अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो परिमाणमा रक्षा बजेट प्रस्ताव गरेका छन्।
उनले आगामी आर्थिक वर्षका लागि १५ खर्ब डलर रक्षा बजेट प्रस्ताव गरेको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले जनाएको छ।
उनको प्रस्ताव अमेरिकी कांग्रेसले पारित गरे यो इतिहासकै ठूलो रक्षा बजेट हुने पनि वासिङ्टन पोस्टको दाबी छ।
ट्रम्प प्रशासनले रक्षा खर्चमा उल्लेख वृद्धि गर्दै गैररक्षा खर्चमा ठूलो कटौती प्रस्ताव गरेको हो।
स्वास्थ्य अनुसन्धान, विद्यालदेखि उच्च शिक्षा, नवीकरणीय ऊर्जा तथा जलवायु कार्यक्रम, न्यून आय वर्गका लागि ऊर्जा सहयोग र सामुदायिक विकास कार्यक्रम लगायत विभिन्न शीर्षकमा ७३ अर्ब डलर खर्च कटौती प्रस्ताव गरेका छन्।
सन् २०२७ को बजेट प्रस्तावले रक्षा खर्चमा ४४ प्रतिशत वृद्धि गर्ने र थप ३५० अर्ब डलर हतियार खरिद तथा रक्षा औद्योगिक आधार विस्तारका लागि स्वीकृति माग गरेको छ।
ह्वाइट हाउसले यो लगानीले अमेरिकी सैन्य शक्ति, तयारी र क्षमतालाई विश्वकै सबैभन्दा शक्तिशाली बनाइराख्ने दाबी गरेको छ।
यससँगै न्याय विभागका लागि १३ प्रतिशत अर्थात् ४०.८ अर्ब डलर वृद्धि प्रस्ताव गरिएको छ। यसले आप्रवासन, गिरोह र लागुऔषध सम्बन्धी अपराध नियन्त्रणमा सहयोग पुर्याउने बताइएको छ।
रक्षा बजेट वृद्धि अन्तर्गत 'गोल्डेन डोम' क्षेप्यास्त्र रक्षा प्रणाली, सैनिकको तलबमा ७ प्रतिशत वृद्धि, जहाज निर्माणमा अर्बौं डलर लगानी तथा सैन्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता विकासका कार्यक्रम समावेश रहेको वासिङ्टन पोस्टले जनाएको छ।
वातावरण संरक्षण एजेन्सीको बजेट ५२ प्रतिशत, विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय कार्यक्रम ३० प्रतिशत, श्रम विभाग २६ प्रतिशत र कृषि विभाग १९ प्रतिशतले घटाउने प्रस्ताव गरिएको छ।
साथै पूर्व राष्ट्रपति जो बाइडेनको पूर्वाधार कानूनअन्तर्गत नवीकरणीय ऊर्जा परियोजनामा छुट्याइएको १५.२ अर्ब डलर र राष्ट्रिय स्वास्थ्य संस्थानको ५ अर्ब डलर कटौती गर्ने योजना पनि अघि सारिएको छ।
ट्रम्पको प्रस्ताव अनुमोदन हुन अमेरिकी संसदको दुवै सदनबाट पारित हुनुपर्छ। तल्लो सदनमा रिपब्लिकन पार्टीको झिनो बहुमत भए पनि सिनेटमा भने ट्रम्पलाई अफ्ठ्यारो पर्न सक्छ।
कंग्रेसबाट पारित नै नगराई इरान विरूद्ध युद्धमा होमिएको भन्दै डेमोक्र्याटहरू ट्रम्पको प्रशासनको आलोचना गर्दै आइरहेका छन्। खर्च अत्यधिक भएपछि यसले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने दाबी गर्दै डेमोक्र्याटहरू ट्रम्पको युद्ध नीति विरूद्धमा उभिने आकलन छ।
अमेरिका फेब्रुअरी २८ देखि इरानसँग युद्धमा छ।
इरान युद्धमा अमेरिकाको ठूलो परिमाणमा प्रत्यक्ष खर्च भइसकेको अनुमान छ।
युद्धको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलरभन्दा बढी खर्च भएको विवरण त्यतिबेला पेन्टागनका अधिकारीहरूले युएस क्यापिटलमा सांसदहरुलाई गोप्य ब्रिफिङ गरेका थिए।
प्रारम्भिक आक्रमणमा एजीएम–१५४ ग्लाइड बमजस्ता महँगा हतियार प्रयोग गरिएको थियो। यसको मूल्य प्रति बम करिब ५ लाख ७८ हजारदेखि ८ लाख ३६ हजार डलरसम्म पर्ने भनिएको थियो।
