इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी अमेरिका र इसराइलको हमलामा मारिएका छन्।
८६ वर्षीय खामेनीको मृत्युबारे इरानले आइतबार बिहानमात्रै सार्वजनिक गरेको थियो। जबकी सुरूवाती हमलामै उनी मारिएका थिए।
पश्चिमा मिडियाहरूका अनुसार तेहरानस्थित खामेनीको निवासमै हमला भएको थियो। हमलामा खामेनीसँगै उनकी छोरी, बुहारी, ज्वाँइ र नाति पनि मारिएका छन्।
खामेनीको निवासनजिकै रहेका अन्य भवनहरूमा पनि क्षति पुगेको छ।
हमलामा इरानका रक्षामन्त्री, सरकारी सैन्य बल र इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख, रक्षा सचिव लगायत थुप्रै उच्च अधिकारीहरू मारिएको बताइएको छ।
अमेरिका र इसराइलले एक वर्षको अवधिमा दोस्रो पटक इरानमा हमला गरेको हो।
यसअघि अघिल्लो वर्षको जुन महिनामा इसराइल र इरानबीच १२ दिन युद्ध हुँदा अन्तिममा अमेरिका पनि सामेल भएको थियो।
त्यस क्रममा अमेरिकाले इरानका महत्त्वपूर्ण परमाणु भट्टी रहेको फर्दो, नतान्ज र इस्फहानमा शक्तिशाली जिबियू-५७ बम खसालेको थियो।
त्यतिबेलै इसराइलले इरानी सर्वोच्च नेता खामेनीलाई मार्ने योजना बनाएको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति नदिएपछि इसराइल खामेनीलाई मार्ने योजनाबाट पछि हटेको थियो।
महत्त्वपूर्ण आणविक भट्टीमा हमला गरेपछि अमेरिकाले इरानले फेरि आणविक कार्यक्रम सञ्चालन गर्न नसक्ने विश्वास गरेको थियो।
तर इरानले अमेरिकाले बम खसाल्नुअघि नै अत्यावश्यक सामग्री र प्रशोधित युरेनियम आणविक भट्टीबाट निकालिसकेको सार्वजनिक भएको थियो।
यद्यपि ट्रम्प आफै भने इरानको परमाणु भट्टी कामै नलाग्नेगरी ध्वस्त भएको अडानमा अन्तिमसम्म टिकिरहे। तर तेहरानमा हमलापछि भने ट्रम्पले इरानले युरेनियम प्रशोधनको काम तीव्र रूपमा गरिरहेको र लामो दूरीका मिसाइलहरू पनि बनाइरहेको बताए। त्यसकारण अमेरिकामाथि बढ्दो सुरक्षा खतरालाई निस्तेज पार्नका लागि त्यहाँ हमला गरिएको उनले बताएका छन्।
ट्रम्पले खामेनीलाई निर्दयी र हिंसात्मक शासक भनेका छन्। खामेनीको मृत्युबाट अमेरिकाले मात्रै नभई अन्य मुलुकहरूले पनि न्याय पाएको उनको दाबी छ।
खामेनीको मृत्युपछि इरानमा ४० दिन शोक र एक साता सार्वजनिक बिदा दिइएको छ। उनका समर्थकहरूले दुःख प्रकट गरेका छन् भने विरोधीहरूले उत्सव मनाएका छन्।
विशेषगरी गत डिसेम्बर अन्तिममा इरानमा चर्किएको आन्दोलनमा हजारौंको मृत्यु भएको थियो। बढ्दो महँगीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले दमन गरेको थियो।
त्यतिबेला पनि ट्रम्पले आन्दोलनबाटै त्यहाँको सरकारलाई अपदस्त गर्न सकिने ठानेर प्रदर्शनकारीहरूलाई उक्साउने गरी उनीहरूलाई पछि नहट्न बरू आवश्यक परे अमेरिका उनीहरूको सुरक्षामा हाजिर हुने भनेर अभिव्यक्ति दिएका थिए।
इरानको नेतृत्वमाथि गोली चलाउने भनेर ट्रम्पले त्यतिखेर दिएको धम्की दुई महिनापछि पूरा गरे।
को हुन् खामेनी?
