देश चुनावमय बनिरहँदा उम्मेदवारहरूबीच रोचक संयोग बनिरहेको छ। यस्तै संयोग रूपन्देही–२ मा पनि बनेको छ।
रूपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल बुवा भक्ति पाण्डेसँग प्रतिस्पर्धा गरेको १८ वर्षपछि उनकै छोरा सुवास पाण्डे (विश्वदीप) सँग प्रतिस्पर्धा गर्दैछन्।
२०६४ सालमा पहिलो संविधान सभा निर्वाचन भएको थियो। रूपन्देही–४ बाट तत्कालीन नेकपा माओवादीका उम्मेदवार भक्ति पाण्डे थिए।
उनीसँग तत्कालीन एमालेका स्थायी कमिटीका वैकल्पिक सदस्य विष्णु पौडेलले प्रतिस्पर्धा गरेका थिए।
२०६४ चैत २८ गते भएको उक्त निर्वाचनमा २४० प्रत्यक्षतर्फका सिटमध्ये १२० स्थानमा तत्कालीन माओवादीले जित निकालेको थियो। तर रूपन्देही–४ बाट १५ हजार ८८० मतका साथ पौडेल निर्वाचित भए। निकटतम प्रतिस्पर्धी पाण्डेले १३ हजार ४२१ मत ल्याए। त्यतिबेला पौडेल प्रत्यक्षतर्फ निर्वाचित हुने शीर्ष नेतामध्ये झलनाथ खनालपछिका थिए।
पहिलो संविधान सभा नयाँ संविधान दिन नसकी विघटन भयो। २०७० मंसिर ४० गते अर्को संविधान सभा निर्वाचन भयो।
त्यतिबेला उक्त क्षेत्रमा तत्कालीन माओवादीका प्रभावशाली नेता एवम् पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराई पाण्डेसँग प्रतिस्पर्धा गर्न आए। उनी तत्कालीन अवस्थामा गोरखा र रूपन्देही–४ बाट चुनावमा स्पर्धा गरेका थिए। गोरखाबाट जिते। रूपन्देहीमा भने तेस्रो भए। पौडेल १९ हजार ५७७ मत प्राप्त गर्दै निर्वाचित भए। दोस्रो भएका कांग्रेसका सूर्य प्रधानले १३ हजार ६३२ मत ल्याए भने भट्टराईले ११ हजार ९३४ मत ल्याए।
त्यसपछि उनी रूपन्देही फर्किएनन्।
साविक रूपन्देही–४ क्षेत्र साँघुरिदा रूपन्देही–२ बनेको छ। एमालेबाट विष्णु पौडेल नै उम्मेदवार छन्।
पाण्डे त्यस क्षेत्रबाट २०७४, २०७९ को निर्वाचनमा लगातार विजयी भए। अघिल्लो, २०७९ सालको चुनावमा भने उनलाई जित्न निकै सकस परेको थियो। यसपटक त्यही बुझेर उनी पाल्पा–२ उक्लन खोजेका थिए। एमाले सचिवालय बैठकले मार्ग प्रशस्त पनि गरिदिइसकेको थियो।
तर पाल्पामा एमालेभित्र अन्तरविरोध झाँगियो। यसअघि चुनाव जितेका ठाकुर गैरेको स्थान खोसिएर उनी जान लागेका थिए। यसबाट रूपन्देही–२ का कार्यकर्ता पंक्ति पनि तरंगित भए। पदाधिकारी तहकै नेता क्षेत्र छाडेर हिँड्दा रूपन्देहीका अरू क्षेत्रमा पनि त्यसको सोझो असर पर्ने भन्दै पौडेललाई ‘कन्भिन्स’ गरे।
एमालेभित्र झाँगिइरहेको अन्तरविरोधको असर चुनावमा पर्न नदिने वाचासमेत गरेपछि पौडेल पुरानै निर्वाचन क्षेत्रमा कायम रहे।
यद्यपि उनी जाने भनिएको पाल्पा–२ उनका लागि नवीन क्षेत्र भने थिएन। उनी त्यही निर्वाचन क्षेत्रबाट २०५१ सालको मध्यावधि निर्वाचन जितेर संसदीय फाँटमा छिरेका थिए।
