सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अधिकांश संस्थापन पक्षको असहमतिबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्।
विशेष महाधिवेशन पक्षधरले नयाँबानेश्वरमा पत्रकार सम्मेलन गरेर तथा महामन्त्रीद्वयले संयुक्त वक्तव्यमार्फत् एकै दिन बुधबार विशेष महाधिवेशन आह्वान गरेका हुन्।
सभापति देउवा, कार्यवाहक सभापति खड्का र अधिकांश संस्थापन पक्षले जिल्ला जिल्लामा रोक्न खोज्दाखोज्दै विशेष महाधिवेशन पक्षमा हस्ताक्षरदेखि उनीहरू विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं आउने क्रमसमेत अघि बढिसकेको छ। कतिपय महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन्। जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिमा रहेका प्रतिनिधिहरू पनि काठमाडौं आउने क्रम जारी रहेको नेताहरूले जनाएका छन्।
काठमाडौं आइपुगेका केही महाधिवेशन प्रतिनिधिसँग हामीले कुराकानी गर्दा उनीहरू दुई धारमा रहेको पाइयो।
कतिपयले अहिले विशेष महाधिवेशनबाट नेतृत्व नै चयन गरेर जानुपर्ने अडान राखेका छन् र कतिपयले अहिले दस्तावेजहरू मात्र पारित गरेर वैशाखको १५औं महाधिवेशनबाट नेतृत्व चयन गर्न उपयुक्त हुने बताएका छन्।
'५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्नुभएको छ। उहाँहरूलाई पार्टीले हेप्यो, पेल्यो। पार्टी सभापति, कार्यवाहक सभापति लगायत नेताहरूले हिजो आफैलाई भोट हाल्ने महाधिवेशन प्रतिनिधिलाई हेप्ने? हामी विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गरेर देखाउँछौं,' एक महाधिवेशन प्रतिनिधिले सेतोपाटीसँग भने।
अर्का महाधिवेशन प्रतिनिधि भने यसो गर्दा पार्टीभित्र विवाद झन् बढ्ने र चुनावको मुखमा पार्टी नै कानुनी झमेलामा फस्ने बताउँछन्।
'५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन पक्षमा हस्ताक्षर गरेका थिए, अहिले जिल्लाहरूमा हस्ताक्षर गर्नेको संख्या बढेको छ, मलाई विश्वास छ- विशेष महाधिवेशनका पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरू आउँछन्,' ती महाधिवेशन प्रतिनिधिले भने, 'सभापति र कार्यवाहक सभापति विशेष महाधिवेशन उद्घाटन सत्रमा नआएका खण्डमा यो महाधिवेशनबाट नेतृत्व चयन गर्न हुँदैन। यसले मतभेद निम्त्याउँछ, पार्टीलाई प्राविधिक रूपमा फुटतर्फ अघि बढाउँछ र कानुनी झमेलामा फस्छ। यसले चुनावमा कांग्रेसलाई र विशेष महाधिवेशन आह्वानकर्ता नेता र सभापति, कार्यवाहक सभापतिलगायत सबैलाई धक्का पुर्याउँछ, हामी फुकीफुकी सचेत भएर अघि बढ्नुपर्छ, दस्तावेजहरू मात्रै पारित गरेर वैशाखको महाधिवेशनबाट नेतृत्व परिवर्तन गरे भइहाल्छ।'
विशेष महाधिवेशन आह्वानकर्ता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनबाट पार्टी नफुट्ने प्रतिबद्धता गरिरहेका छन्।
महामन्त्री थापाले आफूलाई सभापति हुनुभन्दा पार्टी रूपान्तरण गर्नुपरेको बताएका छन्। उनले पार्टी असजिलो पर्ने अवस्थामा 'विष पिएर भए पनि' एकताबद्ध राख्ने बताएका छन्।
अर्का महामन्त्री शर्माले पार्टी विभाजननर्फ जान लाग्यो भने सबैभन्दा पहिले आफू विशेष महाधिवेशन हलबाट बाहिरिने बताएका छन्।
यसबाट पनि महामन्त्रीद्वय विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनका पक्षमा उभिँदैनन् भन्ने देखाउँछ।
सभापति देउवानिकट एक प्रदेश सभापतिले केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै आफूले महामन्त्री थापा र शर्मा तथा महाधिवेशन प्रतिनिधिहरूलाई पनि पार्टी फुट्ने गरी अघि नबढ्न भनेको बताए।