खामेनीले इरानमा झन्डै ३७ वर्ष शासन गरे। यो अवधिमा खामेनीले इरानलाई क्षेत्रीय शक्तिका रूपमा उभ्याए। उनले नागरिकका असहमति कडाइका साथ दबाए र अमेरिका र इसराइलप्रति कडा र निरन्तर विरोधी नीति अपनाए।
उनको शासनकाल इरानको आधुनिक इतिहासकै सबैभन्दा निर्णायक र विवादास्पद अवधिका रूपमा लिइन्छ।
खामेनीको जन्म सन् १९३९ अप्रिल १९ मा उत्तरपूर्वी सहर मशहदमा भएको थियो। धार्मिक परिवारमा जन्मिएका उनी बाल्यकालदेखि नै इस्लामिक शिक्षामा लागेका थिए।
किशोर अवस्थामै उनले धार्मिक विद्यालयमा अध्ययन सुरु गरेका थिए। पछि उनी नजफ र कुमजस्ता धार्मिक केन्द्रमा अध्ययन गर्न पुगे। त्यही क्रममा इस्लामिक क्रान्तिका नेता आयातोल्लाह रूहोल्ला खोमेनीको प्रभावमा परे।
सन् १९६० को दशकमा शाहविरुद्धको आन्दोलनमा सक्रिय हुँदा खामेनी उनी पटक–पटक पक्राउ परेका थिए।
इरानमा सन् १९७९ मा इस्लामिक क्रान्ति भयो। त्यसअघि इरानमा शाह पहलवी वंशको शासन थियो। त्यतिबेला इसराइल र अमेरिका दुवै देशसँग इरानको राम्रो सम्बन्ध थियो।
शाह पहलवी वंशको शासन अन्त्य गरेर इस्लामी कट्टरपन्थीले सत्ता हत्याएपछि रूहल्ला खोमेनी इरानका सर्वोच्च नेता बने। त्यति बेलादेखि नै हो इरान र इसराइलबीच शत्रुता सुरू भएको।
इरानले इसराइलको अस्तित्व नै स्वीकार गर्दैन र इसराइललाई ध्वस्त पार्ने प्रण गरेको छ।
सन् १९८१ मा एउटा पत्रकार सम्मेलनका क्रममा बम विस्फोटमा अलि खामेनी गम्भीर घाइते भएका थिए। त्यस हमलामा उनको दाहिने हात स्थायी रूपमा प्रभावित भयो।
खोमेनीसँग निकट रहेका उनी त्यही वर्ष इरानका राष्ट्रपति बने र दुई कार्यकाल सत्तामा रहे।
सन् १९८९ मा खोमेनीको निधन भयो। त्यसपछि खामेनी अप्रत्याशित रूपमा सर्वोच्च नेतामा चयन भए।
इरानमा ८८ जना सदस्य रहेको विज्ञहरुको सभा (एसेम्ब्ली अफ एक्स्पर्ट)ले सर्वोच्च नेता छान्छ। सभाले सर्वोच्च नेताको उम्मेदवार छानेपछि त्यसमा मतदान हुन्छ। प्रक्रियागत ढंगले सर्वोच्च नेता छान्न महिनौं लाग्छ।
सर्वोच्च नेता हुन उच्च तहका शिया धर्मगुरु हुनु अनिवार्य रहन्छ। तर खामेनी उच्च तहका धर्मगुरूको तहमा नपुगे पनि खोमेनीलाई आयतोल्लाहको उपाधि दिइयो र संविधान संशोधन गरियो।
सर्वोच्च नेता चुनिएपछि उनले राज्यसत्ता मजबुत बनाउँदै क्रान्तिको दिशा आफ्नै शैलीमा अघि बढाए।
सर्वोच्च नेताका रूपमा उनले इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आइआरजिसी) लाई असाधारण रूपमा विस्तार गरे। आइआरजिसी इरानको शक्तिशाली सैन्य र सुरक्षा संरचना हो, जसले आन्तरिक नियन्त्रणदेखि क्षेत्रीय प्रभाव विस्तारसम्म महत्वपूर्ण भूमिका खेल्यो। खामेनीले नैतिकता प्रहरी र बसीज स्वयंसेवी बललाई पनि सुदृढ बनाए।
देशभित्र उनले सुधारवादी प्रयासहरू रोके।
