सुसंस्कृत समाजसहित देश बनाउँछौं भन्नेहरूका अभिव्यक्ति विद्वेषपूर्ण हुन थालेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको प्रचार–प्रसार सुरू भइसकेको छैन। तर उम्मेदवार बनेका शीर्षस्थहरू समेत आफ्ना प्रतिस्पर्धीको अनुहारमा हिलो छ्याप्न गालीगलौजयुक्त भाषाको सहारा लिन थालेका छन्।
प्रतिस्पर्धीप्रति असहिष्णु र आक्रामक बन्दै गर्दा नेताहरूका अभिव्यक्ति व्यक्ति लक्षित मात्र होइन, समुदाय लक्षित पनि हुन थालेका छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतका पछिल्लो अभिव्यक्तिले मधेसी समुदायको भावनामा चोट पुर्यायो, जसको आलोचना पार्टीभित्रैबाट भयो। सचिव बस्नेतले आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गरिसकेका छन् भने अध्यक्ष ओलीले गल्ती महसुससम्म गरेका छैनन्। उनले थप टिप्पणी गर्न पनि छाडेका छैनन्।
आफ्नो बोलीमा नश्लवादी टिप्पणी लोकतन्त्रमा सर्वथा वर्जित कुरा हो। तर ओलीले बिनासंकोच यस्तो अभिव्यक्ति दिइरहेका छन्।
गत माघ ५ गते बालेन शाह मधेस झरे। काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता ग्रहण गरेका बालेनले भोलिपल्ट जनकपुर पुगेर सभापति रवि लामिछानेसँग मञ्च सेयर गरेका थिए।
पहिलो पटक राजनीतिक भाषण गरेका बालेनले 'मधेसीया छौरा' प्रधानमन्त्री प्रधानमन्त्री बन्न लागेकाले भोट दिनुपर्छ भन्ने ठान्नुभएको हो भन्दै आमसभामा सहभागीहरूलाई सोधेका थिए।
'आइ एगो मधेसीया छौरा प्रधानमन्त्री बनेला है, वैला... वैला...! आइ एगो मधेसीया पिएम बनेवाला हे, वैला घन्टीमे भोट नै रहे के ... सही लोग आउनेवाला हे, वैला घन्टीमे भोट रहे के!' मैथिलीमा सम्बोधन गरेका बालेनले भनेका थिए।
बालेनले भनेको 'मधेसीया छौरा' को अर्थ मधेसी छोराछोरी भन्ने हुन्छ।
तर एमाले सचिव महेश बस्नेतले अर्थको अनर्थ हुने गरी टिप्पणी गरे। उनले बालेनले आफ्नो सम्बोधनमा मधेसी समुदायलाई 'छाउरा' भनेको भन्दै शब्द बंग्याए। अर्थ बदल्ने कोसिस गरे।
'म किन भन्नु छाउराको अर्थ के हुन्छ? आफै भन्नुस् न,' उनले भनेका थिए।
यसप्रति एमालेभित्रै मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूले कडा आलोचना, निन्दा र भर्त्सना नै गरे।
पूर्वकेन्द्रीय सदस्य अरबिन्द सिंहले 'महेश बस्नेतले भाषा सुधारून्, नत्र मधेसमा एमालेले त्यसको मूल्य चुकाउनुपर्छ' भन्दै टिप्पणी गरेका थिए।
एमाले उपमहासचिव रघुवीर महासेठले सचिव बस्नेतले आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गर्नुपर्ने बताएका थिए। नेता जुली महतोले बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाएकी थिइन्। महतो आफै अहिले धनुषा–३ बाट उम्मेदवार छिन्।
एमाले नेता शम्भु साहले पनि बस्नेतको भनाइप्रति आपत्ति जनाएका थिए।
'एमाले पार्टीको मधेसप्रतिको दृष्टिकोण, व्यवहार र प्रयोग हुने भाषामा सुधारको आवश्यकता छ। निर्वाचनको समय बालेन्द्र शाहलाई आलोचना गर्ने क्रममा फेरि मधेसी समुदाय र तिनको भाषामाथि टिप्पणी गर्ने प्रवृत्ति देखिएको छ। नेपाली भाषामा 'छोरा' शब्द जस्तै, मैथिलीमा 'छौडा' वा मधेस क्षेत्रमा सामान्य रूपमा 'छौरा' शब्द प्रयोग हुन्छ, जसको अर्थ छोराछोरी वा युवा जनतालाई बुझाउँछ। तर यस शब्दलाई 'छाउरा' का रूपमा तोडमोड गरी कुकुरसँग जोडेर व्याख्या गर्नु गलत र अनुचित छ। यो भाषिक अज्ञानता मात्र नभई समुदायप्रतिको संकीर्ण सोचको प्रतिबिम्ब पनि हो,' उनले भनेका थिए।
पार्टीको सचिव, राष्ट्रिय स्तरको नेतृत्वमा रहेको व्यक्तिले पनि मैथिली भाषा र मधेसी संस्कृतिको शब्दलाई अपमानजनक रूपमा प्रस्तुत गर्नु दुःखद विषय रहेको उनले बताएका थिए।
'यो कुनै भाषिक भूल मात्र नभई मधेसी पहिचान र अस्मितामाथि लक्षित आघातका रूपमा पनि देखिन्छ। राजनीतिमा विचार र नीतिमा असहमति स्वाभाविक हुन्छ, तर शब्दको अर्थ तोडमोड गरी सम्पूर्ण समुदायलाई होच्याउने वा अपमान गर्ने काम कुनै पनि राजनीतिक दल वा नेताले गर्नुहुँदैन। यस्ता घटनाले समाजमा विभेद र तनाव बढाउँछ। सबै समुदायप्रति सम्मान र समानताका आधारमा राजनीतिक संवाद अघि बढोस्,' शम्भु साहले भनेका थिए।
