पर्सा-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४६ वर्षीय बुद्धिप्रसाद पन्त विजयी भएका छन्।
वीरगञ्जमा उनी हरि भनेर चिनिन्छन्।
मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार उनी २७ हजार २७४ मत ल्याएर विजयी भएका हुन्। उनले पूर्वमन्त्री ५० वर्षीय प्रदीप यादव र संविधान सभा सदस्य ५७ वर्षीय अनिलकुमार रूंगटालाई पराजित गरे।
पार्टी परिवर्तन गरेर ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका पूर्व मन्त्री प्रदिप निकटतम प्रतिस्पर्धी बन्न पुगे। एमालेका उम्मेदवार प्रदीपले १३ हजार ३० मत पाए। उनीहरूबीच १४ हजार २४४ मतान्तर छ। प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नका लागि गत माघ ५ गते प्रदीपले जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर एमाले प्रवेश गरेका थिए।
प्रदीप पछिल्लो मधेस आन्दोलन मार्फत राजनीतिमा उदाएका नेता हुन्। मधेसवादी दलमा रहँदा प्रदीप पर्सा-१ बाट ०७४ र ०७९ मा विजयी भएका थिए। उनी संघीय सरकारमा वन तथा वातावरण मन्त्री स्वास्थ्य मन्त्री र खानेपानी तथा सरसफाई मन्त्री समेत बनेका थिए।
०७९ को निर्वाचनमा प्रदीप २२ हजार ५३७ मत ल्याएर विजयी भएका थिए। नेपाली कांग्रेसबाट बागी बनेर उठेका अजयकुमार द्विवेदीले २० हजार ९१७ मत ल्याएका थिए।
यसपटक कांग्रेसका उम्मेदवार एवं व्यवसायी अनिल ११ हजार ८८५ मत ल्याएर तेस्रो स्थानमा सीमित भए। २०७४ मा पनि अनिल पर्सा-१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका थिए। त्यसबखत २१ हजार १३२ मत ल्याएर प्रदीप विजयी हुँदा अनिलको १६ हजार ४८१ मत आएको थियो।
हरिले होटल तथा पर्यटन व्यवसायसँगै नयाँ राजनीतिक दल रास्वपा मार्फत राजनीतिक यात्रा तय गरे। उनी २०८१ साल पुसमा रास्वपाको पर्सा जिल्ला सभापतिमा निर्वाचित भए। वीरगञ्जमा भएको प्रथम जिल्ला भेलाले उनलाई सभापतिमा निर्विरोध चयन गरेको थियो।
जिल्ला सभापति हुँदा होस वा नहुँदा पार्टी संगठन निर्माण, पार्टी विस्तार र स्थानीय तहमा नागरिकसँग प्रत्यक्ष संवादलाई उनले प्राथमिकतामा राखेका थिए। पर्सा जिल्लामा रास्वपाको संगठन सुदृढ बनाउन उनले भूमिका निर्वाह गरेकै कारण उनले प्रतिनिधि सभा सदस्यका लागि टिकट पाएका थिए।
उनी होटल तथा पर्यटन व्यवसायी संघ पर्सा, वीरगञ्जका अध्यक्ष पनि हुन्। अन्य व्यवसायीसँगको साझेदारीमा वीरगञ्जमा उनको होटल र पार्टी प्यालेसहरू सञ्चालनमा छन्।
उनको परिचय त्यतिमा मात्रै सिमित भने छैन। धेरैलाई थाहा नहुन सक्छ, नेपाली चलचित्र क्षेत्रमा समेत उनको योगदान छ। उनले ‘राजनीति’ र ‘मेला’ चलचित्र बनाएका छन्। ‘राजनीति’ व्यवसायिक रूपमा सफल हुन सकेन तर ‘मेला’लाई दर्शकले मन पराएका थिए।
सानै उमेरमा बुवा गुमाएका बुद्धि प्रसादले वि.स. ०५४ सालमा रौतहटको चन्द्र निगाहापुरबाट एसएलसी उतीर्ण गरे। उच्च शिक्षा अध्ययनका लागि वीरगञ्ज आएका उनले वीरगञ्जमै आफ्नो भविष्य देखे। त्यतिबेला मध्यम वर्गका छोराछोरीको उच्च शिक्षाको धरोहर ठाकुरराम बहुमुखी क्याम्पस नै थियो।
२०५९ सालमा आदर्शनगरमा घर भाडामा लिएर उनले क्लासिक होटल सञ्चालन गरे। यहिँबाट उनको व्यवसायिक जीवनको सुरूवात भयो।
तर वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले ०८० साउनमा होटल भवन नालामाथि बनेको भन्दै डोजर चलाएर भत्काएका थिए। जबकी घरधनीले आदर्शनगर टाउन प्लान गर्दा नै त्यो ठाउँ बिक्री भएको दावी गरिरहेका थिए। राजनीतिक प्रतिशोध साँध्नका लागि होटलमा डोजर चलाउँदै आएको बुद्धि प्रसादले बताउँदै आएका छन्।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र बुझने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै बुद्धि प्रसादले जनताले दिएको परिवर्तनको अभिभारालाई आत्मसात गर्दै अघि बढ्ने बताए
‘सुशासन, शान्ति जस्ता परिवर्तनका परिवर्तनको एजेण्डालाई समर्थन गर्दै यहाँका मतदाताले हामीलाई जिताएका छन्, त्यसैमा काम गर्छौं,’ उनले भने, ‘कानूनी राज्य स्थापना गर्छौं।’