जेनजी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक संरचनाको क्षतिबारे छानबिन गर्न बनेको आयोगले भदौ २४ गते संसद जलाइसकेपछि १ बजे दक्षिण र पश्चिम गेटबाट आन्दोलनकारीहरू सिंहदरबार छिरेर आगो लगाउन सुरू गरेको बताएको छ।
आयोगका अनुसार प्रहरीको गोली प्रहारबाट प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित सर्वसाधारण भदौ २४ बिहानैदेखि सडकमा ओर्लिएका थिए। बिहानैदेखि सुरू भएको आन्दोलन दिउँसोसम्ममा उग्ररूप लिँदै विध्वंस मच्चियो। राज्यका तीन प्रमुख अंगका भवनहरू जलेर नष्ट भए।
यीमध्ये संसद भवनका रूपमा प्रयोग गरिँदै आएको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सुरूमा जलेको थियो।
त्यसपछि सिंहदरबारलाई प्रदर्शनकारीले पश्चिम र दक्षिणबाट घेराउ गरेर सिंहदरबार जलाएको भन्ने विवरणहरू कार्की आयोगले उल्लेख गरेको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार पश्चिमतिरको एउटा सिसिटिभीले दिउँसो १ बजेर २ मिनेटमा भद्रकालीबाट आन्दोलनकारीहरू सिंहदरबारको पश्चिम गेटतर्फ अगाडि बढिरहेको देखाउँछ। त्यतिबेला नेपाल प्रहरीको वाटर क्यानन तथा सुरक्षाकर्मीहरू समेत आफ्नो ‘फर्मेशन’मा ड्युटी लिई रहेको देखिन्छ।
तीन मिनेटभित्रै आन्दोलनकारीहरूमध्ये आधाले प्रदर्शनी मार्गतर्फ मोडिएर उपत्यका ट्राफिक प्रहरी अगाडिसम्म राखिएका डिभाइडहरू तोडफोड गर्न सुरू गर्छन्।
१ बजेर १२ मिनेटमा प्रदर्शनी मार्गतिरबाट ठूलो संख्यामा भीड हातमा लठ्ठी, फलाम र बाँस लिएर आएको भीड सिंहदरबार पश्चिम गेटमा जम्मा हुन्छ। प्रहरीको व्यारिकेट समेत तोडफोड गरी मुख्य बाटोमा रहेको टावरमा आगजनी गर्छन्।
१:२६ मिनेटमा सुरक्षाकर्मीहरू मेन गेटबाट सानो गेटतर्फ सरिसकेको देखिन्छ। यतिखेरसम्म आन्दोलनकारी सिंहदरबारको पश्चिम गेटमा चढ्न सुरू गरेको देखिन्छ।
१:४० बजे पहिलोपल्ट आन्दोलनकारी सिंहदरबार पश्चिम गेटभित्र छिरिसकेको देखिन्छ।
सिंहदरबारको दक्षिण गेटमा भने २ बजेर ५५ मिनेटमा तोडफोड तथा आगजनी गर्दै गरेको सिसिटिभी फुटेजको विवरण प्रतिवेदनमा उल्लेख छ।
तीन बजेर ३ मा पहिलो पल्ट आन्दोलनकारीहरू प्रधानमन्त्री परिसर अगाडि पुगेका छन्। १५:०७ मा आन्दोलनकारीहरूले पार्किङमा रहेको गाडीहरू आगजनी तथा तोडफोड गरेको प्रतिवेदनमा उल्लेख छ।
सवा तीन बजेतिर सिंहदरबारमा ठूलो आगो दन्किन सुरू गरेको देखिने प्रतिवेदनमा जनाइएको छ।
सिंहदरबार सुरक्षार्थ खटिएका एसएसपी राजेश उप्रेतीको बयान अनुसार सुरूमा भद्रकालीतर्फबाट झण्डै ४ हजार प्रदर्शनकारीहरू सिंहदरबारतिर आएका थिए।
