काठमाडौं निर्वाचन क्षेत्र शृंखला
स्वस्थानी व्रत सांगे भइसकेको छैन, म शालीनदी किनारको कथा सुनाइरहेको छु।
यो कथामा गोमा महारानी छैनन्। उसो त नवराज राजा पनि छैनन्।
यो कथामा सात गाउँका हजार घरधुरी मिसाएर बनाइएको काठमाडौं उपत्यकाको प्राचीन सहर 'सँक्व' पनि छैन, जसको अहिले पनि आफ्नै सामाजिक सांस्कृतिक वैभव छ। कर्मका अलग अलग द्वार छन्। बुहारी भित्र्याउनेदेखि शव शमसान घाटमा लैजानेसम्म अलग अलग संघार छन्।
यसको चर्चा अलग्गै लेखोटमा गरौंला।
स्कन्द पुराणमा काठमाडौंको उत्तरपूर्वी सहर साँखु लावण्य देशका रूपमा वर्णित छ। नेवाः भाषामा सँक्व भनिने आदिसहर 'लावण्य देशमा' हात्तीले राजा छान्ने मिथकीय मान्यता थियो। स्वस्थानी व्रतकथा त्यसैको वरिपरि छ।
म हात्तीले राजा छान्ने उहिलेको मिथको कुरा गरिरहेको छैन। तर मणिचुड शिर गरेर घट्टेखोला हुँदै मनोहरामा कायान्तरण हुने नागबेली फेरो मारेको शालीनदीको चुनावी कथा सुनाइरहेको छु।
यो शालीनदी सेरोफेरो अहिले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा समेटिएको छ।
जसै उत्तरपूर्वी काँठमा शिशिरकालीन शीत खस्न मत्थर भएको छ, जमिनको तापमान उकालो लाग्दैछ, निर्वाचनको पारो ह्वात्तै बढिरहेको छ।
निर्वाचनैपिच्छे फरक फरक अनुहार सांसदका रूपमा छान्न रूचाउने काठमाडौं–२ मा चुनावी चटारो बढ्दैछ। निर्वाचन आयोगले फागुन ४ गतेपछि मात्र चुनावी प्रचारप्रसारको अनुमति दिएको छ। त्यसअघि उम्मेदवारहरूले सार्वजनिक रूपमा चुनावी सभा मात्र गर्न नपाउने होइन, मत माग्न घरदैलो समेत गर्न पाइँदैन।
तर काठमाडौं–२ का उम्मेदवार हात बाँधेर बसेका छैनन्। उनीहरू प्रत्यक्ष र परोक्ष हिसाबले मतदाताकहाँ पुगिरहेका छन्। मतका लागि बिन्ती बिसाइरहेका छन्।
निर्वाचन आयोगका अनुसार काठमाडौं–२ मा २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये १६ जना मात्र पार्टीका हुन्। बाँकी स्वतन्त्र रूपमा खडा छन्। राजनीतिक दलका नेताहरूले बताए अनुसार यसमध्ये केही प्रमुख पार्टीका 'डमी' उम्मेदवार समेत हुन्।
निर्वाचन आचारसंहिता छल्न प्रमुख पार्टीहरूले त्यस्ता डमी उम्मेदवार उठाउने गरेका छन्। आमनिर्वाचनपिच्छे दलहरूका यस्ता गतिविधि देखिने गरेको छ। र, परम्परा नै बनिसकेको छ भन्दा अत्युक्ति हुँदैन।
काठमाडौं–२ मा दलहरूले यसपटक पनि विगतकै परम्परा पछ्याएका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक यहाँ कसैले पनि उम्मेदवार दोहोर्याएका छैनन्।
विघटित प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले कबिर शर्मा (फुयाल) लाई उम्मेदवारका रूपमा अघि सारेको छ। क्षेत्रीय सभापति रहेका शर्मा ३८ वर्षका भए। उनी स्थानीय स्तरमा भिजेका अनुहार पनि हुन्।
