२०८२ साल ऋषि धमलाका लागि दुई हिसाबले महत्त्वपूर्ण रह्यो। पहिलो, उनले ३५ वर्षे पत्रकारिता करिअरलाई चुनावतिर मोडे।
दोस्रो, फागुन २१ गतेको निर्वाचनमा रौतहट–४ बाट उम्मेदवार बनेका धमलाले ६५५ मत प्राप्त गरे। जबकि प्रतिस्पर्धी ३६ हजार ८७६ मत ल्याएर सांसद निर्वाचित भए।
तीन अंकमै सीमित भएर उनले जमानत पनि जोगाउन सकेनन्।
ऋषि धमला राजनीतिमा प्रविष्ट हुने हल्ला यसअघि नै थियो। खासगरी २०७० को दशकदेखि नै उनी राजनीतिमा प्रवेश गर्ने हल्ला थियो। प्रजातान्त्रिक धारका धमला कांग्रेसी नेताहरूका पनि प्रिय थिए।
भुइँबाटै उठेर पत्रकारितामा बेग्लै छवि बनाएकाले उनले प्रजातान्त्रिक धारदेखि वामपन्थी धारका नेतासम्मको किचनसम्मै पहुँच पाएका थिए। आफूले चलाउँदै आएको टेलिभिजन कार्यक्रमदेखि रेडियो कार्यक्रम र रिपोटर्स क्लबसम्म नेताहरू लैजान उनलाई समस्या थिएन।
नेताहरूले विश्वासगरेको, पहुँच दिएकाले मात्रै होइन बिहान उदयाचलदेखि अबेर रातिसम्म पत्रकारिता कर्ममै दिलोज्यान दिएकाले नवप्रवेशीदेखि दिग्गजसम्मले उनको लगाव र समर्पण भावलाई मुक्तकण्ठले प्रशंसा गर्थे।
यसरी दिलोज्यान दिइरहेका ऋषि धमलाले अचानक पत्रकारिता छाडे।
मूलधारको राजनीति छाडेर मधेसमा अलग्गै प्रभूत्व बनाउन लागेका प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट टिकट लिएर रौतहट–४ मा प्रतिनिधि सभाको उम्मेदवार बने।
उनी उम्मेदवार बन्दै गर्दाको पृष्ठभूमि पनि रोचक छ। उनकी पत्नी एलिजा गौतम दुईवटा पार्टी परिवर्तन गर्दै आजपाको उपाध्यक्ष बनेकी थिइन्।
गौतम सुरूमा नागरिक उन्मुक्ति पार्टीको उपाध्यक्ष बनेकी थिइन्। त्यसपछि उनी जेनजी आन्दोलनपछि खोलिएको रमणकुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपालको उपाध्यक्ष बनेकी थिइन्।
तर उनी त्यहाँ एक महिना पनि टिकिनन्। पुनः दल बदल्दै आजपा पुगिन् र उपाध्यक्ष बनिन्।
त्यो ऋषि धमलालाई आजपा पुर्याउने कडी थियो भनेर मान्नेहरू पनि अहिले धेरै छन्।
ऋषिपत्नी एलिजा पुस ९ गते आजपा प्रवेश गरेकी थिइन्। धमला माघ ६ गते उम्मेदवार बनेका थिए। ऋषि धमला र प्रभु साहबीच तत्काल जोडिएको सम्बन्ध होइन, चुनावकै लागि बनेको पनि होइन।
‘उनीहरूबीच लामो समयदेखि चिनजान थियो। धमलालाई उम्मेदवार बनाउन पाए तराईमा मत बढाउन सकिन्थ्यो भन्ने प्रभु साहलाई पनि लागेकै हो,’ धमला निकट मानिने एकजनाले सेतोपाटीसँग भने।
तर धमला भने यो कुरा मान्न तयार छैनन्। उनले सार्वजनिक रूपमा नै प्रभु साहसँग आफूले चुनाव चिह्न ‘मोबाइल’ मात्रै लिएको, त्यसबाहेक अरू राजनीतिक साइनो नरहेको दाबी गर्दै आएका छन्। भविष्यमा उनले आम जनता पार्टीको राजनीति गर्छन् कि गर्दैनन्? त्यसले पनि यस विषयलाई निर्क्यौल गर्ला।
