३६ वर्षीय सुशील कुमार साह ३० हजार ७४० मत ल्याएर पर्सा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका ६१ वर्षीय नेता अजयकुमार चौरसियालाई पराजित गरे। पूर्वकानून मन्त्री अजयले ११ हजार ८९० मत पाए। उनीहरुबीच मतान्तर १८ हजार ८५० छ।
चौरसिया दुई पटक प्रतिनिधिसभा सदस्य (२०७९, २०५६), र एक पटक संविधानसभा सदस्य (२०६४) बनेका अनुभवी राजनीतिज्ञ हुन्। भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री थिए।
यसपटक अजयले ०७९ को प्रतिनिधि सभा निर्वाचनमा पाएको मतलाई जोगाउन सकेनन्।
उनी त्यतिबेला २८ हजार ४५१ मत ल्याएर विजयी भएका थिए। दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मीले २२ हजार ४४५ मत पाएका थिए ।
विमल श्रीवास्तवले अजयलाई पराजित गरेर संसदीय यात्रा तय गरेका हुन्। जनता समाजवादी पार्टी, नेपालले यसपटक ६० वर्षीय अशोक कुमार अग्रवाल ((टेमानी)लाई उम्मेदवार बनाएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ मधेश कमिटी पूर्वअध्यक्ष अशोकले २ हजार ६४२ मत पाएर चौथो स्थानमा पुगे।
यो क्षेत्रमा एमालेले कान्छी उम्मेदवार २९ वर्षीय रिमा कुमारी यादवलाई अघि सारेको थियो। ११ हजार ६०५ मत सहित उनी तेस्रो भईन् ।
वडा अध्यक्ष त्यागे, सांसद भए
सुशीलको राजनीतिक यात्रा तत्कालीन मधेशी जनअधिकार फोरमबाट सुरु भएको हो। २०६२/६३ को जनआन्दोलन तथा त्यसपछिका मधेस आन्दोलनमा उनी सक्रिय थिए।
०७९ को स्थानीय निर्वाचनबाट सुशील वीरगञ्ज महानगरपालिका वडा नं १० को वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका निवर्तमान वडाध्यक्ष राम नगिना प्रसाद कानुलाई पराजित गर्दै उनी वडा अध्यक्ष बनेका थिए ।
०७४ मा भने सुशील झिनो मतले राम नगिनासँग पराजित भएका थिए । तर उनी कार्यपालिका सदस्यमा भने निर्वाचित भएका थिए।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मुलुकको परिस्थिति फेरियो। आन्दोलनपछि बनेको नयाँ सरकारले संसद विघटन गर्दै फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको थियो।
सुशीललाई राजनीतिमा डोहोर्याउने नेताहरु एमालेमा गए। उनी त्यता गएनन्। वडा अध्यक्ष पद त्यागेर उनी माघ ५ गते रास्वपामा प्रवेश गरे।
रास्वपाको तर्फबाट पर्सा क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिँदै निर्वाचनमा होमिए ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्सा–२ मा रास्वपाको उपस्थिति कमजोर थियो । त्यतिबेला रास्वपाका उम्मेदवार दीपराज पटेलले ९७१ मत पाएका थिए।
नव निर्वाचित प्रतिनिधी सभा सदस्य सुशीलले जनतामुखी भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।