एमालेले २०७९ सालमा पराजित मणिराम फुयाललाई अघि सारेको छ। उनी पनि २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका अनुहार हुन्।
अघिल्लो पटक सांसद जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४१ वर्षीय सुनील केशीलाई उठाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३९ वर्षीया कुन्तीदेवी पोखरेललाई उम्मेदवारका रूपमा उभ्याएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि युवा अनुहार नै छानेको छ। यसअघि उक्त पार्टीका सहसंयोजक माधवकुमार नेपालले समेत जितेको काठमाडौं–२ मा उनै नेपालको सचिवालयमा बसेका ३८ वर्षीय नितेश पौडेल नेकपाबाट उम्मेदवार छन्। उनी एमाले हुँदै युवा संघको केन्द्रीय भूमिकामा थिए। पार्टी विभाजनपछि पनि युवा संघकै नेतृत्वमा रहे।
प्रगतिशील लोकतान्त्रिक, उज्यालो नेपाल, श्रम संस्कृति, राष्ट्रिय मुक्ति, राष्ट्रिय परिवर्तन, आम जनता पार्टीजस्ता नवोदित दलले पनि यहाँ उम्मेदवारी दिएका छन्। यस कारण ८८ हजार ७०८ मतदाता रहेको काठमाडौं–२ को चुनावी परिणाम के आउँछ, निर्क्यौल गर्न गाह्रो छ।
झन्डै कोटेश्वरको बालकुमारी पुलदेखि सिन्धुपाल्चोक र काभ्रेको दोसाँध छापभञ्ज्याङसम्म दक्षिण–उत्तर सीमा फैलिएको यो निर्वाचन क्षेत्र काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये दोस्रो बढी मतदाता भएको क्षेत्र हो। यहाँभन्दा बढी मतदाता क्षेत्र नम्बर १० मा छ।
काठमाडौं महानगरपालिकाअन्तर्गत ९ र ३२, कागेश्वरी मनोहराको ४ देखि ९ र शंकरापुर नगरपालिकाका सम्पूर्ण (१ देखि ९) वडा यो निर्वाचन क्षेत्रमा समेटिएका छन्।
सहरी सुगमतादेखि कठिन ग्राम्य भूगोलसम्म जोडिएको काठमाडौं–२ मा मतदाताबीच झन्डै चारथरी मनोदशा विद्यमान रहेको स्वयं मतदाता बताउँछन्।
काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नम्बर ९ र ३२ (गौशाला पूर्वदेखि सिनामंगल हुँदै कोटेश्वरसम्म) पूर्ण सहरी क्षेत्र हुन्। कागेश्वरी र शंकरापुर नगरपालिकाका केही वडा काँठ क्षेत्रका रूपमा परिचित छन्। साँखु सिमान्त सहरका रूपमा छ भने शंकरापुरको वडा नम्बर १ (नाङ्लेभारे), २ (पटाप), ३ (जहरसिंहपौवा), ४ (लप्सेफेदी), ५ (पालुबारी), ८ (घुमारचोक) अधिकांश ग्रामीण इलाका हुन्। यहाँका आवश्यकता भिन्न छन्। मतदाताको मनोविज्ञान पनि भिन्न हुने नै भयो।
काठमाडौंको विकट गाउँको परिचय पाएको सिन्धुपाल्चोकको सीमावर्ती पटापमा आजसम्म कालोपत्रे सडक पुगेको छैन। पुछार नाङ्लेभारेको चाँपाबोट स्कुलको चर्किएको भवन त्यहाँको भौतिक दूरावस्थाका प्रतिविम्ब हुन्।
२०७२ वैशाखमा दातृ निकायको सहयोगमा उक्त विद्यालय भवन बनाइए पनि लगत्तैको भूकम्पले चर्काएको थियो। विद्यालयले पठनपाठनका लागि त्यही जीर्ण भवन प्रयोगमा ल्याइरहेको छ।