यसरी बस्नेतको अभिव्यक्तिबाट पार्टीभित्रका मधेसी समुदायका नेता त रूष्ट भए नै, पार्टीबाहिर पनि व्यापक आलोच्य बन्यो।
त्यसपछि बस्नेतले क्षमयाचना गरेका थिए।
'बालेन भाइले म मधेसको छौरा भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ। म मधेस, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति हुँ। मैले नबोलेका विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु। कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अन्जानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु,' उनले माफी माग्दै भनेका थिए।
त्यसको केही दिनअघि अध्यक्ष ओलीले बालेन शाहप्रति लक्षित गर्दै जातीय हिसाबले झनै विषाक्त अभिव्यक्ति दिए।
बालेन शाह अहिले झापा–५ बाट उम्मेदवार बनेका छन्। अध्यक्ष ओली पनि त्यही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन्। ओली झापा–५ बाट २०६४ को पहिलो संविधानसभा निर्वाचनमा बाहेक लगातार चुनाव जित्दै आएका छन्।
ओली र बालेनको एकअर्का प्रति अशोभनीय टिप्पणीको लामो शृंखला छ। बालेन झापा-५ मा आएर ओली बिरूद्द उठेपछि उनीहरू एक अर्का प्रति थप आक्रामक सुनिन थालेका छन्।
केही दिनअघि कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा उनले बालेनप्रतिको आक्रोश लुकाउन सकेनन्। उनले बालेनलाई गुइँठा बाल्ने ठाउँबाट दमकजस्तो सफासुग्घर ठाउँमा चुनाव लड्न आएको आशय लाग्ने गरी अभिव्यक्ति दिए।
'दमक सफा नगरमध्ये पर्छ। व्यवस्थित नगरमध्ये पर्छ। यो महोत्तरी, धनुषाजस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एड्भान्स छ, सफासुग्घर बेग्लै छ। अब उहाँ त्यो कल्चरबाट आएको मान्छे यस कल्चरमा! उहाँले यहाँ गुइँठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ मलाई थाहा छैन। यो ठाउँ त धेरै एड्भान्स छ नि,' अध्यक्ष ओलीले कुराकानी क्रममा भनेका थिए।
दाउरा वा अन्य प्रज्वलनशील कुराको अभाव हुने मधेसमा गुइँठा बाल्नु सदियौंदेखि चल्दै आएको परम्परा हो। मधेस मात्र नभई भित्री मधेस र पहाडतिर पनि यो संस्कृति विद्यमान छ।
अध्यक्ष ओलीले यसैलाई फोहोरी संस्कृति चित्रण गर्न खोजेको भन्दै अहिले आलोचना भइरहेको छ।
अध्यक्ष ओलीको यही अभिव्यक्तिको जबाफ अहिले मधेस प्रदेशका जिल्लाबाट उम्मेदवार बनेका एमाले नेता–कार्यकर्ताले दिनुपरिरहेको छ।
अध्यक्ष ओलीप्रति मेयर बालेन पनि सहिष्णु देखिएका छैनन्। अहिले प्रमुख पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपा प्रधानमन्त्रीको उम्मेदवार नै तोकेर चुनावी मैदानमा ओर्लिएका छन्। प्रमुख पार्टीहरूले प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा सहभागी भएकाले कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीच सार्वजनिक बहस होस् भन्ने चर्चा छ। केही सञ्चारकर्मीले सार्वजनिक रूपमै आह्वान पनि गरेका छन्।
अध्यक्ष ओलीले पनि आफू सार्वजनिक बहसमा आउन तयार रहेको बताइसकेका छन्।
सार्वजनिक बहसको आग्रह इन्कार गर्दै रास्वपा वरिष्ठ नेता बालेनले ओलीलाई कडा प्रतिक्रिया दिए। सार्वजनिक बहसका लागि तयार रहेको ओलीको आग्रहयुक्त स्ट्याटसमुनि बालेनले 'आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने?' भन्दै प्रतिक्रिया जनाए।
'आफूलाई देश जलाउनेका रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो! तपाईंहरूले आफै २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो! आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो? त्यो पछि अरू कुरा गरौंला! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,' उनले ओलीलाई जबाफ दिँदै भनेका थिए।
प्रतिस्पर्धी समेत रहेका शीर्षस्थको यो अभिव्यक्तिले चुनावमा थप द्वन्द्व बढ्ने चिन्ता त छँदैछ, चुनाव जितेपछि देशको बागडोर सम्हाल्ने ठाउँमा पुग्ने सम्भावित नेतृत्वको यो तहको अभिव्यक्तिले कत्तिको सहिष्णु संस्कृतिको निर्माण गर्ला भन्ने प्रश्न पनि उठेको छ।