नेकपा एमालेका सांसद राजेन्द्र राईले ९ जना मन्त्री उपस्थित नभएसम्म आफूले कुरा नराख्ने अडान राखेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
उनी बोल्न रोस्ट्रममा पुग्दा २ जना मात्रै मन्त्री संसदमा उपस्थित थिए। ९ वटा मन्त्रालयमाथि छलफलमा २ जना मात्रै मन्त्री उपस्थित रहेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।
‘मन्त्री चाहिन्छ, मन्त्रीहरू नभए म चुपचाप बस्छु,’ उनले सभामुखलाई भने, ‘मन्त्रीहरू अनिवार्य उपस्थित हुनुपर्छ।’
सभामुख डोलप्रसाद अर्यालले केही मन्त्रीहरू बैठकमै रहेकोले कुरा राख्न आग्रह गरे पनि उनले अस्वीकार गरेका थिए।
त्यसपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।