यो। ३४ वर्षमा ३२ वटा सरकार बनेको छ। अनि यस्तो सरकार बनाएर खाने काम योग्यता हो?'
न्यौपाने अहिलेसम्म प्रधानमन्त्री भएका नेताहरू सबै असफल भएकाले उनीहरूले बिदा लिनुपर्ने बताउँछन्। घुँडामा नबाँधी हिँड्न नसक्ने नेताहरूले आफै खान्छु भनेर भन्न नसुहाउने न्यौपानेको तर्क छ।
पोखरेलले यो महाधिवेशनलाई जीत-हारभन्दा पनि पार्टीभित्र कोही पनि प्रश्नभन्दा माथि छैन र सामूहिक निर्णयको पक्षमा वकालत गर्ने प्रयासका रूपमा लिएका छन्। अर्कातर्फ ओलीले आफूविरूद्ध घेराबन्दी गरिएको महाधिवेशनलाई परीक्षण गर्ने थलोका रूपमा लिएका छन्। उनले खुलेरै आफूलाई अलोकप्रिय भएको प्रचार गरिएकाले त्यसलाई चिर्न महाधिवेशनबाट परीक्षण हुन चाहेको बताएका छन्।
एमालेको दसौं महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौंमा जम्मा भइसकेका छन्। महाधिवेशनबाट उनीहरूले ओली वा पोखरेल कसलाई रोज्छन् त्यो केही दिनभित्रै टुंगो लाग्नेछ।
***