अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र जर्मनी, फ्रान्स अनि बेलायतका नेताहरूसँग छलफल गर्न ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नर सोमबार जर्मनी जाँदैछन्।
ट्रम्पको शान्ति योजनामा युक्रेनले आफ्नो नियन्त्रणमा रहेको भूमिसमेत रूसलाई दिने प्रस्ताव गरिएको छ।
जेलेन्स्कीले सो शर्त अस्वीकार गर्दै आएका छन्। तर भर्खरै भने जनमत संग्रह गरेर त्यसमा निर्णय लिन सकिने जेलेन्स्कीले प्रस्ताव गरेका छन्।
सो प्रस्तावलाई ट्रम्पले सकारात्मक रूपमा लिएका छन्। त्यसैले उनले जेलेन्स्की र जर्मनी, फ्रान्स अनि बेलायतका नेताहरूसँग छलफल गर्न विटकफ र कुश्नरलाई बर्लिन पठाउन लागेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
युक्रेनले ट्रम्पको शान्ति योजनामा बुधबार अमेरिकालाई बुँदागत जबाफ पठाएको थियो। ट्रम्पको प्रस्ताव अस्वीकार गर्नु भन्दा पनि त्यसलाई
कार्यान्वयन गर्न योग्य बनाउन टिप्पणी र प्रस्तावित संशोधनहरू समावेश गरेको थियो।
ट्रम्पले बुधबार नै फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रों, बेलायती प्रधानमन्त्री कियर स्टार्मर र जर्मनीका चान्सलर फ्रेडरिच मर्जसँग सो योजनाबारे फोनमा कुरा गरेका थिए।
त्यस्तै, जेलेन्स्कीले पनि युद्ध रोकिएपछि युक्रेनको पुनर्निर्माणबारे कुश्नर लगायत अमेरिकी अधिकारीसँग बुधबार कुरा गरेका थिए।
सो विषयमा म्याक्रों, स्टार्मर र मर्जसँग जेलेन्स्कीले बिहीबार भिडिओ कुराकानी पनि गरे। उनीहरूले गत सोमबार पनि लन्डनमा भेटेरै कुरा गरेका थिए। त्यसपछि सो योजनाबारे भएका प्रगतिबारे उनीहरूले बिहीबार फेरि छलफल गरे।
युक्रेनी नियन्त्रणमा रहेको भूमि रूसलाई दिएर भए पनि शान्ति सम्झौता गर्न अमेरिकाले जेलेन्स्कीलाई दबाब दिइरहेको छ। जेलेन्स्कीले भने आफ्नो नियन्त्रणमा रहेको भूमि रूसलाई हस्तान्तरण नगर्ने भनेर लामो समयदेखि अडान लिएका छन्।
सो विषयमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नरसँग जेलेन्स्कीले डिसेम्बर ६ मा दुई घन्टा फोनमा कुरा गरेका थिए।
रूस र युक्रेनको युद्ध अन्त्य गर्ने ट्रम्पको शान्ति योजनाबारे ट्रम्पका ज्वाइँ कुश्नर र विटकफले डिसेम्बर २ मा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा छलफल गरेका थिए। पुटिनसँग पाँच घन्टा भएको छलफल निष्कर्षविहीन टुंगियो।
कुराकानीपछि पुटिनका सहयोगी युरी उशाकोभले समाधान नभएका भूमिजन्य विषयहरूलाई मुख्य अवरोधका रूपमा औंल्याएका थिए।
त्यसपछि अमेरिका फर्केर विटकफ र कुश्नरले डिसेम्बर ४ देखि पुटिनसँगको छलफलबारे युक्रेनी टोलीलाई अवगत गराए र भूमि लगायत अरू विवादित विषयमा कुरा गरे।
तीन दिनसम्म चलेको सो वार्तापछि डिसेम्बर ६ मा विटकफ र कुश्नरले जेलेन्स्कीसँग फोनमा कुरा गरेका थिए। सो कुराकानीमा मुख्यतः भूमिजन्य विषय र फेरि रूसले आक्रमण नगर्ने सुरक्षा प्रत्याभूतिबारे चर्चा भएको थियो।
विटकफ र कुश्नरले रूस र युक्रेन दुवै पक्षका मागहरू सुने अनि युद्ध रोक्न पुटिन र जेलेन्स्कीलाई अर्को पक्षको मागको सम्बोधन गर्न दबाब दिए।
ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ।
सो योजनाको व्यापक विरोध भएपछि अमेरिकी र युक्रेनी अधिकारीले गत जेनेभामा छलफल गरेका थिए।
सो छलफलपछि दुई देशले १९ बुँदे मस्यौदा तयार पारेका थिए।