‘मुख्य प्रवेशद्वार बाहिरै आधा घण्टासम्म सम्झाइबुझाइ गर्दै रोक्ने प्रयास गरियो। तर समयसँगै भीडको मनोविज्ञान एकाएक परिवर्तन भयो, शान्त देखिएको भीड क्रमशः आक्रामक बन्दै हामीमाथि धकेल्दै पर्खालसम्म आइपुग्यो,’ उनले आयोगलाई भनेका छन्।
उनका अनुसार सुरूमा प्रहरीले ग्यास सेल प्रयोग गरी भीडलाई पछि हटायो, तर पुनः भीड अझ उग्र बनेपछि टोलीलाई साइडको सानो ढोकाबाट भित्र प्रवेश गराउने निर्णय गर्नुपर्यो।
‘यस क्रममा मैले भीड नियन्त्रण कति जटिल र जोखिमपूर्ण हुन्छ भने गहिरो रूपमा महसुस गरेँ। अघिल्लो दिनका घटनाका कारण सुरक्षाकर्मीहरूमा केही हिचकिचाहट पनि देखिन्थ्यो र रेडियो सेटबाट अन्य स्थानमा भइरहेको तोडफोड र आगजनीका खबरले मानसिक दबाब थप बढेको थियो,’ उनले आयोगसमक्ष दिएको बयानमा उल्लेख छ, ‘जब भीड कुनै परिणामको परवाह नगरी, आफ्नो ज्यानको समेत वास्ता नगर्ने अवस्थामा पुग्छ, त्यस्तो भीड झनै घातक हुने रहेछ भन्ने अनुभव भयो।’
भीडभित्र आज सुरक्षाकर्मीले गोली चलाउँदैन अगाडि बढ भन्ने कुरा समेत आफूले सुनेको उनले बताएका छन्। त्यो दिन आफ्नो कमाण्डमा रहेको टोलीबाट कुनै पनि प्राणघातक हतियार प्रयोग गरेर फायर नगरिएको पनि उनले भनेका छन्।
‘करिब दिउँसो ३:१० बजेसम्म सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ग्यासगन र लाठीचार्जको प्रयोग गरी प्रदर्शनकारीहरूलाई भित्र प्रवेश गर्न नदिने प्रयास गर्यो, दुई पटकभित्र पसेका प्रदर्शनकारीहरूलाई समेत सोही माध्यमबाट पठाइयो। तर पश्चिम गेटतर्फ केही व्यक्तिहरूले एस.एल. आर, हतियार हामीतर्फ तेस्र्याउन थालेपछि अवस्था गम्भीर बन्यो,’ उनले बयानमा भनेका छन्।
त्यसपछि आफूहरूसँग दुई विकल्प मात्र भएको उनले बताएका छन्।
‘हतियारधारीमाधि गोली चलाउने वा पछि हट्ने। गोली चलाउँदा ठूलो मानवीय क्षति हुने सम्भावना देखे र स्वविवेक प्रयोग गर्दै गोली नचलाउने निर्णय गरे। त्यसका लागि कुनै आदेश माग्ने अवस्था पनि रहेन। यसै क्रममा म एक जना महिला प्रहरीलाई भीडले तानेको देखेर उनलाई उद्धार गर्न अगाडि गएँ। त्यसपछि नजिकैबाट टाउकोमा इँटा प्रहार भई म सामान्य घाइते भएँ,’ उनले भनेका छन्, ‘मसँगै रहेका केही प्रहरी कर्मचारीहरू पनि सामान्य रूपमा घाइते भए, तर कसैलाई गम्भीर चोटपटक लागेको थिएन। नेपाली सेनाको उपस्थिति पनि त्यहीँ थियो र भीडलाई पछि हटाउन हवाई फायर समेत गरिएको थियो, तर सेनाको आन्तरिक डपुटी र निर्णय प्रकियामारे म प्रत्यक्ष जानकारी राख्दिनँ।’
सुरूमा देखिएका जेनजी युवाहरू पछि हराउँदै गएको उनले बताएका छन्।
