नेकपा एमालेले गण्डकी प्रदेशमा रहेका १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिकांश पुरानै अनुहार अघि सारेको छ।
अध्यक्ष केपी शर्मा ओली निकट रहेकाले मात्र टिकट पाएका १८ जना उम्मेदवारमध्ये केही दोहोरिएका छन् भने केही तेहेरिएका छन्। उम्मेदवारको टिकट हात पार्नेहरूमा यस पटक पनि उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ र केन्द्रीय सदस्य कृष्ण थापा समेटिएका छन्। उनीहरू पञ्चायत कालदेखि सदाबहार उम्मेदवार रहँदै आएका छन्।
चुनावैपिच्छे उम्मेदवार बनेका गुरूङ र थापालाई हटाएर आफूहरू उम्मेदवार बन्न पाउनुपर्ने भन्दै जिल्लाका केही नेता नलागेका होइनन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले लमजुङका तत्कालीन अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा जिल्लाका नेताहरू गुरूङलाई समानुपातिक वा अन्य क्षेत्रमा चुनाव उठाएर जिल्लाका अरू नेतालाई टिकट दिन अध्यक्ष ओलीकहाँ डेलिगेसन गएका थिए।
पञ्चायत कालदेखि सदाबहार उम्मेदवार बनेका गुरूङलाई प्रत्येक निर्वाचनमा टिकट दिँदा जिल्लाका अन्य नेताले अवसर नपाएको भन्दै डेलिगेसन गएका अधिकारी अहिले पार्टीका केन्द्रीय सदस्य छन्। २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि टिकट पाए पनि कांग्रेसका भेषबहादुर पौडेलसँग उनले पराजय बेहोर्नुपरेको थियो।
यसपालि प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न चाहेका अधिकारीले आफ्नो नाम पनि उम्मेदवारका रूपमा जिल्लाबाट सिफारिस गरेका थिए। पार्टीको गत महाधिवेशनमा लोकप्रिय मत पाएर उपाध्यक्ष बनेका गुरूङ फेरि आफै उम्मेदवार बने। ओलीले उनका ठाउँमा अरू उम्मेदवार उठाउन चाहेनन्।
एमाले कास्कीका नेता कृष्ण थापा पनि चुनावैपिच्छे टिकट हात पार्ने अर्का भाग्यशाली नेता हुन्। २०७९ को स्थानीय निर्वाचनमा पोखरा महानगरको मेयर उम्मेदवार रहँदा थापाले अबउप्रान्त चुनाव नलड्ने घोषणा गरेका थिए। मेयरमा एमालेबाटै फुटेर गएको नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएपछि थापाले उक्त घोषणा कार्यान्वयन गरेनन्। एमाले नेता विद्या भट्टराइले चुनाव लड्न अनिच्छा जनाएपछि कास्की–२ को टिकट हात पारे।
गण्डकी प्रदेशमा चुनावैपिच्छे उम्मेदवार बनेका गुरूङ लमजुङबाट नवौं पटक चुनाव लड्दैछन् भने कास्कीबाट थापा छैटौं पटक चुनावी मैदानमा होमिएका छन्।
२०४३ सालमा तत्कालीन पञ्चायती सरकारले गरेको निर्वाचनमा जनपक्षीय उम्मेदबार बनेका गुरूङ त्यसयता निरन्तर लमजुङबाट चुनाव लडिरहेका छन्। त्यसपछि २०४८, २०५१, २०५६, २०६४, २०७४ र २०७९ मा चुनाव लडेका गुरूङले हालसम्म तीन पटक चुनाव जितेका छन् भने पाँच पटक हारेका छन्।
२०६४ को पहिलो संविधानसभा निर्वाचन जितेका गुरूङले त्यसपछि २०७४ को प्रदेशसभा सदस्य निर्वाचन जितेर गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका थिए। २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचित गुरूङ सूचना, सञ्चार तथा विज्ञान प्रविधि मन्त्री रहेका बेला गत भदौ २३ र २४ को जेनजी आन्दोलनबाट अपदस्थ भएका थिए।
त्यही आन्दोलनले संसद विघटन गरेर आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा गुरूङले फेरि लमजुङबाट उम्मेदवारी दिन थालेका हुन्।
कास्कीका कृष्ण थापा पनि २०४४ सालदेखि नै उम्मेदवार बन्न थालेका थिए।
उनले २०४९ मा पनि टिकट पाएर चुनाव लडे। तर यी दुवै चुनावमा उनले हार व्यहोरे। २०५४ सालको स्थानीय निकाय निर्वाचनमा पोखराको मेयर जितेपछि थापाको शक्ति बढेको कास्कीका एमाले नेताहरू बताउँछन्।
नगरपालिकामा कार्यकर्ता भर्ती गरेको आरोप लाग्दै आएका थापा त्यसपछि २०७४ मा गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। प्रदेश सांसदबाट राजीनामा दिएर २०७९ को स्थानीय निर्वाचनमा पोखराकै मेयर उम्मेदवार बनेका थापाले अहिले फेरि प्रतिनिधिसभा सदस्य बन्न कास्की–२ को टिकट हात पारेका छन्।
एमाले नेता रविन्द्र अधिकारी लड्दै आएको यो क्षेत्रमा उनको निधन भएपछि उनकी पत्नी तथा एमाले नेता विद्या भट्टराई दुई पटक चुनाव जितेकी थिइन्। उनी पार्टी राजनीति र चुनावी राजनीतिबाट अलग भएपछि थापाले उक्त क्षेत्रको टिकट पाएका हुन्।
बारम्बार एउटै नेता र पुरानै अनुहार लिएर मत माग्न जानुपरेको भन्दै एमालेका केही नेता तथा कार्यकर्ताले आक्रोश पोखिरहेका छन्। युवा पुस्ताले टिकट पाउनुपर्ने माग गर्दै आए पनि कास्कीमा एमालेले पुरानै उम्मेदवार उठाएको छ।
तीनवटा निर्वाचन क्षेत्र रहेको कास्की–१ मा एमाले जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, कास्की–२ मा थापा र कास्की–३ मा निवर्तमान सांसद दामोदर पौडेल 'बैरागी' लाई टिकट दिइएको छ।
२०७९ को निर्वाचनमा कास्कीको तीन वटै निर्वाचन क्षेत्र एमालेले जिते पनि उक्त निर्वाचनबाट निर्वाचित सांसदमध्ये बैरागीले मात्र टिकट पाएका छन्। कास्की–२ मा जितेकी विद्या आफैले चुनाव नलड्ने घोषणा गरेकी थिइन् भने कास्की–१ मा निर्वाचन जितेका मनबहादुर गुरूङप्रति भने यसपालि एमालेले उदारता देखाएन। एमाले महाधिवेशनमा सहमतिका नाममा जिल्लाबाटै प्रतिनिधि बन्न रोकिएका मनबहादुरले टिकट पनि पाएनन्।
कास्कीको पर्यटकीय गाउँ सिक्लेसको गाविस अध्यक्ष हुँदै एमालेको राजनीतिमा होमिएका मनबहादुर २०७४ मा गण्डकी प्रदेश सांसद र २०७९ मा प्रतिनिधिसभा सदस्य जितेका थिए। अरू क्षेत्रमा उम्मेदवारहरू दोहोरिँदा मनबहादुरलाई भने एमाले अध्यक्ष ओलीकै निर्देशनमा रोकिएको उनी पक्षको बुझाइ छ।