फेब्रुअरी २८ मा इसराइलसँग मिलेर इरानमा हमला गरेपछि अमेरिकाले अप्रिल ७ मा युद्धविराम घोषणा गर्यो।
१४ दिनको युद्धविराम गरी सो अवधिमा युद्धको दीर्घकालीन अन्त्य गर्न इरानसँग सम्झौता गर्ने ट्रम्पले घोषणा गरेका थिए। तर २ महिना भइसक्दा पनि अमेरिका र इरानबीच युद्ध अन्त्य हुने लक्षण देखिएको छैन।
यसबीचमा ट्रम्पले कैयौं पटक युद्ध अन्त्यका लागि इरानसँग सम्झौता नजिकै पुगेको भनेका छन्। तर अहिलेसम्म सम्झौता नजिक पुग्नुको सट्टा पुनः हानाहान हुन थालेको छ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले ट्रम्पले अहिलेसम्म कति पटक 'इरानसँग डिल हुनै लाग्यो भनेर घोषणा गरे?' भनेर रिपोर्ट तयार पारेको छ।
सिएनएनका अनुसार कम्तिमा ३८ पटक ट्रम्पले यस्तो दाबी गरेका छन्।
ट्रम्पले 'सम्झौता हुनै लाग्यो', 'भोलिसम्म हुन्छ' भन्ने घोषणाले विश्वबजारमा कच्चा तेलको मूल्य घट्ने, अमेरिकी सेयर बजार बढ्ने बाहेक अरू प्रभाव नपरेको पनि उल्लेख छ।
ट्रम्प यस्ता घोषणाहरू प्रायः आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्छन्। त्योसँगै विभिन्न अन्तर्वार्ता, ह्वाइट हाउस र एयरफोर्स वानमा पत्रकारहरूसँगको कुराकानीसँगै आन्तरिक छलफलमा पनि पटक-पटक यस्ता घोषणा गरेका छन्।
रिपोर्टका अनुसार ट्रम्पले ११ पटक आफ्नो ट्रुथ सोसलमा पोस्ट गरेर, ६ पटक औपचारिक अन्तर्वार्ता र मिडिया ब्रिफिङमा, क्याबिनेट बैठक र्यालीमा ५ पटक र अरू विभिन्न अनौपचारिका कार्यक्रमहरूमा गरी ३८ पटक त्यस्तो घोषणा गरेका छन्।
ट्रम्पले युद्ध सुरू भएको एक महिना नपुग्दै मार्च २३ मा एयरफोर्स वान बाहिर पत्रकारहरूसँगको कुराकानीमा वार्ता भइरहेको र सम्झौताको नजिक रहेको, धेरैजसो बुँदामा सहमति भइसकेको बताएका थिए। तर इरानले कुनै पनि वार्ता नै नभएको भनेर दाबी गर्यो।
त्यसको भोलिपल्ट अर्थात् मार्च २४ मा ट्रम्पले इरान सम्झौताका लागि 'आतुर' रहेको बताएका थिए।
'मलाई लाग्छ हामी यो अन्त्य गर्नेछौं,' उनले भनेका थिए।
मार्च २५ मा ट्रम्पले इरान सम्झौता गर्न अत्यन्तै इच्छुक रहेको बताए भने मार्च २६ मा मन्त्रिपरिषद् बैठकका क्रममा इरान सम्झौताका लागि भिख मागिरहेको टिप्पणी गरेका थिए।
तर ट्रम्पले दाबी गरेझैं आतुर देखिएको इरानले त्यसपछि पनि साढे दुई महिना कुनै सम्झौता गरेको छैन।
मार्च २९ मा एयरफोर्स वानमै पत्रकारहरूले ट्रम्पलाई 'अर्को साताभित्र सम्झौता हुन्छ?' भनेर सोधेका थिए। 'हो, म इरानसँग सम्झौता हुने देखिरहेको छु,' जबाफमा उनले भनेका छन्।
अप्रिल ६ मा ट्रम्पले आफूहरू 'सम्झौताबाट निकै नजिक पुगेको' तर केही अवरोध आएको बताएका थिए।
त्यसको भोलिपल्ट अप्रिल ७ मा उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै अमेरिका र इरान 'धेरै अगाडि बढिसकेको' बताएका थिए। उनले सम्झौता अन्तिम रूप लिन 'दुई हप्ता' लाग्ने उल्लेख गर्दै 'यो दीर्घकालीन समस्या समाधानतर्फ जानु सम्मानको कुरा हो' भनेका थिए।
त्यही दिन उनले युद्धविरामको घोषणा पनि गरेका थिए, जुन सुरुमा दुई साताका लागि हुने र त्यस अवधिमा अन्तिम सम्झौता गरिने अपेक्षा गरिएको थियो।