'गगन थापा हाम्रो नेता हो, ढिलोछिटो उहाँ नै सभापति बन्ने हो, हतार नगर्नुस् भनेर हामीले भनेका छौं,' ती प्रदेश सभापतिले भने, '२०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई चारतारे झन्डा र चुनाव चिह्र रूख गिरिजाबाबुको हुने छैन, तिम्रै हुनेछ, पार्टी फुटाऊ भनेर उचाले, पार्टीले चुनाव चिह्न कलस लिनुपर्ने अवस्था बन्यो। हामीले धोका खाइसकेका छौं। अरू निकायहरूको विश्वास नगर्नू, विशेष महाधिवेशनबाट नेतृत्व चयन नगर्नू, सकेसम्म विशेष महाधिवेशन नै नगर्नु।'
विशेष महाधिवेशन माग खण्डन गर्न पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउन आफूहरूले नै सभापति देउवालाई मनाएको उनको दाबी थियो।
'यति छोटो तयारीमा नियमित महाधिवेशन हुँदैन, क्रियाशील बाँडेको छैन, टुंगिएको छैन भन्ने सबैलाई थाहा थियो, तर हामीले विशेष महाधिवेशन टार्न नियमित कार्यतालिका ल्याउन सभापतिलाई आग्रह गर्यौं, त्यसअनुसार उहाँ मान्नुभएको थियो,' ती प्रदेश सभापतिले भने।
संस्थापन पक्षका केही नेता भने सभापति वा कार्यवाहक सभापति विशेष महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएमा पार्टीभित्रको विवाद समाधान हुने बताउँछन्।
'विशेष महाधिवेशन रोक्दारोक्दै पनि हुने नै भयो, चुनावको मुख छ, सभापति वा कार्यवाहक सभापति उद्घाटन सत्र गइदिएर २०५१ सालमा किसुनजीले निर्वाह गरेकैजस्तो भूमिका खेलिदिए अहिलेलाई पार्टी एकताबद्ध भएको सन्देश जान्थ्यो, समानुपातिकतर्फ भोट बढ्थ्यो,' संस्थापन पक्षका एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, 'म त के बोल्ने के नबोल्नेमा छु, ठ्याक्क चुनाव उठ्ने बेला भएको थियो, पार्टी विवादमा फस्यो। सभापति र महामन्त्री दुवैलाई एकै ठाउँमा राखेर कुरा गरिदिने समन्वयकर्ता नै पार्टीमा भइदिएन, सबै आ-आफ्नो दुनो सोझ्याउन गुट चलाउँदैछन्, गुटैलाई मलजल गर्दैछन्।'
ती केन्द्रीय सदस्यका अनुसार पार्टीभित्रका नेताहरूले एकअर्कालाई स्वीकार्ने अवस्था नहुँदा पनि यो विवाद देखा परेको बताउँछन्।
'१४ औं महाधिवेशन भएपछि पहिलो दिन केन्द्रीय समिति बैठककै दृश्यले मलाई झस्काएको थियो। हिजो आफैले नेविसंघ सभापति टिकट दिएकाहरू पदाधिकारी जितेर मञ्चमा छन्, हिजो टिकट दिने, खर्च दिने नेताहरू पूर्वपदाधिकारी भएर फ्लोरमा छन्, पुराना नेताहरू हसमुख देखिन्थेनन्, उनीहरूले गगन र विश्वप्रकाशलाई महामन्त्रीका रूपमा काम नै गर्न दिएनन्, महामन्त्रीहरूले पनि सबैलाई एकजुट बनाएर लगेको देखिएन,' ती केन्द्रीय सदस्यले भने, 'जतिसुकै प्रजातान्त्रिक र लोकतान्त्रिक भने पनि एकअर्कालाई स्वीकार्ने अवस्था नै नबन्दा यस्ता मतभेद आए। पदाधिकारीभन्दा ७ भाइ नेता बलिया देखिए, उनैले सभापतिलाई घुमाए।'
विशेष महाधिवेशन पक्षधरभित्र पनि बीचमा नियमित महाधिवेशन मान्नु कमजोरी रहेको र संस्थापन पक्षले यसमा खेल्न समय पाएको भन्नेहरू पनि छन्।
'मंसिरभित्रै नियमित महाधिवेशन गरे मान्य हुन्छ' भनेर विशेष महाधिवेशन पक्षधर सहमतजस्तो देखिनु नै कमजोरी रहेको अर्का महाधिवेशन प्रतिनिधि बताउँछन्।
माघ ११ र फागुन २१ मा चुनाव हुँदैछ। कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ ११० जनाको सूची पठाइसकेको छ, जसमा सभापति, नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षका पनि समेटिएका छन्। माघ ११ को राष्ट्रिय सभा चुनावका लागि हिजो उम्मेदवारी दर्ता भयो। एमाले र लोसपाबीच गठबन्धन गरी १८ सिटमा कांग्रेसले ९ सिटमा उम्मेदवारी दिएको छ। जसमध्ये सभापति देउवा पक्षले ६ र नेता कोइरालाले ३ जनाको नाम दिए, गगन थापासँग नाम मागे पनि उनले एमालेसँगको गठबन्धन र टिकट वितरणमा गम्भीर असहमति राख्दै फरक मत लेखे, उम्मेदवारको नाम नै दिएनन्।
