मध्यपूर्वको युद्धका कारण इरान र साउदी अरबबीच मिसाइल हानाहान भए तापनि यसै साता सुरु भएको हज तीर्थयात्राका लागि करिब ३० हजार इरानीहरू साउदी पुगेका छन्।
फेब्रुअरीको अन्त्यमा अमेरिका र इसराइलले इरान विरूद्ध युद्ध सुरु गरेपछि इरानले साउदीका ऊर्जा पूर्वाधार, नागरिक स्थल र सैन्य अखडाहरूलाई लक्षित गरी सयौँ ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणहरू गरिसकेको छ।
साउदीले आफू अमेरिकी-इसराइली सैन्य अभियानमा सहभागी नभएको इरानलाई जानकारी गराए पनि बदलामा साउदीले पनि इरानविरुद्ध कैयौँ प्रहारहरू गरेको भर्खरै खुलासा भएको छ।
यस्तो माहोलमा पनि यसै साता सुरू भएको मुसलमानहरूको हज तीर्थयात्राका लागि लागि करिब ३० हजार इरानीहरू साउदी पुगेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
तीन महिनादेखि जारी द्वन्द्व पुनः बल्झिन सक्ने चिन्ता कायमै रहे पनि हजका करिब १५ लाख विदेशी तीर्थयात्रीहरू अहिलेसम्ममा साउदी आइपुगेका छन्।
त्यसमध्ये १३१ वटा उडानमार्फत करिब ३० हजार इरानीहरू साउदी पुगेको इरानको हज तथा तीर्थयात्रा संगठनले जनाएको छ।
साउदीले हजका लागि इरानलाई हरेक वर्ष करिब ८६ हजारको कोटा तोकेको छ। युद्धका कारण इरानी तीर्थालुको संख्या घटे पनि लगभग एक तिहाइ भने साउदी पुगेका छन्।
अमेरिकाले मंगलबार इरानी मिसाइल प्रक्षेपण स्थल र समुद्रमा बम राख्ने डुङ्गाहरूलाई लक्ष्य गरी आक्रमण गरेको थियो। तर पनि पछिल्ला दिनमा इरान र साउदीबीच कुनै सैन्य भिडन्त भएको छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)