पौडेलले संसदीय यात्राको उद्गमथलो सम्झिँदा रूपन्देहीका कार्यकर्ताले भने अभिभावकविहीन हुने जोखिमका बीच उनी त्यहीँ रहन राजी भएको एमाले रूपन्देहीका नेता, कार्यकर्ता बताउँछन्।
संयोग के पर्यो भने लगातार पाँचौंपटक रूपन्देही–२ मा प्रतिस्पर्धा गर्दा उनले १८ वर्षअघिका उम्मेदवारका छोरा अर्थात् राजनीतिको पुत्रपुस्तासँग प्रतिस्पर्धा गर्नुपर्ने भयो।
अहिले तिनै भक्ति पाण्डेका छोरा विश्वदीप पाण्डे (सुवास) सँग पौडेल प्रतिस्पर्धामा छन्। हुन त त्यहाँ कानुनका विद्यार्थीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवा उम्मेदवार सुलभ खरेल पनि प्रतिस्पर्धामा छन्। उनले कडा चुनौती पनि दिइरहेका छन्। संयोगका हिसाबले पौडेल–पाण्डेको चर्चा भइरहेको हो।
भक्ति पाण्डेको क्यान्सर रोगका कारण २०७३ कात्तिकमै निधन भइसकेको छ। उनलाई माओवादी केन्द्रले २०७० सालको दोस्रो संविधान सभाम समानुपातिक सांसद पनि बनाएको थियो।
भक्ति पाण्डे साविक लुम्बिनी अञ्चलका पुराना कम्युनिस्ट नेता थिए। उनी २०२७ सालदेखि वामपन्थी राजनीतिमा सक्रिय थिए। २०२९ सालको चर्चित हर्रेबर्रे संघर्षपूर्व गठन गरिएको दस्ताको कमाण्डर नै थिए।
उक्त प्रकरणपछि उनी २०३७ सालसम्म भूमिगत भएका थिए। २०३७ सालपछि नेकपा (माले) को महत्त्वपूर्ण अंग बनेका भक्ति पाण्डे २०४० सालपछि तत्कालीन मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) मा प्रविष्ट भएका थिए। त्यसो त पाण्डे २०४९ सालको स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट बुटवलको नगरपालिकाको मेयरकोसमेत उम्मेदवार थिए। ‘जनयुद्ध’ताक उनी आपूर्ति विभागको इन्चार्जको भूमिकामा रहँदै सशस्त्र संघर्षका लागि आवश्यक पर्ने गोलीगठ्ठाको जोहोमा सक्रिय थिए।
छोरा विश्वदीप भने पछिल्लो समयमा माओवादी फर्किएर हाल नेपाली कम्युनिष्ट पार्टीमा सक्रिय छन्। त्यसअघि उनी बाबुराम भट्टराईको नयाँ शक्ति, नेपाल समाजवादी पार्टी आदिमा सक्रिय रहेका थिए। उनी पनि तत्कालीन नेकपा माओवादी भूमिगत हुँदा देखि नै राजनीतिमा सक्रिय रहेका हुन्।
‘१८ वर्षअघि बुवासँग, अहिले मसँग! एमाले नेता विष्णु पौडेल कति पुस्तासम्म लडिरहनुहुन्छ होला? यो एउटा संयोग मात्रै नभएर नयाँ पुस्ताले नरूचाएको नेपाली राजनीतिमा विद्यमान प्रवृत्ति पनि हो। जसका विरूद्ध जेनजी पुस्ताले भदौ २३ गते विद्रोह छेड्यो र आज मुलुक अर्ली इलेक्सनमा जानुपर्ने परिस्थिति सिर्जना भएको छ,’ पौडेलको उम्मेदवारी घोषणा लगत्तै पाण्डेले लेखेका थिए।