तर दुई साताभित्र समाधान भएन। त्यसपछि पनि ट्रम्पको दाबी भने रोकिएन।
अप्रिल १५ मा फक्स बिजनेससँगको अन्तर्वार्तामा ट्रम्पले फेरि युद्ध अन्त्यतिर पुगेको दाबी गरे।
उनले 'इरान सम्झौताका लागि निकै इच्छुक छ' भन्ने दाबी पनि दोहोर्याए।
अप्रिल १६ मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले 'इरानसँग राम्रो सम्झौता हुने देखिएको' बताएका थिए। त्यसको भोलिपल्ट अप्रिल १७ मा उनले तीन फरक सार्वजनिक कार्यक्रममा एउटै दाबी दोहोर्याए।
'सबै कुरामा सहमत भइसकेको,' एक–दुई दिनभित्र सम्झौता हुन सक्ने' र 'महत्त्वपूर्ण मतभेद धेरै बाँकी नरहेको' बताएका थिए।
अप्रिल २० मा ट्रुथ सोसल पोस्टमार्फत ट्रम्पले 'सबै कुरा छिट्टै हुनेछ' भन्दै फेरि आश्वासन दिएका थिए। तर त्यो पनि पूरा भएन।
अप्रिल ३० मा ट्रम्पले इरान 'सम्झौता गर्न मरिहत्ते गरिरहेको' बताएका थिए। त्यसको भोलिपल्ट मे १ मा पत्रकारहरूसँग कुरा गर्दै 'युद्ध धेरै लामो नचल्ने' दाबी गरेका थिए।
केही समय यस्ता अभिव्यक्तिमा विराम लागे पनि मे १८ मा ट्रम्पले मध्यपूर्वी देशहरूको आग्रहमा आफूले इरानमाथिको सैन्य हमला 'दुई वा तीन दिन' पछि सारिएको बताएका थिए। कारण दिँदै उनले 'उनीहरू सम्झौतामा धेरै नजिक पुगेको ठानिरहेका छन्' भनेका थिए।
यही क्रममा ट्रम्प स्वयंले पनि यसअघि आफ्ना यस्ता भविष्यवाणी असफल भएको स्वीकार गरेका थिए।
'हामीले यस्ता समय देख्यौं, जहाँ हामी सम्झौतामा निकै नजिक पुगेको ठानेका थियौं, तर त्यो सफल भएन,' उनले भनेका थिए। तर त्यसपछि पनि उनले 'यो पटक फरक' भएको दाबी गरेका थिए।
तर परिस्थिति फेरिएन। मे १९ मा दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहमको समर्थनमा आयोजित कंग्रेसनल पिकनिक कार्यक्रममा ट्रम्पले 'हामी यो युद्ध धेरै छिट्टै अन्त्य गर्छौं' भनेका थिए।
मे २३ मा ट्रम्प फेरि सक्रिय देखिए।
उनले प्रशासन 'सम्झौतामा धेरै नजिक पुगेको' बताएका थिए। त्यही दिन उनले सम्झौता 'लगभग अन्तिम रूप लिइसकेको' र 'अन्तिम पक्षमाथि छलफल भइरहेको' बताएका थिए। साथै सम्झौता 'छिट्टै घोषणा हुने' दाबी पनि गरेका थिए।
मे २८ मा बुहारी लारा ट्रम्पसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिका र इरान 'राम्रो सम्झौताको धेरै नजिक' रहेको बताएका थिए।
गत आइतबार ट्रम्पले फेरि इरानसँग 'अन्तिम सम्झौताको धेरै नजिक' पुगेको दाबी गरे। तर उनले इरान र इसराइलबीच बढ्दो तनावले त्यसलाई जोखिममा पारेको बताए।
एक्सियससँग कुरा गर्दै उनले भने, 'हामी इरानसँग अन्तिम सम्झौताबाट धेरै नजिक छौं, यो राम्रो सम्झौता हुनेछ' भनेका थिए।
'अहिले भइरहेको घटनाले त्यो बिग्रियोस् भन्ने म चाहन्नं,' उनले थपेका थिए।
तनाव बढिरहेका बेला पनि ट्रम्पको दाबी रोकिएको छैन।
सोमबार दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहमका लागि आयोजित टेलि–र्याली कार्यक्रममा ट्रम्पले 'अर्का दुई साताभित्र पूर्ण विजय' हुने र इरान 'हामीलाई सबै कुरा दिन तयार' रहेको दाबी गरे।