जहरसिंहपौवादेखि छापभञ्ज्याङसम्मै पानीको संकट छ। जुनै प्रतिनिधि चुनिएर आए पनि स्थानीयको त्यो कष्ट दूर गर्न सकेका छैनन्।
राजधानी काठमाडौंकै अंग भए पनि क्षेत्र ओझेलमा परेकाले हुनुपर्छ, त्यहाँका स्थानीय निर्वाचनैपिच्छे फरक फरक अनुहार खोज्छन्। पालुवारी–इन्द्रायणी–ब्रह्मखेल–मूलपानी उर्वर फाँटले फरक फरक पार्टीलाई परीक्षण गर्छन्। र, मौका थमाउँछन्। तथापि उनीहरूका गुनासा, आवश्यकता बदलिन सकेका छैनन्।
हरेक चुनावमा बाटोघाटो, पुलपुलेसा, खानेपानी, सिञ्चाइ जस्ता विकासका आधारभूत कुराहरू नै उनीहरूका माग बन्ने गरेका छन्।
एकैछिन काठमाडौंको यो पूर्वी भूगोलले अहिलेसम्म कस्ता कस्ता जनप्रतिनिधि रोज्यो र चुनावैपिच्छे नयाँ नयाँ अनुहार छान्ने छवि बनायो भनेर चर्चा गरौं।
सुरूआत गरौं, २०१५ सालबाटै।
नेपालमा विक्रम् सम्बत् २०१५ सालबाट आमनिर्वाचनको आरम्भ भएको हो। त्यस बेला यो भूगोल काठमाडौंभन्दा बाहिर थियो। अहिले चिनिएको साँखु, जहरसिंहपौवा, पालुबारी आदि क्षेत्रबाट लोचनशमशेर थापा निर्वाचित भएका थिए।
तत्कालीन समय यो काठमाडौं उपत्यका उत्तरपूर्वमा समेटिएको थियो। त्यति बेला यो भेगमा डा. केआई सिंह नेतृत्वको युनाइटेड डेमोक्रेटिक पार्टीले चुनाव जितेको थियो।
२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले शासनसत्ता हत्याएपछि आमनिर्वाचन भएन।
एकै पटक २०३६ सालको जनमत संग्रहपछि मात्र बालिग मताधिकारका आधारमा चुनाव भयो। २०३८ वैशाख २७ गते भएको राष्ट्रिय पञ्चायतको पहिलो निर्वाचनमा यस क्षेत्रबाट नानीमैया दाहाल उदाइन्।
तत्कालीन समय काठमाडौं जिल्लाभरिबाट दुई जना प्रतिनिधि निर्वाचित हुने प्रबन्ध थियो। त्यस निर्वाचनमा काठमाडौंबाट नानीमैया दाहाल र जोगमेहर श्रेष्ठ निर्वाचित भएका थिए।
दस वर्षकै उमेरमा गाउँको विकासमा चासो राख्ने दाहाल २९ वर्ष उमेरमा तत्कालीन जोरपाटी गाउँ विकास समितिको उपप्रधानपञ्चमा निर्वाचित भएकी थिइन्। त्यति बेला नै काँठको विद्रोही नेताको छवि बनाएकी दाहालले ६५ हजार ७७७ मतसहित राष्ट्रिय पञ्चायत सदस्य जितेकी थिइन्।
उनको जितलाई कतिपयले पञ्चायतविरोधी मतका रूपमा अर्थ्याए पनि त्यो उनको विद्रोही छविकै जनअनुमोदन थियो।
त्यसपछिका निर्वाचन भने उनका लागि त्यति सुखद रहेनन्। राजनीतिक रूपमा उनको गति ओरालो लाग्दै गयो।
२०४३ सालको राष्ट्रिय पञ्चायतको अर्को निर्वाचनमा काठमाडौंले आफ्नो विद्रोही विम्बलाई नै निरन्तरता दियो। जनपक्षीय उम्मेदवारका रूपमा पद्मरत्न तुलाधरले जिते। काठमाडौंबाटै विमलमान सिंहले पनि चुनाव जिते। विमालमान नेपाली कांग्रेसका एक संस्थापक नेता गणेशमान सिंहकै खलकका हुन्।
२०४८ को निर्वाचनमा काठमाडौं पाँचवटा निर्वाचन क्षेत्रमा विभक्त भयो। काठमाडौं–१ ले त्यस्तै अप्रत्यासित नतिजा नै दिइरह्यो।
