मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन भएको छ।
मधेसमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गठबन्धन गरेका छन्।
यसअघि सरकारलाई जसपा नेपाल र जनमत पार्टी समेतको समर्थन थियो।
सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव नै रहने छन्।
मुख्यमन्त्री कृष्णप्रसादले बिहीबार एमालेका सांसद मोहम्मद समिरलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन्।
जसपा नेपालका तीन मन्त्री र जनमतका एक मन्त्री हटाइएको छ।
मधेस सरकारमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन थिए।
अर्थ मन्त्रालय जनमतका महेशप्रसाद यादवले सम्हाल्दै आएका थिए। उनीहरूको मन्त्रालय मुख्यमन्त्री कृष्णप्रसादले नै राखेका छन्।
जनमतका दुई मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए।
मधेसवादी दलसँग दुरी बढेपछि कांग्रेस एमालेसँग नजिकिएको थियो।
मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मन्त्रालय पुनर्गठन गरिएको सूचना सार्वजनिक गरेका छन्।
सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री कृष्णप्रसादले आवश्यकता र परिस्थितिको आधारमा मन्त्रिमण्डल पुनर्गठन गरिएको बताएका हुन्।
उनले शुक्रबार नै विश्वासको मत लिने तयारी छ।
'भोलि तीन दलले विश्वासको मत दिन्छन्। अन्य दलसँग पनि मत माग्छु। सबैले विश्वासको मत दिन्छन् भन्ने विश्वास छ,' मुख्यमन्त्री कृष्णप्रसादले भने।
विश्वासको मत लिइसकेपछि एमालेसँग थप छलफल हुने उनको भनाइ छ।
मन्त्रालय संख्या घटाउने, कार्यालयको संख्या घटाएर चुस्त दुरूस्त बनाउने उनले बताए।