प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सभामुखको अधिकार हस्तक्षेप गरेका थिए। उनले रोस्ट्रममा पुगेर आफूले भने बमोजिम प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुखलाई आग्रह मात्र गरेनन्, त्यसै अनुसार बैठक सञ्चालन गर्न बाध्य नै तुल्याए।
त्यस दिन प्रधानमन्त्री बालेनले गरेको सभामुखको कार्यक्षेत्र हस्तक्षेपलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तरता दिएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुखको अधिकार खोसेर आफ्नै सुरमा बैठक सञ्चालन गरेका हुन्।
सभामुख डिपी अर्यालले राईलाई मंगलबारको बैठकमा बोल्न समय दिएका थिए। तर उनले बोल्ने क्रममा 'नेपालले पनि भारतको भूभाग मिचेको छ' भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा विरोध मात्र गरेनन्, आफै सभामुख भएझैं बैठक सञ्चालन गरे।
उनले सांसदहरूलाई सहिदहरूको सम्झनामा पाँच मिनेट मौन धारण गर्न आह्वान गर्दै भने, 'समय सुरू भन्नेछु। म उठ्न आग्रह गर्दछु। समय सुरू।'
कांग्रेस सांसदहरू उठेपछि विपक्षी सबै सांसदहरू बसेको ठाउँबाट उठेका थिए। सत्तापक्षका सांसदहरू भने आफ्नो स्थानमा बसिरहेका थिए।
त्यसबीच सभामुख अर्याल पनि पाँच मिनेटसम्म बैठकमा बोलेनन्।
कांग्रेससहित विपक्षी दलहरूले विरोधको नयाँ शैली अपनाएको भए पनि निश्कलले बैठक सञ्चालन गरेर सभामुखको कार्यक्षेत्रमा हस्तक्षेप गरेका छन्।
प्रतिनिधिसभाको बैठक सभामुखले सञ्चालन गर्छन्। प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले अनुमति दिएपछि मात्र सांसदहरूले बोल्न पाउँछन्। सभामुखले चाहे भने बोलिरहेका प्रधानमन्त्री र मन्त्रीलाई पनि रोक्न सक्छन्। उनीहरू बोलिरहेका बेला माइक काट्न सक्छन्।
यति मात्र होइन, प्रतिनिधिसभा बैठकमा सांसदको बस्ने क्रमदेखि बोल्ने अनि बैठकको मिति तोक्ने र स्थगित गर्ने अधिकार सभामुखलाई छ।
प्रतिनिधिसभा नियमावलीको नियम ६ को उपनियम ६ ले सभामुखलाई बैठक सञ्चलान गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका पदाधिकारीले सहयोग गर्नुपर्ने भनेको छ।
तर जसरी जेठ १७ गते प्रधानमन्त्री बालेनले आफू अनुकूल सांसदसँग प्रश्नोत्तर सञ्चालन गरे, त्यही शैलीमा कांग्रेसका सचेतक निश्कल राईले मंगलबार सांसदहरूलाई मौन धारण गराए।
सांसद राईले पाँच मिनेटको मौन धारण सकिएको बताएपछि मात्र सभामुख अर्यालले यसमा असन्तुष्टि जनाएका थिए। उनले राईले आफै समय तोकेर हलबाट बैठक चलाउनुले सभाको अपमान गरेको टिप्पणी गरे।
'प्रतिनिधिसभा सभामुखले चलाउने नियमावलीमा हामीले स्पष्ट पारेका छौं,' सभामुख अर्यालले भने, '... सभामुख तर्फबाट नभई हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी समय तोकेर जुन किसिमको प्रयास गर्नुभयो, यो सभामाथि अपमान भएको देखिन्छ। आगामी दिनमा यस विषयमा ध्यानाकृष्ट गराउन चाहन्छु। सभा सभा जस्तै गरी सञ्चालन गर्न ध्यानाकर्षण गराउँछु।'
सभामुख अर्यालले सभाको अपमान गरेको टिप्पणी गरेपछि रास्वपाका सांसदहरूले समर्थनमा टेबल बजाएका थिए।
प्रतिनिधिसभामा सभामुखले नभएर सांसदले मौन धारण गर्न लगाएको घटना भने यो पहिलो होइन।
२०७९ माघ ५ गते जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस आन्दोलनका सहिदलाई सम्झिएर एक मिनेट मौन धारण गरेका थिए। अनि अन्य दललाई पनि मधेस आन्दोलनका सहिदलाई उठेर सम्मान दिन सक्नुहुन्छ कि सक्नुहुन्न भनेर प्रश्न गरेका थिए।
उक्त दिनको बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सञ्चालन गरिरहेका थिए।
राउतले रोस्ट्रममा उभिएर मौनधारण सुरू गरेपछि नेपाली कांग्रेसका सांसद बसेको ठाउँबाट उठेका थिए। प्रधानमन्त्री प्रचण्ड भने आफ्नो स्थानमा बसिरहेका थिए।
तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राउतलाई साथ दिँदै मौन धारण गरेका थिए।
तत्कालीन सरकारमा श्रममन्त्री भएका डिपी अर्याल समेत आफ्नो स्थानबाट उठेर मौनधारणमा सहभागी भएका थिए। अर्थात् सभाको सञ्चालन राउतले गर्दा अर्यालले साथ दिएका थिए।
२०७९ सालमा सिके राउत र डिपी अर्याल दुवै पहिलो पटक सांसद निर्वाचित भएर प्रतिनिधिसभामा पुगेका थिए।
त्यसो त यसअघि प्रधानमन्त्री बालेन शाहले पनि जेठ १७ गते सभामुखको अधिकारमाथि हस्तक्षेप गरेका थिए। प्रधानमन्त्री शाहले रोस्ट्रममा पुगेर सभामुखलाई आफूले भने बमोजिम संसदमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए। जबकि, सभा कार्यसूची अनुसार सभामुखले अघि बढाउने गर्छन्। तर प्रधानमन्त्री शाहले सभामुख अर्याललाई बैठक सञ्चालन गर्न बाध्य तुल्याएका थिए।
यो पनि पढ्नुहोस्: