पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २४ गते दिउँसो १ः४५ बजे प्रहरीबाटै लुटिएका हातहतियार बोकेको ठूलो भीड संसद भवन छिरेर आगजनी गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
प्रदर्शनकारीहरूले ४० हजार लिटर क्षमताको डिजेल कन्टेनरमा आगजनी गर्न खोजेको प्रतिवेदनमा उल्लेख छ।
आयोगले तत्कालीन समय संघीय संसद भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक समुन्नत अधिकारीको बयानका आधारमा उक्त जानकारी दिएको हो।
'उक्त जोखिमपूर्ण घडीमा मैले आफ्नो टोलीले बोक्न सक्ने जति हातहतियार, गोलीगठ्ठा र सञ्चार साधनसहित प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीसँग मर्ज भएर सुरक्षित स्थान गई ज्यान जोगाइयो। हामी बाहिरिनुअघि संसद भवनभित्र रहेको ४० हजार लिटर क्षमताको डिजेल कन्टेनरमा आगजनी गर्न खोज्दा अश्रुग्यास २ सेल, सर्टगनको रबर कार्ट १ र ५.५६ एमएम इन्सास राइफलबाट ३ राउन्ड हवाई फायर गरी त्यसलाई सुरक्षित राख्न सकियो,' उनले आयोगसँगको बयानमा भनेका छन्।
उनका अनुसार त्यस दिन संसद भवनभित्र भीषण आगजनी, तोडफोड र लुटपाट हुँदा प्रहरीका ब्यारेक, मेस, क्यान्टिन, सिसिटिभी कक्ष, कार्यालय भवन, वाल्क-थ्रु-गेट र संसद भवनभित्र पार्किङ गरिएका सवारी साधन लगायत सम्पूर्ण प्रहरी कर्मचारीहरूको व्यक्तिगत लत्ताकपडा, काजपत्र जलेर पूर्ण रूपमा नष्ट भएका थिए।
आगजनीबाट हातहतियारका म्याग्जिन, गोलीगठ्ठा, ग्यास सेल, सुरक्षात्मक गियर, बुलेटप्रुफ सामग्री, सञ्चार सेट लगायत पूर्ण रूपमा जलेर नष्ट भएको प्रतिवेदनमा छ।
उनका अनुसार, नेपाली सेना पहिलो दिन भदौ २३ गते कर्फ्युपछि खटिएको थियो। दोस्रो दिन भने प्रदर्शनकारीहरू संसद भवनमा घुस्दा कुनै प्रतिक्रिया नजनाई २:३० बजेतिर हतियार सामग्रीसहित बाहिरिएका थिए।
सशस्त्र प्रहरीले समेत संसद भवन जोगाउन उल्लेख्य भूमिका खेल्न नसकेको उनले बताएका छन्।
भदौ २३ गते केही प्रहरीले 'लौ हामीलाई मार्न लाग्यो' भनेर सञ्चारसेटमै बोलेकोबाट पनि परिस्थित विश्लेषण गर्न सकिने प्रतिवेदनले औंल्याएको छ।
'भदौ २३ गते प्रहरीको ब्यारिकेट तोड्दै संघीय संसद भवन बानेश्वरतर्फ प्रदर्शनकारीहरू अगाडि बढे। गेट बाहिर रहेका प्रहरीमाथि प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार, लाठीले आक्रमण सुरू गरेको देखिन्छ। अनियन्त्रित भीडमध्ये केही उच्छृंखल युवाहरू उक्त भवनको दक्षिणपट्टिको गेटको बायाँतर्फको कौसीमा चढ्ने, नारा लगाउने, केहीले सोही छतमुनि प्रहरी अधिकृत बस्ने कोठामा आगजनी गर्ने गर्न थाले,' प्रतिवेदनमा उल्लेख छ।
कोही प्रदर्शनकारी दक्षिण र पूर्वी पर्खालबाट भित्र प्रवेश गर्न खोजेको र केही टिकटक लगायतमा आफ्नो बहादुरी देखाउन पनि उग्र हुँदा अवस्था जटिलतातर्फ मोडिन गएको प्रतिवेदनमा उल्लेख छ।
'सोही स्थानमा कार्यरत नेपाल प्रहरीका महिला अधिकृतले संसद भवनको दक्षिण गेटमा प्रदर्शनकारीहरूले ढुंगा लगायत विभिन्न प्रकारले आक्रमण गर्न थालेपछि 'लौ हामीलाई मार्न लाग्यो' भनी प्रहरीको सञ्चार सेटमा बोलेको रेकर्डका आधारमा पनि प्रदर्शनकारीहरूले एउटा सीमा पार गर्न थालिसकेको संकेत पाइन्छ,' प्रतिवेदनमा उल्लेख छ।
प्रदर्शनकारीहरूले घरेलु हतियार प्रयोग गरी संसद भवन परिसरको चारैतर्फको पर्खाल फोडेको पनि प्रतिवेदनमा उल्लेख छ। त्यसपछि संसद भवनको पर्खाल र गेट नाघेर, रेलिङ भत्काएर, सेन्ट्री पोष्ट कब्जा गरेको प्रतिवेदनमा जनाइएको छ।
'१ नम्बर गेट अगाडि नै आगजनी गरेर, अनधिकृत रूपमा पटक पटक गरेर अन्दाजी ५०० को संख्यामा प्रदर्शनकारीहरू प्रवेश गरेका थिए। तीमध्ये दर्जनौंलाई नियन्त्रणमा लिइएको र केहीलाई पुनः संघीय संसद भवन बाहिर लखेटिएको थियो। प्रदर्शनकारीहरूले हाइपोस्टहरूमा खटिएका नेपाल प्रहरी विशेष कार्यदल (एसटिएफ) को हातहतियार खोस्न खोजेपछि सबै पोस्ट खाली गरी ग्राउन्डमा झारिएको थियो,' संघीय संसद भवनमा सुरक्षार्थ खटिएका कमान्डर प्रहरी निरीक्षक समुन्नत अधिकारीको भनाइ उद्धृत गर्दै प्रतिवेदनमा लेखिएको छ।
त्यस्तै, कर्फ्यू आदेशमा भीड हटाउन काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले बताएको प्रतिवेदनमा उल्लेख छ।
'मैले घुँडा मुनि रबरको गोली चलाउन मौखिक आदेश दिएको तर अन्तिम बल (गोली चलाउने) प्रयोग गर्ने आदेश दिएको थिइनँ,' रिजालले भनेका छन्।
संघीय संसद भवनको कम्पाउन्ड पर्खाल भत्काइसकेको, दुई वटा गेटमा आगो लगाइसकेको, सुरक्षा पोस्टहरूमा आगो लगाइसकेको, पर्खाल नाघेर संघीय संसद भवन परिसरभित्र प्रवेश गरेर तोडफोड सुरू भइसकेको अवस्थामा प्रहरीले त्यस दिन संघीय संसद भवन परिसर सुरक्षार्थ अन्तिम बल प्रयोग नगरेको भए त्यही दिन संसद भवनमा तोडफोड हुने निश्चित रहेको बयान तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले दिएका छन्।