राजनीतिका अनुभवी उम्मेदवारलाई पराजित गर्दै बारा क्षेत्र नम्बर ३ बाट ४१ वर्षीय अरबिन्द साह प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। उनी ३० हजार ६४५ मत बढी मतान्तरसहित निर्वाचित भए। उनले ४० हजार ६९७ मत पाए।
निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरले १० हजार ५२ मत पाएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह, जो २०२८ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन्। त्यतिबेला उनले भारतको पटनामा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबाट पार्टी सदस्यता लिएका थिए। उनी ०५६ सालमा प्रतिनिधि सभा सदस्य बने, ०७४ सालमा संविधान सभा सदस्यमा निर्वाचित भएका उनी श्रम तथा रोजगार मन्त्रीसमेत बनेका थिए।
तेस्रो र चौथो स्थानमा रहेका नेताहरू पनि राजनीतिका अनुभवी हुन्। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामबाबु कुमार यादवको ६ हजार ८८४ मत सहित तेस्रो स्थानमा छन्। उनी जनता समाजवादी पार्टीको मधेस प्रदेश अध्यक्ष भइसकेका व्यक्ति हुन्।
उनी २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
चौथो स्थानमा रहेकी पूर्वमन्त्री एवं नेकपा एमालेकी नेता ४४ वर्षीया ज्वालाकुमारी साहले ५ हजार २७१ मत पाएकी छन्। उनीसँग जनयुद्धकालदेखि संसद्, प्रदेशसभा र संघीय सरकारमा कृषि तथा पशुपंक्षी मन्त्रालय सम्हालेको अनुभव थियो।
बाराको महागढीमाई–०७, तेलकुवाका अरबिन्द कम्प्युटर इन्जिनियर हुन्।
उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सन् २००८ मा कम्प्युटर इन्जिनियरिङमा स्नातक तहको पढाइसकेका थिए। त्यसपछि उनले ग्रामिण विकासमा स्नाकोत्तर गरे। उनले आईसीटी इन एग्रिकल्चर विषयमा थेसिस गरेका छन्। उनी हाल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट ‘ग्रामीण विकास’ विषयमा नै एमफिल पिएचडीको शोधकार्य गर्दैछन्।
डिजिटल टेक्नोलोजीज, आर्टिफिसियल इन्टेलीजेन्स (एआई) र अन्य प्रविधिमार्फत समाज विकासलाई गतिशील बनाउने उनको अठोट छ। उनले एआईमार्फत देशव्यापी लाखौं रोजगारी सृजना गर्ने बाचा गरेका छन्।
अरबिन्द साहसँग उद्यम सञ्चालनको अनुभव पनि छ।
प्रविधिको माध्यमबाट राष्ट्रिय समस्या समाधानमा उनले भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ। किनकी उनले इन्जिनियरिङ अध्ययनकै क्रममा सन् २००८ मा पुल्चोक क्याम्पसका चार जना साथीहरूसँग मिलेर ‘जानकी टेक्नोलोजी’ स्थापना गरेका थिए। जानकी टेक्नोलोजी प्रा.लि. स्थापना गरेका थिए। जसअन्तर्गत स्पारो एसएमएसले १७ वर्षदेखि करोडौं नेपालीलाई सूचनाको पहुँच प्रदान गरिरहेको छ।
सन् २०१७ मा उनी सहितको टिमले बनाएको खल्ती एप नेपालीको मोबाइलमा छ। उक्त एपले एक करोड २७ लाखभन्दा बढी नेपालीलाई वित्तीय पहुँचको सेवा उपलब्ध गराइरहेको छ।
यी उद्यमहरूले देशमा सयौंलाई रोजगारी प्रदान गर्नुको साथै डिजिटल प्रविधिको विकासमा नेतृत्वदायी भूमिका खेलेको छ। अरबिन्द ‘नेपालमै सम्भव छ, ठूला र सार्थक काम गर्न सकिन्छ’ भन्ने सोचलाई प्रवर्द्धन गर्न सफल छन्।
अरबिन्द सन् २०२२ देखि व्यवसायहरूबाट निष्क्रिय हुँदै पूर्ण रूपमा सामाजिक सेवामा लागेका थिए।
विजयी भएपछि निर्वाचन अधिकृतको हातबाट प्रमाणपत्र लिँदै उनले जनताको विश्वासलाई कदर गर्ने बताएका छन्। अबको युग नयाँ युग हुने, जालझेलको राजनीति नहुने, विकास समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने, बारा जिल्लाले विधिको शासनमा पहिचान बनाउने उनको भनाइ छ।