काठमाडौं–१ मा तत्कालीन अवस्थामा अन्तरिक सरकारका प्रधानमन्त्री रहेका कृष्णप्रसाद भट्टराई र तत्कालीन एमालेका महासचिव मदन भण्डारी आमुन्नेसामुन्ने भएका थिए।
भण्डारी त्यस बेला काठमाडौं–५ बाट पनि चुनाव लडेका थिए। अहिले उक्त क्षेत्र काठमाडौंको दक्षिण–पश्चिममा पर्छ।
काठमाडौं–१ बाट भट्टराई पराजित भए। उदीयमान नेतृत्वको छवि बनाएका मदन भण्डारीले दुवै क्षेत्रबाट बाजी मारे।
२०४८ मै उपचुनाव हुँदा भण्डारीले क्षेत्र–५ छाडे। काठमाडौं–१ कायम राखे। काठमाडौं–५ को उपचुनावमा कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए।
२०५० जेठ ३ गते भण्डारीको दासढुंगा दुर्घटनामा निधन भयो। त्यसपछि भएको उपचुनावमा काठमाडौं–१ बाट उनकै पत्नी विद्यादेवी भण्डारी निर्वाचित भइन्।
२०४८ को निर्वाचनपछि नेपाली कांग्रेसमा कलह झाँगियो। नेताहरू ७४ रे ३६ से समूहमा विभक्त भएका थिए। ७४ रे समूहको नेतृत्व गिरिजाप्रसाद कोइराला र ३६ से समूहको नेतृत्व कृष्णप्रसाद भट्टराईले गरेका थिए।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरे। काठमाडौं ७ क्षेत्रमा विभक्त भयो।
२०५१ सालमा भएको उक्त मध्यावधिमा काठमाडौं–१ बाट मनमोहन अधिकारी निर्वाचित भएका थिए। काठमाडौं–१ र ३ बाट अधिकारीले जितेका थिए। पछि अधिकारीले काठमाडौं–१ छाडे। २०५३ सालमा त्यहाँ उपचुनाव भयो।
उपचुनाव हुँदा एमालेकै तत्कालीन समय काँठ क्षेत्रको जल्दोबल्दो नेताका परिचय बनाएका र साहित्यकार समेत रहेका नारायण ढकालले चुनाव जिते।
त्यो उपचुनावमा कांग्रेसले मूलपानी क्षेत्रकै नेता लोकेश ढकाललाई उम्मेदवार बनाएको थियो।
२०५६ को आमनिर्वाचनमा पनि उक्त क्षेत्रबाट मनमोहन अधिकारी उठेका थिए। २०५६ जेठमा चुनाव तय गरिएको थियो। तर चुनाव अगावै अधिकारीको निधन भएपछि निर्वाचन असारमा धकेलियो।
त्यो निर्वाचनमा एमालेले प्रदीप नेपाललाई अघि सारेको थियो। पार्टीसँगकै सल्लाहमा लोकेश ढकाल भने त्रिभूज चुनाव चिह्न लिएर उम्मेदवार बनेका थिए।
२०५६ को मध्यावधि निर्वाचनमा प्रदीप नेपाल नै उक्त क्षेत्रबाट निर्वाचित भए।
२०६४ को संविधानसभापछि पनि उक्त क्षेत्रमा उम्मेदवार फेरिने क्रम रोकिएन। पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल उम्मेदवार बनेका थिए। तर उनलाई तत्कालीन नेकपा माओवादीका झक्कु सुवेदीले पराजित गरे।
चुनाव जित्नुअघि सुवेदीको कुनै चर्चा थिएन। नाङ्लेभारे, पटाप लगायत भूगोलबाहेक अन्यत्र माओवादीको प्रभाव पनि देखिएको थिएन। तर चुनावमा अप्रत्यासित परिणाम निकालेपछि सुवेदी त्यो कार्यकालभरि चर्चामा रहे।
रौतहट–१ बाट पनि चुनाव हारेपछि महासचिव नेपालले पार्टी नेतृत्वबाट राजीनामा दिए। एमाले नेतृत्व हस्तान्तरणको कोर्समा गयो।