‘आन्दोलनको स्वरूप हेर्दा सुरूमा देखिएका जेनजी युवाहरू पछि हराउँदै गए र सिंहदरबार जलाउने नियत राखेका व्यक्तिहरू अगाडि आए। त्यसैले यो आन्दोलनमा योजनाबद्ध घुसपैठजस्तो लाग्छ। जेनजी युवाहरू आफै पनि सिंहदरबारभित्र प्रवेश गर्नु हुँदैन भनिरहेका थिए। तर पछि देखिएको हिंस्रक गतिविधि पूर्वयोजना बिना भएजस्तो लाग्दैन,’ उनले भनेका छन्।
प्रतिवेदनमा सिंहदरबार जलाउनेहरू को को हुन् भन्नेबारे किटान गर्न नसकिएको आयोगको प्रतिवेदनमा उल्लेख छ।
‘भाद्र २४ गते घटनामा संलग्न भएका व्यक्तिहरूको सम्बन्धमा निर्क्यौल गर्न आयोगलाई अहिलेसम्मको छानबिनबाट अभियोजनको लागि सिफारिस गर्न मिल्ने गरी ठोस सबुत प्रमाण संकलन गर्न सकिएको छैन,’ आयोगले भनेको छ, ‘आयोगलाई सहयोग पुग्ने गरी कुनै गुप्तचर रिपोर्ट सरकारी वा गैह्र सरकारी निकायबाट हालसम्म प्राप्त हुन सकेको छैन।’
आफ्नो कार्यादेश निश्चित र अवधि छोटो भएको पनि आयोगले जनाएको छ।
‘आयोगलाई प्राप्त कार्यदेश निश्चित तर छोटो अवधिको लागि रहेकोले देशभरिका घटनाहरू विस्तृत रूपमा छानबिन गर्ने तत्काल कोही कसैलाई दोषी प्रमाणित गर्न समय र जनशक्ति अभावका कारणले आयोगले सकेन,’ प्रतिवेदनमा भनिएको छ, ‘तथापि आयोगले भाद्र २४ गतेको संघीय संसद भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत, निजी व्यापारिक प्रतिष्ठानहरू, सरकारी तथा निजी भवन तथा विभिन्न पार्टी कार्यालयहरू लगायतका स्थानहरू उक्त दिन घटना हुँदाको समयमा सोही स्थानहरूका टेलिफोन टावरहरूमा उपलब्ध बिटिएस डाटा का आधारमा भौतिक रूपमा उपस्थित भएका व्यक्तिहरूको टेलिफोन नम्बरहरू नेपाल दुरसञ्चार र एनसेलबाट माग गरी त्यस कच्चा डाटालाई अध्ययन गरी स्थानगत टेलिफोन नम्बरहरू प्रतिवेदनमा उल्लेख गरेका छौँ।’
अब सरकारले विज्ञ सहितको अनुसन्धान टोली गठन गरी उपलब्ध अन्य प्रमाणहरू खोजेर अभियुक्तसम्म पुग्न विस्तृत अनुसन्धान गर्नुपर्ने आयोगले बताएको छ।
‘तत्कालै अभियुक्तसम्म पुग्न विस्तृत अनुसन्धान गर्न आवश्यक रहेको देखिन्छ,’ आयोगले भनेको छ।
तर आयोगले सिंहदरबार, सर्वोच्च अदालत, सपिङ मल लगायत सरकारी भवन र व्यापारी प्रतिष्ठान तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको पृष्ठभूमिबारे उल्लेख छ।
