इरानमा सरकारविरोधी प्रदर्शन देशव्यापी बनेको छ।
गत साताको आइतबारदेखि सुरू भएको प्रदर्शन देशभरिकै मुख्य मुख्य सहरहरूमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
राजधानी तेहरानमा प्रदर्शन अझै तीव्र बनेको छ।
सरकारको आर्थिक नीतिका कारण इरानी मुद्राको चर्को अवमूल्यन र दैनिक उपभोग्य वस्तुहरूमा लगातार मूल्य वृद्धि हुन थालेपछि व्यवसायीहरूले नै आन्दोलन सुरू गरेका थिए।
तेहरानमा अघिल्लो साता सुरू भएको प्रदर्शनमा सरकारले हस्तक्षेप गरेपछि हिंसात्मक बनेको थियो। ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
सरकारले हस्तक्षेप गरेपछि प्रदर्शन झन् चर्किएर ३१ वटै प्रान्तका मुख्य मुख्य सहरहरुमा फैलिएको रोयटर्सले जनाएको छ।
धर्मगुरू नेतृत्व विरूद्ध पछिल्ला वर्षहरूमा भएका प्रदर्शनमध्ये यसपालिको प्रदर्शनलाई सबैभन्दा ठूलो भनिएको छ।
देशभरि लाखौं मानिसहरू सडकमा निस्किएका छन्। उनीहरूले सर्वोच्च नेता खामेनीलाई सत्ताबाट हट्न माग गरेका छन्। पूर्वशाहका छोरा रेजा पहलवीको समर्थनमा नाराबाजी गरेका छन्।
रेजा पहलवी अहिले निर्वासनमा छन्। प्रदर्शनकारीहरूले 'शाह जिन्दावाद' र 'यो अन्तिम लडाईं हो' लगायतका नारा लगाएका छन्।
१२ औं दिनसम्म आइपुग्दा देशका एक सयभन्दा बढी सहर र नगरसम्म फैलिएको छ।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले हालसम्म कम्तीमा ३४ जना प्रदर्शनकारीहरू मारिएका छन्। जसमध्ये पाँच बालबालिका र आठ सुरक्षाकर्मीको मृत्यु भएको छ।
घटनामा २ हजार २७० जनाभन्दा बढी पक्राउ परेको जनाएको छ। नर्वेमा आधारित इरान ह्युमन राइट्सले भने कम्तीमा ४५ प्रदर्शनकारी मारिएको बताएको छ। जसमा ८ बालबालिका परेका छन्।
पश्चिमी सहर देजफुलबाट प्राप्त भिडियोमा सुरक्षाकर्मीहरूले भीडतर्फ गोली चलाएको जस्तो देखिने दृश्य देखिएको छ। कुर्द र लोर अल्पसंख्यक बाहुल्य इलाम, केरमानशाह र लोरेस्तान प्रान्तमा स्थिति झन् तनावपूर्ण बनेको छ, जहाँ कम्तीमा १७ प्रदर्शनकारी मारिएको कुर्द मानवअधिकार समूह हेङगावले जनाएको छ।
यसैबीच, बिहीबार रातिदेखि देशव्यापी इन्टरनेट अवरुद्ध भएको इन्टरनेट निगरानी संस्था नेटब्लक्सले जनाएको छ। संस्थाले डिजिटल सेन्सरसिप थप कडा बन्दै गएको र यसले नागरिकको सञ्चार अधिकारमा गम्भीर असर पारेको चेतावनी दिएको छ।
रेजा पहलवीले पनि सामाजिक सञ्जाल एक्समार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन्। लाखौं इरानीले आज राति स्वतन्त्रताको माग गरे,' उनले भनेका छन्। उनले प्रदर्शनकारीलाई साहसी देशवासी भन्दै प्रदर्शन जारी राख्न आग्रह गरेका छन्।
इरानी सञ्चारमाध्यमहरूले प्रदर्शनको आकारलाई सानो देखाउन खोजेको रोयटर्सले जनाएको छ। कतिपय अवस्थामा प्रदर्शन नै नभएको दाबी गर्दै सुनसान सडकका भिडिओ सार्वजनिक गरेको पनि रोयटर्सले लेखेको छ।
इरानमा प्रदर्शन चर्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि दमन गरे उनीहरूलाई बचाउन अमेरिका आउने चेतावनी दिएका थिए।
इरानी राष्ट्रपति मसुद पेजेश्कियानले शान्तिपूर्ण प्रदर्शनमा सुरक्षा बललाई संयम अपनाउन निर्देशन दिएका थिए। सर्वोच्च नेता खामेनीले प्रदर्शनकारीसँग संवाद गर्नुपर्ने तर अराजक तत्वलाई नियन्त्रणमा राख्नुपर्ने बताएका छन्।
रोयटर्सका अनुसार इरानमा महँगी करिब ४० प्रतिशतले बढेको छ।
वर्तमान प्रदर्शन सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको आन्दोलनपछि सबैभन्दा व्यापक मानिएको छ, जसले इरानको राजनीतिक भविष्यलाई गम्भीर मोडतर्फ धकेलेको विश्लेषकहरू बताउँछन्।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रदर्शन व्यापक भए इरानका सर्वोच्च नेता खामेनी देश छाडेर भाग्ने तयारीमा रहेको समेत लेखेका छन्।
बेलायती अनलाइन द टाइम्सले प्रदर्शन चर्किए देश छाडेर भाग्ने खामेनीको 'प्लान बी' तयार अवस्थामा रहेको भनेर गुप्तचर रिपोर्टहरूलाई उद्धृत गरेर लेखेको छ।
प्रतिवेदनअनुसार ८६ वर्षीय खामेनीले तेहरान छाडेर करिब २० जनासम्मका निकट सहयोगी र परिवारका सदस्यसहित सुरक्षित स्थानतर्फ पलायन गर्ने योजना बनाएका छन्।
उक्त समूहमा उनका छोरा तथा सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदै आएका मोज्तबा खामेनी पनि रहने भनाएका छन्।
द टाइम्ससँग कुरा गर्दै एक गुप्तचर स्रोतले भनेका छन्, 'यदि खामेनीले सेना र सुरक्षा बल पलायन गरिरहेको, विद्रोह गरिरहेको वा आदेश पालन गर्न असफल भएको देखे भने तुरुन्तै प्लान बी सक्रिय हुनेछ।'
इसरायली गुप्तचर सेवामा दशकौँ काम गरेका बेनी साब्तीले खामेनी मस्को जान सक्ने दाबी गरेका छन्। उनले खामेनीसँग मस्कोबाहेक अरू विकल्प नरहेको पनि बताएका छन्।
खामेनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आकर्षित छन् र इरानी तथा रुसी संस्कृतिबीच केही समानता रहेको उनीहरू विश्वास गर्छन्।
यो सम्भावित पलायन योजना सिरियाका अपदस्थ राष्ट्रपति बशर अल–असदको उदाहरणसँग जोडिएको बताइएको छ। विपक्षी विद्रोहीहरूले सन् २०२४ डिसेम्बरमा दमास्कस कब्जा गर्नुअघि असद विमानमार्फत मस्को भागेर परिवारसँग पुगेका थिए। खामेनीको आपतकालीन योजना पनि त्यही मोडेलमा आधारित रहेको दाबी गरिएको छ।