मकवानपुरको थाहा नगरपालिका वडा नं ९ स्थित स्वच्छन्द भैरवदेखि खलिवन जाने सडकमा बक्स कल्भर्ट निर्माण नहुँदा सर्वसाधरण मर्कामा परेका छन्।
कल्भर्ट बनाउने काम अलपत्र अवस्थामा छाडिएका कारण स्थानीय आवत-जावतमा सास्ती खेप्नुपरेको छ।
पटक पटक म्याद थप गर्दा पनि काम नगरेर ठेकेदारले लापरबाही गरेपछि वडा कार्यालयले दबाब दिएको छ।
पूर्वाधार विकास कार्यालय, मकवानपुर हेटौंडाले कल्भर्ट निर्माणका लागि १ करोड ८ लाख बजेट विनियोजन गरिएको थियो। रितपूर्वक आव्हान गरिएको ठेक्का प्रक्रिया मार्फत स्वेच्छा कन्स्ट्रक्सन लिमिटेडले २६.८५ प्रतिशत कम अर्थात ७९ लाखमा ठेक्का सकारेर २०८१ को दसैंपछि काम सुरू गरेको थियो।
ठेकेदारले २०८२ असार मसान्तभित्रै काम सम्पन्न गरिसक्नुपर्ने थियो। तोकिएको समयमा निर्माणको काम सम्पन्न नभएपछि बाँकी काम पूरा गर्न कन्स्ट्रक्सन कम्पनीले २०८२ असोज मसान्तसम्मको समय थप माग गरेको थियो। तर उक्त समयभित्र पनि बाँकी काम सम्पन्न गर्न सकेन।
पुनः फागुन मसान्तसम्म समय थप गरिएको छ। योजनाको काम समयमै सम्पन्न गर्न वडा कार्यालयबाट बारम्बार ताकेता गर्दा पनि वेवास्ता गरी योजना अलपत्र छोडेको वडा कार्यालयको भनाइ छ।
पछिल्लो पटक थप गरिएको समय सिमाभित्र पनि बाँकी काम सम्पन्न नहुने अवस्था देखिएको वडा अध्यक्ष राजकुमार बलामी बताउँछन्।
कल्भर्ट निर्माणको बाँकी काम फागुन १ गतेदेखि वडा कार्यालयले जिम्मा लिई थप गरिएको समयभित्रै सम्पन्न गर्ने निर्णय वडा समितिले गरेको र सम्बन्धित ठेकेदार र पूर्वाधार कार्यालयलाई जानकारी गराइएको उनले बताए।
‘आवश्यक पर्ने प्राविधिक सहयोग र बिल भरपाई तथा रकम निकासाका लागि आवश्यक समन्वय गर्न पूर्वाधार कार्यालयलाई भनेका छौं,’ उनले भने।
वडा अध्यक्ष बलामीका अनुसार माघ २६ गते नै पूर्वाधार विकास कार्यालयलाई यसबारे पत्र पठाएको भए पनि जबाफ दिएको छैन।
पूर्वाधार कार्यालयका प्रमुख इन्जिनियर सुजन भण्डारीले भने काम सुस्त भएकोले ठेकेदारलाई ताकेता गरिएको बताउँछन्।
‘त्यो काम अलि सुस्त छ, निर्माण कम्पनीलाई ताकेता गरेका छौं,’ उनले भने, ‘ आज निर्माण सामग्री जम्मा गर्दैछन्, भोलि वा पर्सिसम्ममा ढलान गर्छन्।’
वडाले आफैं काम गर्छु भने पनि कानुनतः दिन मिल्दैन।
‘कानूनी हिसाबले जसले कन्ट्र्याक्टरले नै तोकिएको काम गर्नुपर्छ,’ ईन्जिनियर भण्डारीले भने, ‘जन गुनासोपछि वडा अध्यक्ष आक्रोशमा आएर त्यस्तो निर्णय गर्नुभएको होला, त्यसलाई सकारात्मक रूपमा लिएका छौं।'
वडा अध्यक्ष बलामीले भने निर्माण कम्पनीले कल्भर्ट निर्माण स्थलमा कुनै पनि निर्माण सामाग्री नखसाएको बताएका छन्।