‘त्यस दिन व्यक्तिका घर, सपिङ मल, सरकारी कार्यालयहरू, व्यापारिक प्रतिष्ठानहरू, होटलहरू लुट्ने, तोडफोड गर्ने, आगजनी गर्ने, प्रहरीका हतियार लुट्ने र प्रहरीमाथि आक्रमण गर्ने, आगो लगाउने र विभिन्न राजनीतिक दलका व्यक्तिहरूमाथि आक्रमण गर्ने जस्ता कार्य आपराधिक मनोवृत्तिबाट प्रभावित भएको देखिन्छ,’ आयोगले भनेको छ, ‘सिसिटिभी फुटेज र व्यक्तिहरूसँगको सोधपुछबाट यसमा केही सडक व्यापारीदेखि कवाडी संकलन गर्ने, ग्यारेजमा काम गर्ने मानिसहरू, बस, ट्रक लगायतका सवारी साधनहरूका चालक, सह-चालकहरू, उपत्यका बाहिरबाट आएका निर्माण कार्यमा संलग्न व्यक्तिहरू, वर्कसपमा काम गर्ने व्यक्तिहरू, सुकुम्बासी सम्मका व्यक्तिहरूको संलग्नता रहेको देखिन्छ,’ आयोगले भनेको छ, ‘कारागारबाट भागेका र प्रहरीको हिरासत कक्षबाट छुटेका केही व्यक्तिहरूको पनि यसमा सहभागिता रहेको थियो। केही स्थानहरूमा राजनीतिक प्रतिशोध साँध्न र अन्य केही ठाउँमा व्यक्तिगत रिसइबी साँध्न पनि अर्काको घरमा आगजनी गर्ने कार्य गरेको देखिन्छ।’
सिंहदरबार, संसद र सर्वोच्च अदालत, राष्ट्रपति भवन जस्ता ठूला भवन जलाउन विशेष प्रज्वलनशील पदार्थको प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ।
‘सिंहदरबार, संघीय संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन जस्ता ठूला भवन जलाउनमा विशेष प्रज्वलनशील पदार्थको प्रयोग गरिएको थियो। केही विशेष प्रकारका कागजात भएका ठाउँमा टार्गेट गरेर आगो लगाइएको थियो। खासगरी आयोगको स्थलगत भ्रमणका क्रममा प्राय: सबै ठाउँमा आक्रमणको कार्यशैली एकै प्रकारको देखिन्छ,’ उनले भने।
कुनै कार्यालय/ घरमा आक्रमण गर्दा सबभन्दा पहिला सिसिटिभी ध्वस्त गर्ने, पानीको ट्यांकी खाली गरी भत्काउने काम गरेको पाइएको बताएको छ।
‘कुनै कार्यालय/ घरमा आक्रमण गर्दा सबभन्दा पहिला सिसिटिभी ध्वस्त गर्ने, पानीको ट्यांकी खाली गरी भत्काउने काम गरेको, सरकारी कार्यालयहरूमा रहेको डाटा सेन्टर भत्काउने र कम्प्युटर कक्षमा आक्रमण गर्ने, ततपश्चात कागजातहरू जलाउने, लुटपाट गर्ने, अन्त्यमा ती भवनमा ग्यास सिलिण्डरमा आगजनी गरी भवनभित्र फाल्ने सो उपलब्ध नभएमा बोतलमा पेट्रोल हाली घर भित्र फ्याँकी आगो लगाउने गरेको पाइयो,’ आयोगले भनेको छ।
आयोगका अनुसार सिंहदरबार परिसरभित्र विभिन्न मन्त्रालयहरूमा रहेका फायर एक्सटिङ्गुइसर खोलेर त्यसमा भएको केमिकल फालिएको थियो।
‘सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन शितल निवास, व्यापारीका गोदाम घरहरू, भाटभटेनी स्टोरहरू, कान्तिपुर पब्लिकेशन, हिल्टन होटल, हायात लगायतका होटल जस्ता ठाउँहरूमा भने रसायन, पेट्रोल बम (लगायत अति प्रज्वलनशील पदार्थ प्रयोग गरेको पाइन्छ। केही आवास घर र भाटभटेनीमा लुटपाट गरी आगजनी गरी लुटपाट गर्न खोज्दा केही लुटेराहरू निस्किन नसकी जलेर मृत्यु भएको पनि देखिन्छ।