त्यसको भोलिपल्ट मंगलबार न्यूयोर्कमा एनभिए फाइनल हेरेर फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले वार्ता 'अन्तिम चरणमा' पुगेको बताएका थिए।
तर इस्लामावाददेखि जेनेभासम्मको प्रत्यक्ष वार्तादेखि पाकिस्तान, कतार लगायतका देशहरूले गरेको भरमग्धुर प्रयासका बाबजुद इरान-अमेरिका तनाव सुल्झिएको छैन बरू बल्झिन थालेको छ।
बुधबार बिहानसम्म इरान र अमेरिकाबीच हानाहान भएको थियो।
हर्मुजमा इरानले अमेरिकी सेनाको हेलिकप्टर खसालेपछि अमेरिकाले इरानका टापु अमेरिकाले हर्मुज आसपासका इरानी भूभागमा आक्रमण गरेपछि इरानले त्यसको जबाफ दिएको छ।
अमेरिकी सेनाले केश्म टापु, बन्दर अब्बास, हर्मुज जलमार्ग प्रवेशद्वार नजिकको जास्क क्षेत्र र सिरिक बन्दरगाहमा इरानी हवाई प्रतिरक्षा प्रणाली र रडार केन्द्रहरूलाई निशाना बनाएको थियो। मंगलबार कम्तिमा तीन चरणमा हवाई हमला गरेको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
जबाफमा इरानले बहराइनस्थित अमेरिकी नौसैनिक अड्डा 'फिफ्थ फ्लिट' मा ड्रोन हमला गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।
फिफ्थ फ्लिट मध्यपूर्वमा अमेरिकी नौसेनाको कमान्ड सेन्टर हो। यहाँ करिब ९ हजार अमेरिकी सैनिक रहेको बताइन्छ।
कहाँ पर्यो गाँठो?
विशेषगरी परमाणु कार्यक्रम, इरानसँग भएको उच्च प्रशोधित युरेनियम र हर्मुज जलमार्गबारे अमेरिका र इरानबीच मतैक्य छैन।
ट्रम्प इरानले युरेनियम प्रशोधन पूर्ण रूपमा बन्द गर्नपर्ने पक्षमा छन्। अहिलेका परमाणु केन्द्रहरू पनि उसले नष्ट गर्नुपर्ने ट्रम्पको शर्त छ। साथै इरानसँग रहेको ४०० किलो उच्च प्रशोधित युरेनियम पनि अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने सर्त छ।
इरान भने युरेनियम प्रशोधनलाई राष्ट्रिय सार्वभौमिकताको अधिकार भन्दै त्यसलाई पूर्ण रूपमा त्याग्न तयार छैन। ऊसँग भएको उच्च प्रशोधित युरेनियम अमेरिकालाई हस्तान्तरण गर्न कुनै हालतमा तयार छैन।
इरानले वार्ताको टेबलमा बस्नुअघि सबै अमेरिकी प्रतिबन्धहरू हट्नुपर्ने सर्त राखेको छ। यसको विपरीत, ट्रम्प पहिले इरानले सम्झौतामा हस्ताक्षर गरोस् अनि मात्र चरणबद्ध रूपमा प्रतिबन्ध हटाउने अडानमा छन्।
इसराइली दबाब पनि अर्को कारण हो। इसराइल युद्धको प्रमुख हिस्सेदार भए पनि सम्झौतामा भने प्रत्यक्ष हात छैन। इसराइल अमेरिकाले इरानसँग कुनै पनि नरम सम्झौता नगरोस् भन्नेमा सतर्क छ।
ट्रम्पले परमाणु मुद्दामा मात्रै होइन इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम र मध्यपूर्वमा रहेको इरान समर्थित समूहहरू हिजबुल्लाह र हुथीलाई समेत यही विषयमा सम्झौतामार्फत नियन्त्रणमा राख्न चाहेका छन्।
इरानका लागि यी सबै कुरा एकैपटक सुम्पिनु आत्मसमर्पण सरह हुने भएकाले वार्ता भाँडिँदै आएको छ।
इरानभित्रका कट्टरपन्थीहरू ट्रम्पलाई कत्ति पनि विश्वास गर्दैनन्।
सन् २०१८ मा भएको इरान परमाणु सम्झौतालाई एकतर्फी रूपमा तोड्ने व्यक्ति ट्रम्प नै भएकाले उनीसँग पुनः सम्झौता गर्दा भविष्यमा धोका नहोला भन्नेमा इरानी नेतृत्व सशंकित छ।