मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन्।
मुख्यमन्त्री यादवले आज प्रदेश सभामा राखेको विश्वास मतसम्बन्धी प्रस्तावको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको थियो।
प्रदेश सभामा १०० जना उपस्थित थिए। दुई जना सांसदले भने मत प्रकट गरेनन्।
मुख्यमन्त्री यादवले विश्वास मत प्राप्त गरेको सभामुख रामआशिष यादवले घोषणा गरेका थिए।
गत वैशाख २१ गते जनमत पार्टीले समर्थन फिर्ता लिएको थियो। त्यसकारण मुख्यमन्त्रीले उनले विश्वास मत लिएका हुन्।
मुख्यमन्त्री यादव नेपाली कांग्रेस संसदीय दल नेता हुन्।
उनको पक्षमा कांग्रेस, नेकपा एमाले, नेकपाले मत दिएका हुन्।
कांग्रेस र मुख्यमन्त्रीले सत्ता समीकरण फेरबदल गरी विश्वास मत लिएका हुन्।
सत्ता समीकरण बदलेर कांग्रेसकै सरकारलाई निरन्तरता दिइएको हो।
यसअघि सत्तामा रहेको जसपालाई निकालेर एमालेलाई समीकरणमा ल्याइएको थियो।
मुख्यमन्त्रीले एमालेका तर्फबाट महम्मद समिरलाई बिना विभागीय मन्त्रीसमेत बनाइसकेका छन्।
विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री यादवले मधेस प्रदेशमा सरकार छ भन्ने अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
‘त्यही अनुसारको योजना हुन्छ, चिठी र पकेटबाट आउने योजना चल्दैन, त्यो नै बिक्रीको स्रोत हो, मुहान नै बन्द गर्ने अठोट गर्छु,’ उनले भने।
जनमतले ५ पटक सरकार ढाल्ने प्रयास गरेको उनले बताए।
जनता समाजवादी पार्टी नेपालले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो। जनता समाजवादी पार्टीका नेता एवं सांसद मनिष सुमनले पार्टीले सरकारलाई समर्थन नदिने निर्णय गरेको बताएका थिए।