यसले गर्दा युद्धको पहिलो सातामै अर्बौं खर्च भएको थियो।
त्यसयता अमेरिकाले इरान युद्धमा कति खर्च गर्यो भन्ने आधिकारिक तथा स्रोतहरुलाई उद्धृत गरिएका रिपोर्टहरू पनि सार्वजनिक भएको छैन। यद्यपि पहिलो साताको तुलनामा इरान युद्धमा अमेरिकाको प्रतिदिन खर्च घट्दै गएको आकलन गरिएको छ।
वासिङ्टन डिसीस्थित अमेरिकाकै नीति अनुसन्धान संस्था अमेरिकन इन्टरप्राइज इन्स्टिच्युट (एइआई)ले अप्रिल १ सम्म प्रत्यक्ष खर्च नै ३५ अर्ब डलर भइसकेको अनुमान गरेको छ। यो रकम युद्ध सञ्चालनमा मात्रै भएको सिधा खर्च हो।
त्यसबाहेक ऊर्जा, बजार र दैनिक जीवनमा असर जोड्दा वास्तविक लागत त्योभन्दा धेरै हुनसक्ने एईआईले जनाएको छ। उसको रिपोर्टले इरानविरूद्धको युद्धमा समग्रमा दैनिक १.४ अर्ब डलर खर्च भइरहेको भनेको छ।
युद्ध खर्च बढेपछि ट्रम्पले अरब मुलुकहरूबाट त्यो खर्च उठाउने इच्छा समेत राखेका थिए।
गत साता ह्वाइट हाउसमा पत्रकारहरूले अरबका अन्य मुलुकहरूले पनि अमेरिकालाई इरान विरूद्धको युद्ध खर्च तिर्नुपर्ने हो? भनेर प्रश्न गरेका थिए।
'राष्ट्रपतिले यसबारेमा ती देशहरूसँग कुरा गर्न सक्नुहुन्छ। यसमा उहाँको चासो पनि छ,' ट्रम्पका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले त्यतिबेला भनेकी थिइन्।
अमेरिकाले यसअघि सन् १९९० को इराक विरुद्धको युद्धमा विभिन्न देशहरूको गठबन्धन नेतृत्व गरेको थियो। सैन्य खर्च भनेर त्यतिबेला जर्मनी, जापान र अरब मुलुकहरूले करिब ५४ अर्ब डलर अमेरिकालाई दिएका थिए।
तर अहिलेको युद्ध र त्यति बेलाको युद्ध भने फरक छ। यसपालि अमेरिकाले अन्य राष्ट्रहरुसँग छलफल नै नगरी इसराइलसँग मिलेर इरानमा आक्रमण गरेको थियो।
युद्ध खर्च बढ्दै जाँदा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँग युद्ध सञ्चालनका लागि मात्रै २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको थियो।
युद्ध सुरू भएको तेस्रो साता बित्नै लाग्दा रक्षा मन्त्रालयले २०० अर्ब डलरभन्दा बढी बजेट माग गर्दै ह्वाइट हाउसलाई प्रस्ताव पठाएको थियो।
ट्रम्पनिकट अमिरिकी राजनीतिक टिप्पणीकार सिन ह्यानितीले भने युद्धविराम सम्झौतामा इरानलाई नै युद्ध खर्च तिर्न वाध्य पार्ने बुँदाहरू राख्नुपर्ने बताएका छन्।
'उनीहरूले सम्पूर्ण सैन्य खर्च तेलमार्फत अमेरिकालाई फिर्ता गर्न सहमत हुनुपर्छ,' उनको भनाइ उद्धृत गरेर अल जजिराले लेखेको छ।
यद्यपि इरानले उल्टै अमेरिकाले क्षतिपूर्ति तिर्नुपर्ने माग गरेको छ। कुटनीतिक वार्ता हुँदै गर्दा इरानमा हमला भएको बताउँदै इरानले त्यसको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्ने अडान राख्दै आएको छ। राष्ट्रपति ट्रम्पले इरानमा थप हमला गर्नका लागि ठाउँ नै बाँकी नरहेको बताउँदै आएका छन्।
इरानलाई ध्वस्त पारेको ट्रम्पले दाबी गरे पनि इसराइलले भने आजका दिनसम्म इरानमा मिसाइल र ड्रोन हमला गरिरहेको छ। जबाफमा इरानले पनि इसराइल र मध्यपूर्वका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर मिसाइल र ड्रोन हानिरहेको छ।
पछिल्ला दिनहरूमा इरानले अमेरिकी लडाकू विमानहरू पनि खसालेको दाबी गरेको छ। यसले पनि इरान युद्धमा अमेरिकी खर्च आकलनभन्दा धेरैले बढाएको छ।