अहिलेलाई मानिसहरूलाई चासो ऋषि धमला पुन पत्रकारितामा फर्कन्छन् कि फर्किंदैनन् भन्नेमा छ।
ऋषि धमलाले पत्रकारितामा अनेकौं घामपानी सहेका छन्। खिसीटिउरी, छेडखानी पनि सहेकै छन्। ती सबैलाई पचाएर मुसुक्क हाँस्दै उनी पत्रकारिता कर्ममै तल्लीन थिए। कतिपयले उनको यो अनुहार पनि हेर्न चाहेकै छन्।
उनी २०४६–०४७ सालबाट पत्रकारितामा जम्न थालेका हुन्। सुरूमा पेपर ब्वाइको छविसमेत बनाएका धमलापछि संवाददाता बनेका थिए।
उनले नयाँ पुस्ता, दृष्टि, घटना र विचार, प्रकाश, पुनर्जागरण जस्ता त्यतिबेलाका चल्तीका पत्रिकामा अनुभव बटुलेका थिए। पछि रिपोर्टस क्लबको स्थापनासँगै रेडियो र टेलिभिजनसम्मको यात्रा गरे। प्राइम टेलिभिजनबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ मार्फत् पत्रकारितामा अलग्गै छवि विकास गरेका धमलाले फेरि पत्रकारितामा फर्कने सोचिसकेका छन्। उनको तयारी पनि रहेछ।
हामीले यसबारे उनैलाई सोध्यौं—
उनले राजनीतिमा यात्रा थालिसकेकाले बीचमै बिट नमार्ने बताए।
‘चुनावी परिणाम मेरा लागि ठूलो कुरा होइन। म आज पनि जनताकै माझ छु। उनीहरूको मुद्दामा छु,’ उनले भने, ‘चुनावमा पनि उनीहरूकै मुद्दा लिएर हिँडे, परिणाम के-कस्तो आयो, त्यसमा म धेरै अल्झन्नं।’
उनी अहिले पनि बेलाबखत निर्वाचन क्षेत्र गइरहन्छन्। तराई–मधेसका समस्याले आफूलाई पिरोलेको उनी बताउँछन्।
‘म नागरिकका मुद्दा उठाउँछन्। देशभरि समस्या छ। मधेसमा अझ बढी छ। त्यसलाई म राजनीतिको मैदानबाट उठाउँछु। अरू ठाउँ पनि छन्। पदमै पुग्नुपर्छ भन्ने के छ र!,’ उनले भने।
मुद्दाको पैरवीका लागि उनले पत्रकारिता नै उपयुक्त ठाउँ देखेका छन्।
‘पत्रकारिता र राजनीतिक सँगसँगै अघि बढाउँछु। तर कस्तो किसिमले पत्रकारिता गर्ने भन्न चाहिँ निष्कर्षमा पुगिराखेको छैन। तपाईंलाई यति बताऊँ, म फरक किसिमको कार्यक्रम लिएर आउँछु,’ उनले भने, ‘ती कार्यक्रमको केन्द्रमा अब जनता हुनेछन्। जनताको मुद्दा हुनेछन्।’
उनी प्राइम टेलिभिजनको कार्यक्रम ऋषि थपलियालाई जिम्मा लगाएर राजनीतिमा हिँडेका थिए। अहिले प्राइम टेलिभिजनमा तलबको समस्या छ। दुई–तीन महिनामा पनि तलब नदिएपछि त्यहाँका कर्मचारी आन्दोलनमा छन्। यस विषयमा धमला जानकार छन्।
‘म हुँदा त्यति समस्या थिएन। म चुनाव लड्न गएपछि केही समस्या आएको छ भन्ने बुझ्छु। तर म छिट्टै समाधान गर्छु। पत्रकार साथीहरू भोकै बस्नुपर्दैन,’ उनले भने।
***