प्रमुख प्रतिपक्षी दलको नेता, नेपाली कांग्रेस संदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभाको रोष्टमबाट बुधबार प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालको आलोचना गरेका छन्।
'नेपालले पनि भारतको जग्गा मिचेको' भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कांग्रेस सहितका विपक्षी दलहर"ले संसदमा अवरोध गर्दै आएका थिए। तर उक्त प्रकरणको प्रस्टीकरण दिन प्रधानमन्त्री शाह संसदमा आएनन्। परराष्ट्र मन्त्री शिशिर खनालको प्रस्टीकरणमा चित्त बुझाएर दलहर"ले संसदको अवरोध हटाए।
अवरोध खुलेपछि सभालाई सम्बोधन गर्दै आङदेम्बेले रोष प्रकट गरे 'अब म प्रधानमन्त्रीलाई खोज्न चाहन्नँ।'
त्यस्तै सभामुख डिपी अर्यालको आलोचना गर्दा उनले भूपी शेरचनको कविताको साहारा लिए। आङदेम्बेले यत्ति भने- 'घुम्ने मेच माथि...।' उनले वाक्य पूरा गरेनन्। आङ्देम्बेले सभामुख डिपी अर्याललाई मित्रका रूपमा सम्बोधन गरे अनि बैठक र बैठक बाहिरको सभामुखको तुलना गरे।
'धादिङको कुनै क्षेत्रबाट लोकप्रिय मत ल्याएर जितेर आउनु भएका सांसद डिपी अर्याललाई सोध्न चाहन्छु - मैले हिँड्ने बाटोमा यतिधेरै काँडाहरू पनि नरोपिदिनुहोस्, के थाहा भोलि त्यहि बाटो भएर तपाईं स्वयम भेट्न आउनुपर्ने हुन्छ।'
आङदेम्बेले धादिङबाट जितेको भने पनि सभामुख डिपी अर्याल काठमाडौं–९ बाट निर्वाचित सांसद हुन्। तर अर्यालको पुर्ख्यौली थलो भने धादिङ हो।
आङदेम्बेले प्रतिनिधि सभामा अर्को पनि तथ्यगत त्रुटि गरे।
उनले सम्बोधनका क्रममा पार्टी र सरकार अलग अलग भएको व्याख्या गर्दा अहिलेका कांग्रेस सभापतिलाई प्रधानमन्त्री भएको टिप्पणी गरे।
अहिलेका कांग्रेस सभापति गगन थापा विगतमा कहिल्यै प्रधानमन्त्री भएका छैनन्। उनले तत्कालीन प्रधानमन्त्रीको तत्कालीन कांग्रेस महामन्त्री तथा सांसद गगन थापा र विश्वप्रकाश शर्माले आलोचना गरेको विषयमा टिप्पणी गर्न खोज्दा तथ्यगत त्रुटि गरेका हुन्।
उनले त्यबेला थापा र शर्मा प्रधानमन्त्री रहेको भनेका थिए। तर उनीहरू सांसद मात्रै थिए। आङ्देम्बेको यो सम्बोधन सचिवालयले पत्रकारहरूलाई पठाउँदा भने यो विषयहरू उल्लेख थिएन।