अहिले विशेष महाधिवेशनका पक्षमा धेरै महाधिवेशन प्रतिनिधिहरू ल्याउने तयारी तयारी भइरहेको नेताहरूले जनाएका छन्।
'झापा र मधेसका अधिकांश जिल्लामा अहिले हस्ताक्षर गर्नेको संख्या बढ्यो र त्यसअनुसार महाधिवेशन प्रतिनिधि पनि काठमाडौं आउँदैछन्,' विशेष महाधिवेशन आयोजनामा लागेका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने, 'कसैले रोक्न खोजेर महाधिवेशन प्रतिनिधिहरू रोकिने अवस्था छैन, काठमाडौं आउनुहुन्छ।'
विशेष महाधिवेशनका लागि महामन्त्री थापाले दस्तावेज लेखेका छन्। उक्त दस्तावेजहरू विशेष महाधिवेशनमा पेस गरी छलफल हुनेछ। उक्त दस्तावेजहरू पारित गरी थप शक्ति जुटाउने र एकताबद्ध भएर चुनावमा जाने निर्णय गर्दै विशेष महाधिवेशन सकिने कतिपय नेताहरू बताउँछन्।
यसअघिको महासमिति बैठकले अब उप्रान्त कसैसँग पनि चुनावी गठबन्धन नगर्ने भनेको छ। महामन्त्री थापाको उक्त प्रस्ताव महाधिवेशन हलबाट सर्वसम्मत पारित भएको थियो। भाषा परिमार्जन गर्ने भनेर केन्द्रीय समितिमा त्यो अहिलेसम्म पनि अड्काइएको छ।
यो विशेष महाधिवेशनले त्यस्तै नीतिगत विषयहरूमा छलफल गरी पारित गर्ने नेताहरू बताउँछन् तर कतिपय महाधिवेशन प्रतिनिधिहरू भने आफूहरू टिकट काटेर विदेशदेखि आइसकेको र फेरिफेरि आउन नमिल्ने भन्दै विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्नुपर्ने मत पनि राखिरहेका छन्।
कांग्रेसले राष्ट्रिय सभामा गठबन्धन गरेको छ। तर नेताहरू यसलाई गठबन्धन शब्दभन्दा पनि तालमेल भन्न आग्रह गर्छन्। नेता शेखर कोइराला, प्रवक्ता प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा चुनावमा गठबन्धन नगर्ने बताइरहेका छन्।
कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता बलदेव तिमिल्सिनाले विशेष महाधिवेशनमा नीति कि नेतृत्व वा दुवै के चयन गर्ने भन्ने मिश्रित छलफल र बहसकै क्रममा रहेको विषय रहेको बताए।
'मुख्य कुरा महाधिवेशन प्रतिनिधिहरूले के भन्नुहुन्छ, के चाहनुहुन्छ त्यसमा निर्भर रहन्छ। पुस २७ गते हुने बन्द सत्र हलमा के निष्कर्ष रहन्छ, हामी त्यसकै पर्खाइमा छौं,' उनले सेतोपाटीसँग भने, 'निर्वाचन गर्ने पनि महाधिवेशन प्रतिनिधिहरूले नै गर्ने हो, कस्तो नीति चाहिन्छ, त्यसअनुसार छलफल गरी निष्कर्षमा पुग्ने पनि उहाँहरू नै हो। कांग्रेस अबको निर्वाचनमा एक्लै जाने कि अरूसँग तालमेल गरी जाने पनि महाधिवेशन प्रतिनिधिहरूकै छलफलबाट निर्णयमा पुग्ने हो।'
पुस २७ गते बेलुकी हुने बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले राख्ने धारणा र निष्कर्षलाई नै सर्वोपरि मानिने उनले बताए। 'विशेष महाधिवेशनमा ठ्याक्कै के गर्ने भन्ने पर्खन पुस २७ गते बेलुकीसम्म पर्खिनुपर्यो,' उनले भने, 'नीति मात्रै वा नेतृत्वसमेत भन्ने मिश्रित कुरा छ।'
उनले सभापति लगायतले अहिलेको परिस्थितिलाई सुरक्षित अवतरण गर्नुपर्ने पनि बताए।
'विशेष महाधिवेशनमा सभापति नै सहभागी बनेर त्यहाँभित्रबाट सर्वसम्मत तवरले जे जे हुन्छ त्यही हलबाट टुंग्याएर जान सकिने अवस्था छ। त्यसका लागि पार्टी सभापतिले विशेष महाधिवेशनको अपनत्व लिनुपर्यो, विशेष महाधिवेशन आयोजना गर्नुपर्यो,' उनले भने, 'त्यो गरोस् भन्ने पक्षमा अहिले पनि हामी छौं। तर हिजो मुख्य सचिवलाई विज्ञप्ति निकाल्न लगाएर महाधिवेशन प्रतिनिधिलाई धम्क्याउने, चेतावनी दिने घटना भए, त्यसले विवादतर्फ लैजाने काम पार्टीले नै गरिराखेको छ।'