२०७९ को निर्वाचनअघिसम्म रूपन्देही–२ पौडेलका लागि निकै सुरक्षित मानिन्थ्यो। विकास–निर्माण र त्यहाँका जनसरोकारका मुद्दामा अगुवाइ गरेको छाप पनि त्यहाँका मतदातामा परेको थियो।
तर पछिल्ला निर्वाचनमा पौडेलको प्रभाव खण्डित हुँदै गएको छ।
२०७९ को निर्वाचनमा रूपन्देही–२ मा पर्ने बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र मातहतका वडाको चुनावी परिणाम एमालेका निम्ति सुखद् होइन बिर्सनलायक नै बन्यो। जबकि २०७४ सालको स्थानीय त निर्वाचनमा रूपन्देहीको बुटवल उपमहानगरसहित तिलोत्तमा, सैनामैनाको प्रमुख पद एमालेले नै जितेको थियो।
रूपन्देही–२ मा बुटवल उपमहानगरपालिकाका १३ वटा वडा समेटिएका छन्। सैनामैना नगरपालिकाका १ देखि ४ र तिलोत्तमाका १ देखि ६ वटा वडा समेटिएका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा अधिकांश वडामा एमालेले पराजय व्यहोर्यो। बुटवल उपमहानगरको नगरप्रमुखसहित अधिकांश वडामा हार व्यहोर्यो। बुटवल उपमहानगरपालिकाको उपमेयर र वडा नम्बर १० र ११ मात्रै एमालेले जितेको थियो। वडा नम्बर १ स्वतन्त्र, २ एकीकृत समाजवादी, प्रमुखसहित ३ देखि ९, १२ र १३ नम्बर वडा नेपाली कांग्रेसले जितेको थियो।
सैनामैना र तिलोत्तमा नगरपालिको प्रमुख पनि कांग्रेसले जितेको थियो। सैनामैनाको वडा नम्बर १ साविक माओवादी केन्द्रले, नगरप्रमुखसहित ४ नम्बर वडा कांग्रेसले, उपप्रमुख र २, ३ नम्बर वडा नेकपा एमालेले जितेको थियो।
तिलोत्तमाको पनि प्रमुखसहित २, ३, ५, ६ वडा कांग्रेसले र उपमेयर, १ र ४ नम्बर वडा कांग्रेसले जितेको थियो।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पौडेल रूपन्देही–२ बाट २७१६५ मत ल्याएर निर्वाचित भएका थिए। निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७९५ मत ल्याएका थिए। घर चुनाव चिह्न भएको राष्ट्रिय जनमुक्ति पार्टीले पनि पौडेललाई त्यतिबेला राम्रै चुनौती दिएको थियो। त्यस पार्टीका उम्मेदवा केशवबहादुर थापा मगरले २२ हजार २७ मत ल्याएको थियो।
तत्कालीन गठबन्धनमा रहेका नेपाली कांग्रेस–माओवादी केन्द्रले पनि मगरलाई नै सघाएका थिए। किनभने गठबन्धनमै रहेको एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवार खारेज भएको थियो।
उक्त क्षेत्रमा एमालेको पकड विस्तारै खुम्चिँदैछ भनेर समानुपातिक मतले पनि देखाउँछ।
गत निर्वाचनमा उक्त क्षेत्रमा समानुपातिकतर्फ रास्वपा अगाडि थियो। रास्वपाले २५ हजार ६७३ मत पाउँदा एमालेले २१ हजार १८३ मत ल्याएको थियो। तेस्रोमा रहेको नेपाली कांग्रेसले १३ हजार ४५०, चौथो राप्रपाले ५ हजार ६००, पाँचौं राष्ट्रिय जनमुक्ति पार्टीले ४ हजार १९७ र माओवादी केन्द्रले ३ हजार ४२९ र एकीकृत समाजवादीले ८४२ मत प्राप्त गरेका थिए।