ट्रम्पको योजनाका सबभन्दा संवेदनशील विषयहरू भने ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले छलफल गरेर टुंग्याउने गरी सो सहमति भएको थियो।
युक्रेनी भूमि रूसलाई दिने र नेटो लगायत सबभन्दा विवादास्पद विषय ट्रम्प र जेलेन्स्कीले निर्णय गर्ने गरी जेनेभामा सहमति भएको थियो। त्यसपछि गत आइतबार अमेरिकामा फेरि अमेरिकी र युक्रेनी अधिकारीले सो योजनामा घनिभूत छलफल गरे।
सो छलफलमा के सहमति भयो भनेर अहिलेसम्म खुलाइएको छैन। तर पनि मुख्यतः युक्रेनले त्याग्नुपर्ने भूमिबारे कुरा भएको मानिन्छ। सोही छलफलबारे पुटिनलाई ब्रिफिङ गर्न ट्रम्पले विट्कफलाई रूस पठाएका थिए। अमेरिका र युक्रेनबीच सहमति भएका बुँदामा पुटिनको प्रतिक्रिया पछि अमेरिकाले फेरि युक्रेनसँग छलफल गर्यो।
ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी बनाएको योजनाको युरोपमा मात्रै नभएर ट्रम्पकै रिपब्लिकन पार्टीका नेताहरूले समेत विरोध गरिरहेका छन्।
यसैक्रममा सो दस्तावेज ट्रम्प सरकारले नभएर रूसले बनाएको भनेर अमेरिकी विदेश मन्त्री मार्को रूबियोले आफूलाई बताएको केही अमेरिकी सांसदले दाबी गरेका छन्।
सो योजनाको व्यापक विरोध भएपछि ट्रम्पले त्यो प्रस्ताव युक्रेनका लागि अन्तिम विकल्प नरहेको र त्यसमा परिमार्जन गर्न सकिने बताएका छन्। ट्रम्पको २८ बुँदे योजनामा मुख्यतः लामो समयदेखि रूसले राख्दै आएका माग छन्।
युक्रेनले आफ्नो भूभाग रूसलाई सुम्पने, आफ्ना सेनाको आकार सीमित गर्ने र युद्धविरामपछि पश्चिमी शान्ति सेनाको लागि कुनै पनि भूमिका नहुने कुराहरू त्यसमा समावेश छन्।
युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्रका युक्रेनी भूभाग मात्रै नभएर आफ्नो नियन्त्रणमा नभएका केही भागको पनि स्वामित्व दिनुपर्ने पुटिनले माग गर्दै आएका छन्।
झण्डै एक दशकदेखि लगातार आक्रमण गरे पनि पुटिनले डोनबास क्षेत्र पूर्ण रूपमा कब्जा गर्न सकेको छैन। लुहान्स्क र दोनेत्स्कलाई संयुक्त रूपमा डोनबास क्षेत्र भन्ने गरिन्छ।
लुहान्स्कको लगभग सबैजसो भाग रूसले कब्जा गरे पनि दोनेत्स्कको १० प्रतिशत भन्दा बढी भाग युक्रेनकै नियन्त्रणमा छ। त्यहाँ युक्रेनले वर्षौंदेखि बलियो रक्षात्मक संरचना बनाएकाले रूसले युद्ध गरेर लिन निकै मुस्किल हुने मानिन्छ। सो भूभाग रूसलाई दिए रूसले त्यहाँबाट अगाडि बढ्न फेरि आक्रमण गरे रोक्न नसकिने भएकाले युक्रेनले सो सर्त अस्वीकार गर्दै आएको छ।
जेलेन्स्कीले ती सर्त ठाडै अस्वीकार गरे ट्रम्प रिसाउलान् भनेर हाललाई सो योजनामा इमानदारीपूर्वक संलग्न हुने भनेका थिए।
उनले त्यसो भने पनि युरोपेली देशहरूले भने सो योजनाको विरोध गरेका छन्। अमेरिकाभित्रै पनि त्यसको विरोध भएपछि ट्रम्पले समेत त्यसमा परिमार्जन गर्न सकिने बताएका थिए।
त्यसपछि जेनेभामा भएको छलफलमा अमेरिका र युक्रेनले १९ बुँदे मस्यौदा तयार पारे। त्यसपछि फेरि अमेरिकामा दुई देशले छलफल गरेका छन्।
विट्कफले सो वार्ताबारे पुटिनलाई अवगत गराए पछि पुटिनका माग बारे फेरि अमेरिका र युक्रेनले छलफल गरे। सो छलफल पछि रूसका माग सम्बोधन गर्न मनाउन कुश्नर र विटकफले जेलेन्स्कीसँग पटक पटक कुरा गरेका छन्।
सोमबार फेरि उनीहरूले जेलेन्स्की र युरोपेली नेताहरूसँग बर्लिनमा कुरा गर्ने छन्। ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)