महाधिवेशन प्रतिनिधिहरूले नीति, नेतृत्व र पार्टीको विधिविधानका कतिपय विषय परिमार्जन गर्न विशेष महाधिवेशन माग गरेको उनले बताए। 'अहिलेको परिस्थितिलाई हाँक्न सक्ने कांग्रेस निर्माण गर्ने, त्यसका लागि नीति र नेतृत्व समयानुकूल बनाउने भन्ने हो,' उनले भने, 'त्यसका लागि आवश्यक पर्ने विधि बनाउने भन्ने हो। नयाँ पुस्ताको नेतृत्वदायी उपस्थिति खोजेको हो।'
यसबीच नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई आज भेटेर संवादबाट निकास खोज्न आग्रह गरेका छन्। पार्टी एकता नै अहिलेका लागि ठूलो रहेको बताउँदै कोइरालाले सभापति देउवालाई लचकताका साथ प्रस्तुत हुन आग्रह गरेका हुन्।
'पार्टी विभाजनको पीडा तपाईंलाई पनि थाहा छ, विशेष महाधिवेशन पक्षधरसँग संवाद गर्नुहोस्, विशेष महाधिवेशनलाई संकल्प सभामा रूपान्तरण गरी एकताको सन्देश दिनुहोस्,' कोइरालाले सभापति देउवालाई भनेका थिए।
यसबीच कांग्रेस पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्देशन अनुसार भनेर बुधबार नै निकालेको विज्ञप्तिमा 'पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन' अपिल गरिएको छ। विशेष महाधिवेशन केन्द्रीय समितिले बोलाउनुपर्ने कुरा मुख्यसचिवको विज्ञप्तिमा छ।
कांग्रेस विधानको धारा १७ को उपधारा २ अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधि वा केन्द्रीय सदस्यले विशेष महाधिवेशन बोलाउन माग गर्न सक्छन्। २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यालय सानेपामै हस्ताक्षर बुझाएर कारण खुलाई विशेष महाधिवेशन मागेका थिए। तर त्यसको प्रक्रिया उनले अघि बढाएनन्, हस्ताक्षर सनाखतलगायत केही काम अघि बढेन।
विधान अनुसार हस्ताक्षर बुझेको ३ महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। त्यो अवधि पुस २८ गते सकिँदैछ।
सभापति देउवा र कार्यवाहक सभापति खड्कालगायत अधिकांश संस्थापन पक्षले विशेष महाधिवेशन आह्वान गरेकै अवधिभित्र नियमित (१५ औं महाधिवेशन) कार्यतालिका (पहिले पुस २६ देखि २८ सम्म र पुस १८ मा संशोधित कार्यतालिका वैशाख २८ देखि ३१ सम्म) घोषणा भएकाले विशेष महाधिवेशनको औचित्य सकिएको दाबी गरेको छ।
तर यो कुरा विधानमा प्रस्ट छैन।
विशेष महाधिवेशन आह्वान गरेकै बीचमा नियमित महाधिवेशन कार्यतालिका आए त्यसले विशेष महाधिवेशन मागलाई खण्डन गर्छ कि गर्दैन प्रस्ट छैन।
पुस २६ देखि २८ गतेसम्म हुने भनिएको नियमित महाधिवेशन नहुने देखिएपछि ५४ प्रतिशत विशेष महाधिवेशन पक्षधरले आफ्नो मागअनुसार विशेष महाधिवेशन बोलाउन कार्यवाहक सभापतिलाई स्मरण र ध्यानाकर्षण पत्र बुझाएका थिए।
तर पुस १८ मा बहुमतका आधारमा केन्द्रीय कार्यसम्पादन समितिले वैशाख मसान्तमा १५ औं महाधिवेशन कार्यतालिका पारित गर्दै विशेष महाधिवेशन औचित्य नभएको निष्कर्ष निकाल्यो, जुन कुरालाई ५४ प्रतिशत विशेष महाधिवेशन पक्षधरले मानेनन् र पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने भनेर भृकुटीमण्डपमा हल बुक गरे।
विधान अनुसार विशेष महाधिवेशन आयोजना नगर्ने र विशेष महाधिवेशन मागकर्तालाई चित्त बुझाउने गरी छलफलसमेत नगर्दा कांग्रेसमा मतभेद गहिरिएको हो र अहिले विशेष महाधिवेशन नै हुने अवस्थामा पुगेको छ।