दशरथ रंगशालाको 'स्क्रिनिङ' सेन्टरमा आइतबार दिउँसो एक किशोरी ठूलो स्वरले रूँदै थिइन्।
सिनामंगलस्थित सुकुम्बासी बस्तीबाट विस्थापित भएकी उनी हुन् १७ वर्षीया रिया लिम्बू।
आफ्नो पारिवारिक विवरण टिपाउन र बासको प्रबन्धका लागि आमासँग रंगशाला आइपुगेकी रियालाई हामीले रूनुको कारण सोध्यौं।
जबाफमा उनले भनिन्, 'कम्प्युटर एप्लिकेसनमा स्मार्ट बन्ने लक्ष्य थियो। घर भत्कियो। अब कसले बनाउला? कहाँ बसिएला? बस्ने टुंगो नै नभएपछि कसरी पढ्न सकिएला?'
रत्नराज्यलक्ष्मी क्याम्पसमा बिसिए पहिलो सेमेस्टर पढिरहेकी रिया हामीले भेट्दा कलेजकै युनिफर्ममा थिइन्। अहिले उनको कलेजको आन्तरिक परीक्षा चलिरहेको छ। आइतबार पनि परीक्षा दिएर आएको उनले बताइन्।
'जाँचकै बीचमा यस्तो भयो,' उनले भनिन्, 'घर भत्किएपछि पढ्नै सकेको छैन। दिमाग ठिक ठाउँमा भए पो पढ्नू!'
उनले अगाडि भनिन्, 'यो घटनाले मेरो पढाइ बिग्रेला कि भन्ने चिन्ता छ।'
रियाको जन्म सिनामंगलको सुकुम्बासी बस्तीमै भएको हो। उनका बुबा घरमा रङ लगाउने काम गर्छन् भने आमा सडक सफा गर्छिन्। मुस्किलले महिनाको २०-३० हजार रूपैयाँ कमाइ हुन्छ।
'आमाबुबाको कमाइजति मेरै पढाइमा सकिन्छ,' उनले भनिन्, 'भाइ ९ वर्षको छ। कुरा बुझ्दैन। घरमाथि डोजर चलेपछि खाली रून्छ। म पनि रोएको रोयै छु। मनै मानेको छैन।'
उनले आफ्नो बुबा ऋणमा रहेको पनि बताइन्।
रियाको परिवारले बचेका आफ्ना सामान कोठा खोजेर राखेको छ। सानो त्यो कोठा उनीहरूले सामान तह लगाउन मात्र लिएका हुन्। त्यहाँ उनीहरूको चार जनाको परिवार बस्न मिल्दैन।
'हामी कता जाने होला?' उनले प्रश्न गरिन्, 'केही सोच्नै सकेको छैन।'