सन् २००९ को हरित आन्दोलनदेखि २०१७, २०१९ र २०२२ का आन्दोलनसम्म सुरक्षाबलले कडा दमन गर्यो। सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशभरि व्यापक प्रदर्शन भएको थियो।
त्यतिबेला महिला स्वतन्त्रताको आवाज उठाउँदै देशभरि आन्दोलन भएको थियो। तर त्यतिबेला पनि हिंसात्मक दमनमार्फत सरकारले आन्दोलनलाई नियन्त्रणमा लिएको भनिएको छ।
सन् २०२६ जनवरीमा आर्थिक मुद्दामा सुरु भएको प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोप पनि उनीमाथि लाग्यो। हजारौँ मानिस मारिएको मानवअधिकार समूहहरूको दाबी छ।
वैदेशिक नीतिमा खामेनीले अमेरिका र इसराइललाई प्रमुख शत्रुका रूपमा हेरे। उनले अमेरिकालाई 'महान शैतान' र इसराइललाई 'हटाउनुपर्ने क्यान्सर' भनेका थिए।
इरानको आणविक कार्यक्रम पनि उनका शासनकालको केन्द्रीय विषय बन्यो। पश्चिमी देशहरूले इरानले आणविक हतियार विकास गर्न खोजेको आरोप लगाए। इरानले भने त्यो कार्यक्रम शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि भएको दाबी गर्यो।
सन् २०१५ मा अन्तर्राष्ट्रिय आणविक सम्झौता भएको थियो। त्यसले युरेनियम समृद्धिकरणमा सीमा तोक्दै प्रतिबन्ध हटाउने व्यवस्था गरेको थियो। तर सन् २०१८ मा ट्रम्प प्रशासनले सम्झौताबाट बाहिरिँदै पुनः कडा प्रतिबन्ध लगायो। त्यसपछि तनाव झन् चर्किँदै गएको थियो। सन् २०२० मा इरानी कमान्डर कासिम सुलेमानी अमेरिकी ड्रोन हमलामा मारिएपछि दुई देश युद्धको संघारसम्म पुगेका थिए।
खामेनीको पालामा इरानले लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँदै आएको थियो। इरानले इसराइल र अमेरिकाविरूद्ध बनाएको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेसिस्टेन्स' भनिन्छ। बसर अल–असदले शासन गरेको सिरिया पनि यो मोर्चाबन्दीको हिस्सा थियो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को कुद्स फोर्सले यी विदेशी समूहहरू परिचालन गर्छ।
कोभिड महामारीका बेला खामेनीले अमेरिकी र बेलायती खोपमा प्रतिबन्ध लगाए। त्यस निर्णयले मृत्यु संख्या बढाएको आलोचना भयो। उनको शासनकालमा हजारौँ आलोचक, पत्रकार र कार्यकर्ता जेल परे।
उनका समर्थकहरू भने उनलाई दृढ र रणनीतिक नेता मान्छन्। उनीहरूले बाह्य दबाबका बीच इरानको सार्वभौमिकता जोगाएको दाबी गर्छन्। आलोचकहरूका लागि भने उनी कठोर शासक थिए, जसले इरानलाई अन्तर्राष्ट्रिय रूपमा एक्लो स्थानमा पुर्याए भन्छन्।
तीन दशकभन्दा बढी समय सत्तामा रहेका खामेनी मध्यपूर्वकै सबैभन्दा लामो समय शासन गर्ने नेतामध्ये पर्छन्।
जर्ज डब्लु बुशदेखि ट्रम्पसम्मका अमेरिकी राष्ट्रपतिसँग उनको सम्बन्ध सधैं तनावपूर्ण रह्यो। उनको मृत्युले इरानको राजनीतिक दिशामा ठूलो मोड ल्याउने अनुमान गरिएको छ।
खामेनीले निर्माण गरेको संरचना बलियो भए पनि अब उत्तराधिकार र भावी नीतिबारे अनिश्चितता बढेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा)