रूसले सन् २०२२ फेब्रूअरीमा युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ अध्ययनरत भारतीय विद्यार्थीहरू फसेका थिए। उनीहरूलाई युक्रेनको सुमी सहरबाट फिर्ता ल्याउन भारतले केही समय उक्त क्षेत्रमा सैन्य कारबाही नचलाउन रूस र युक्रेन दुवैसँग आग्रह गरेको थियो।
युद्धमा फसेका आफ्ना नागरिकलाई कूटनीतिक पहल गरेर फिर्ता ल्याउनु कुनै पनि सरकारको कर्तव्य हो। युद्धग्रस्त क्षेत्रबाट आफ्ना नागरिक सकुशल फिर्ता ल्याउनु तारिफयोग्य कार्य पनि हो।
तर आफ्नो व्यक्तिगत छवि बनाउन अलिक बढी नै ध्यान दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो सफलतालाई धेरै नै भजाए।
कतिसम्म भने, भारतीय जनता पार्टी (भाजपा) ले सन् २०२४ को लोकसभा निर्वाचनअघि विद्यार्थी फर्काउन मोदीले रूस–युक्रेनको युद्ध नै रोकेको भनेर भिडिओ विज्ञापन नै बजायो। तर, त्यो निर्वाचन भएको दुई वर्षपछि पनि रूस–युक्रेन युद्ध जारी नै छ।
अर्कातर्फ, भारतको चिरप्रतिद्वन्द्वी पाकिस्तानले भने विश्व अर्थतन्त्रलाई नै खतरामा पारेको अमेरिका–इरान युद्ध साँच्चै रोकेको छ।
आज बुधबार बिहानसम्म इरानले 'स्ट्रेट अफ हर्मुज' नखोले इरानी सभ्यता नै ध्वस्त पार्ने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि युद्धविराम घोषणा गरेका छन्।
सफलताको श्रेय अरूलाई खासै नदिने, बरू अरूले गरेको कामको पनि जस लिने ट्रम्पले समेत पाकिस्तानको पहलमा युद्धविराम भएको खुलाएका छन्।
उनले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ र सेना प्रमुख जनरल असिम मुनिरको नामै लिएर उनीहरूको अनुरोधमा युद्धविराम भएको घोषणा गरेका छन्।
झन्डै तीन साताअघि अमेरिका–इरान युद्ध रोक्न पाकिस्तानले पहल गर्न थालेको समाचार बाहिरिएपछि नै भारतलाई अप्ठ्यारो भएको थियो। भारतको युद्धविराम क्रममा कुनै भूमिका समेत नहुँदा पाकिस्तानले त्यसको पहल गर्नु आफूलाई 'विश्वगुरू' ठान्ने मोदीलाई पच्ने कुरै भएन।
इरान युद्धले खाना पकाउने ग्यास र तेल आपूर्तिमा समस्या पारेपछि मार्च २५ मा भएको सर्वदलीय बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले 'भारत पाकिस्तानजस्तो दलाल नभएको' टिप्पणी नै गरे।
आफ्ना विद्यार्थी फर्काउन केही घन्टा युक्रेनको एक ठाउँमा सैन्य कारबाही रोक्दा समेत युद्ध रोकेको दाबी गर्ने सरकारका विदेश मन्त्रीले साँच्चै अमेरिका–इरान युद्ध रोक्न पहल गर्दा पाकिस्तानलाई 'दलाल' भन्नु 'अमिलो अंगुर' को उत्कृष्ट उदाहरण थियो।
जयशंकरले व्यक्तिगत इर्ष्याका कारण पनि त्यस्तो क्षुद्र टिप्पणी गरेका हुन सक्छन्।
पछिल्ला वर्ष अन्तर्राष्ट्रिय मञ्चमा तीखा अभिव्यक्ति दिएर भारतको साख बढाएको भन्दै मोदी समर्थकले जयशंकरबारे 'लेजर आइज' र 'सिग्मा मेल' भनेर धेरै प्रशंसनीय 'मिम' बनाएका छन्। त्यस्तो प्रशंसामा रमाएका जयशंकरका लागि पाकिस्तानको तारिफ लायक मध्यस्थता बिझाएको पनि हुन सक्छ।
मोदी सत्तामा आएपछि सरकारी मुखपत्र जस्तै बनेको भारतीय मिडियामा पाकिस्तानको मध्यस्थताबारे खासै चर्चा भएको छैन। तैपनि, मोदीको आलोचना गर्ने हिम्मत भएका केही सीमित मिडियामा पछिल्ला केही दिनमा यसबारे समाचार आउन थालेका थिए।
भारतका अन्तर्राष्ट्रिय स्तरका भूराजनीतिविद् सुशान्त सिंहले मात्रै पछिल्लो एक सातामा भारतको 'क्याराभान' र अमेरिकाको 'फरेन पोलिसी' पत्रिकामा यसबारे लेखेका छन्। भारतीय सेनाका पूर्वअधिकृत सिंहले ती दुवै लेखमा विश्व मञ्चमा मोदीको घट्दो साखको चर्चा गरेका छन्।
घरेलु राजनीतिक फाइदाका लागि अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका अप्ठ्यारा पाटाभन्दा मोदीको व्यक्तिगत छविको भाष्यमा बढी ध्यान दिँदा भारतलाई घाटा भएको भन्दै उनले आलोचना गरेका छन्।
पाकिस्तानले मध्यस्थताको प्रयास गर्दा समेत असहज भएको भारतलाई त्यो प्रयास सफल बनेपछि झन् अप्ठ्यारो पर्नेछ।
विगतमा असंलग्न नीति अँगालेका कारण भारतको परम्परागत रूपमा इरानसँग राम्रो सम्बन्ध थियो। तर पछिल्लो समय भाजपाको मुसलमान विरोधी उग्र नीति र ट्रम्पलाई जसरी पनि खुसी पार्ने मोदीको उद्देश्यका कारण इरानसँगको भारतको सम्बन्धमा पहिलेजस्तो हार्दिकता छैन।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमाथि हमला गर्नुभन्दा केही दिनअघि ठूलो तामझामका साथ मोदीले इसराइल भ्रमण गरेकाले भारतलाई झन् अप्ठ्यारो परेको थियो। संयुक्त आक्रमणको सुरूआतमै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनी मारिए पनि भारतले कुनै प्रतिक्रिया दिएन।
खमेनीको हत्या भएको पाँच दिनपछि मार्च ५ मा भारतका विदेश सचिव विक्रम मिस्री दिल्लीस्थित इरानी दूतावासमा गएर समवेदना प्रकट गरे। त्यसपछि बल्ल भारतलाई हर्मुजबाट केही मात्रामा ग्यास र तेल ल्याउने बाटो खुलेको थियो।
इरानसँगको परम्परागत सम्बन्ध कायम राखेको भए युद्ध रोक्न भारतले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्थ्यो। तर मोदीको नीतिका कारण भारत यो मामिलामा भूमिकाहिन दर्शकमा सीमित भयो।
अर्कातर्फ, मोदीले अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउन खोजेको पाकिस्तानले भने सारा संसारका लागि टाउको दुखाइ बनेको युद्ध रोक्न प्रमुख भूमिका खेल्यो।
अब पाकिस्तानले किन अमेरिका–इरान युद्ध रोक्ने भूमिका खेल्न सक्यो भन्नेबारे चर्चा गरौं।
पहिलो कुरा त, इरान र पाकिस्तान झन्डै एक हजार किलोमिटर सिमाना जोडिएका छिमेकी राष्ट्र हुन्। पाकिस्तान छुट्टै देश नबन्दै इरानसँग एकीकृत भारतको सुमधुर सम्बन्ध रहेको फाइदा पाकिस्तानलाई पनि भयो।
सुन्नी मुसलमानको बाहुल्य भए पनि पाकिस्तानमा लगभग चार करोड शिया धर्मावलम्बी छन्। शिया बहुल इरानपछि पाकिस्तानमा सबभन्दा बढी शिया जनसंख्या भएकाले पनि दुई देशबीच राम्रो सम्बन्ध छ।
त्यस्तै, दुवै देशमा सेना शक्तिशाली छ। इरानमा धार्मिक शासन भए पनि उक्त शासन टिकाउन स्थापना गरिएको 'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजिसी) पछिल्ला दशकमा शक्तिशाली बन्दै गएको छ। झन्डै चार दशक शासन चलाएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएर देश युद्धमा रहेका बेला आइआरजिसी झन् शक्तिशाली भएको छ।
भारतबाट टुक्रिएदेखि नै पाकिस्तानमा पनि सेना हाबी छ। त्यसैले सेना हाबी भएका दुई देशका जनरलहरूको राम्रो सम्बन्ध हुने नै भयो। अहिले पाकिस्तानमा शासन चलाइरहेका सेना प्रमुख मुनिरको पनि आइआरजिसीका जनरलहरूसँग राम्रो सम्बन्ध छ। दुवै देशले सन् २०२४ जनवरीमा एकअर्काको देशभित्र रहेका आतंककारीमाथि बमबारी गरे पनि त्यो सम्बन्ध बिग्रिएको छैन।
अर्कातर्फ, गत वर्ष भएको भारत–पाकिस्तान युद्धपछि ट्रम्पसँग राम्रो सम्बन्ध बनेकाले पनि सेना प्रमुख मुनिरलाई मध्यस्थता गर्न सजिलो भयो।
नोबेल शान्ति पुरस्कार पाउने उत्कट चाहना भएका ट्रम्पले भारत–पाकिस्तान युद्ध रोक्न आफूले मध्यस्थता गरेको दाबी गरेका थिए। उनले कश्मीर मामिलामा समेत मध्यस्थता गर्ने प्रस्ताव राखेका थिए।
भारतले दशकौंदेखि पाकिस्तानसँगको असमझदारी शान्तिपूर्ण रूपमा द्विपक्षीय वार्ता गरेर हल गर्ने भन्दै आएको छ। त्यसमा तेस्रो पक्षको संलग्नता र मध्यस्थता अस्वीकार्य रहेको बताउने गरेको छ। त्यसैले दुई देशको पहलले युद्धविराम भएको भारतले दाबी गर्यो। ट्रम्पले भने बारम्बार आफूले मध्यस्थता गरेको भनिरहे।
ट्रम्पलाई खुसी पार्न भारतसँगको युद्ध रोकेको भन्दै पाकिस्तानले भने औपचारिक रूपमा उनलाई गत वर्षको नोबेल शान्ति पुरस्कारका लागि सिफारिस नै गर्यो। भारतले भने ट्रम्पले मध्यस्थता गरेको तथ्य स्वीकार गरेन।
त्यस कारण मोदीसँग रूष्ट भएका ट्रम्प मुनिरसँग भने खुसी भए।
उनले मुनिरलाई ह्वाइट–हाउसमा भेट दिए। यसरी सेना प्रमुखको मात्रै हैसियतमा अमेरिकी राष्ट्रपतिसँग भेट गर्ने मुनिर पहिलो पाकिस्तानी जनरल बने।
यसरी मुनिरले पछिल्लो वर्ष ट्रम्पसँग बनेको सम्बन्धको भरपूर फाइदा उठाएर युद्ध रोक्न मध्यस्थता गरे। ट्रम्प र मुनिरको सम्बन्ध भारतका कारण बलियो भएकाले पनि मध्यस्थतामा पाकिस्तानले हासिल गरेको सफलता भारतका लागि थप बिझाएको हो।
अमेरिका–इरान युद्ध रोक्न पाकिस्तानको आफ्नै स्वार्थ पनि छ। हुन त युद्धका कारण भाउ बढेर तेल आयात गर्नुपर्ने सबै देशलाई आर्थिक घाटा भएको छ। हर्मुज बन्द भएकाले मध्यपूर्वबाटै तेल आयात गर्ने भारत, पाकिस्तान लगायत एसियाली देशलाई मूल्यको मात्र नभई पेट्रोलियम पदार्थको उपलब्धताकै पनि समस्या परेको थियो।
पाकिस्तानलाई भने युद्ध रोक्ने अझ ठूलो स्वार्थ थियो। गत सेप्टेम्बरमा पाकिस्तान र साउदी अरेबियाले आपसी रक्षा सम्झौता गरेका थिए। तेल बेचेर धनी बनेको साउदीले लामो समयदेखि पाकिस्तानलाई आर्थिक सहायता गरिरहेको छ। एक राष्ट्रमाथि गरिएको हमलालाई दुवैमाथिको आक्रमण मान्ने उक्त सम्झौता गरेपछि भने पाकिस्तान साउदीसँग सैन्य मामलामा पनि औपचारिक रूपमा जोडियो।
अमेरिका–इरान युद्धको सुरूदेखि नै इरानले साउदी लगायत छिमेकी राष्ट्रमा लगातार प्रहार गरिरहेको छ। अहिले युद्धविराम नभएर लडाइँ चर्किएको भए साउदीले पनि इरानमाथि आक्रमण गर्न आफ्नो सेना परिचालन गर्ने सम्भावना थियो। साउदी पनि सहभागी भए रक्षा सम्झौताका कारण पाकिस्तान पनि युद्धमा सामेल हुन साउदीको दबाब पर्थ्यो।
त्यसैले युद्ध चर्किए आफू पनि होमिनुपर्ने त्रासका कारण पाकिस्तानले युद्धविरामका लागि त्यत्रो मिहिनेत गरेको हुन सक्छ।
व्यक्तिगत स्वार्थकै लागि भए पनि पाकिस्तानले युद्ध रोक्न सफल मध्यस्थता गरेर सारा विश्वलाई गुन लगाएको छ। सँगसँगै, आफ्ना कारण बनेको ट्रम्प–मुनिर सम्बन्धले पाकिस्तानले हासिल गरेको ठूलो कूटनीतिक सफलताले भारतलाई झन् धेरै पिरोल्ने देखिन्छ।
***