नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सचिवालय सदस्य उमा भुजेल (सिलु) लाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छन्।
विप्लवले सोमबार एक विज्ञप्ति निकालेर पार्टीकी सचिवालय सदस्य सिलुलाई जिम्मेवारीमुक्त गरेको उल्लेख गरेका हुन्।
उनीमाथि पार्टीका विरूद्ध गुटबन्दी गर्दै हिँडेको आरोप विप्लवले लगाएका छन्।
‘उहाँलाई पार्टी केन्द्रीय समितिसहित सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय भएको छ,’ विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पार्टी सचिवालय बैठक जेठ ३१ र असार १ गते बसेको थियो। उक्त बैठकमा सिलुबारे पनि छलफल भएको थियो। सो बैठकमा सिलु भने उपस्थित थिइनन्।
बैठकमा भाग लिन आफू बीच बाटोसम्म पुगेको र स्वास्थ्यमा समस्या देखिएपछि सचिवालयलाई जानकारी गराएर फर्किएको उनको भनाइ छ। आफूले पार्टी हितविपरीत कार्य नगरेको उनको दाबी छ।