२०७० को निर्वाचनमा भने तत्कालीन एमाले नेता माधवकुमार नेपालले दुवै क्षेत्रमा चुनाव जिते।
रौतहट–१ मा जित कायम राखेर काठमाडौं–२ छाड्दा एमालेले उक्त क्षेत्र गुमाएको मात्र होइन, कांग्रेस पार्टीका प्रभावशाली नेताले समेत जित निकाल्न नसकेको ठाउँबाट पहिलो पटक निर्वाचित भयो। थली निवासी दीपक कुइँकेल सभासद निर्वाचित भए।
त्यस उपचुनावमा एमालेले काठमाडौं–९ मा पराजित भएका कृष्णगोपाल श्रेष्ठलाई उम्मेदवारका रूपमा अघि सारेको थियो। तर उनले चुनाव जित्न सकेनन्।
२०७४ को निर्वाचनमा नेता नेपाल काठमाडौं–२ बाटै निर्वाचित भएर पूरा कार्यकाल सांसद भए।
२०७९ को निर्वाचनमा काठमाडौं–२ ले पुनः अप्रत्यासित नतिजा दियो। दोलखा जामुनेकी २७ वर्षीया सोविता गौतम सांसद निर्वाचित भएकी थिइन्। गौतम १५ हजार २३८ मत ल्याएर निर्वाचित भएकी थिइन्। प्रतिस्पर्धी एमालेका फुयालले ११ हजार ५६६, तेस्रो भएकी राप्रपाकी पोखरेलले ११ हजार २४ मत ल्याएकी थिइन्।
त्यति बेला गठबन्धनमा रहेका कांग्रेस र तत्कालीन माओवादी केन्द्रले साझा उम्मेदवारका रूपमा पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाएको थियो। उनले ९ हजार ४५९ मत ल्याएकी थिइन्।
यसपटक कांग्रेसले मूलपानीकै स्थानीय अनुहार कबिर शर्मा (फुयाल) लाई अघि सारेको छ।
रास्वपाले राप्रपाबाट प्रदेश सांसद जितेका सुनील केसीलाई उम्मेदवार बनाएको छ।
राप्रपाबाट चुनाव जिते पनि उनी काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं अहिले रास्वपाका वरिष्ठ नेता बालेन शाहको समूहमा थिए। प्रदेशसभा निर्वाचनपूर्व नै स्थानीय तह निर्वाचनमा बालेनलाई मेयर जिताउन अहम् भूमिका खेलेका थिए।
राप्रपा प्रवेश गरे पनि उनी पार्टीका गतिविधि मात्र होइन, संसदीय दलको बैठकमा पनि सहभागी भएनन्। बालेन राजनीतिमा प्रविष्ट भए उनको सहयोगीकै रूपमा देखिने आकलन गरिएका केसी अन्ततः उनकै सिफारिसमा काठमाडौं–२ बाट उम्मेदवार बनेका छन्।
लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेर अहिले खासै भूमिकामा नदेखिएका लोकेश ढकाल काठमाडौं–२ लाई प्रमुख दलहरूले प्रयोगको थलो बनाएकाले त्यहाँका स्थानीय फरक फरक अनुहार छान्न बाध्य भएको टिप्पणी गर्छन्।
'कांग्रेस, एमालेले यहाँका स्थानीय अनुहारलाई उठ्नै दिएनन्। एमालेले यहाँका नारायण ढकाललाई किनारा नै लगायो। एमालेले उनलाई उपेक्षा नगरेको भए उनी काँठको प्रतिनिधित्व गर्ने ठूला नेता हुन्थे। मेरो हकमा पनि कांग्रेसको तत्कालीन नेतृत्वले त्यही व्यवहार देखायो,' उनले भने।
ठूला दलले चुनावपिच्छे फरक फरक अनुहार छान्दा अघिल्ला उम्मेदवारहरूको वाचा–प्रतिबद्धता हस्तान्तरित हुन सकेको छैन।
पुराना दलबाट स्थानीयको विश्वास नयाँतिर ढल्किइरहेको त्यहाँको मत परिणामले नै देखाइरहेको छ।