अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार शुक्रबार बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठक गरे।
राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति जेडी भान्स, रक्षा मन्त्री पीट हेगसेथ, सीआईएका निर्देशक जोन र्याट्क्लिफ, ह्वाइट हाउस चिफ अफ स्टाफ सुसी वाइल्सलगायत वरिष्ठ अधिकारीसँग बैठक गरेका थिए।
बैठकमा इरानसँगको वार्ताको पछिल्लो अवस्थाबारे छलफल भएको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
यो बैठक अरूबेला जस्तो इरानमाथि दबाब हाल्नका लागि मात्रै होइन। ट्रम्पले इरानमाथि फेरि सैन्य हमला सुरू गर्ने विकल्पबारे बैठकमा गम्भीर छलफल गरेको भनेर अमेरिकी सञ्चारमाध्यमहरूले लेखेका छन्।
एक्सियसका अनुसार दुई कारणले ह्वाइट हाउसको बैठक महत्त्वपूर्ण मानिएको छ—
पहिलो, इस्लामावादको अन्तिम प्रयास।
अमेरिका र इरानबीच वार्ताको मध्यस्थता गरिरहेको पकिस्तानका सेना प्रमुख असिम मुनिर तेहरानमा छन्।
मुनिरको तेहरान भ्रमणलाई अमेरिका-इरानबीच युद्ध अन्त्यका लागि 'अन्तिम प्रयत्न' भनिएको छ।
शुक्रबार उनले इरानी राष्ट्रपति मशुद पेजिश्कियान, सभामुख मोहम्मद बाघेर गालिबाफ, विदेशमन्त्री अब्बास अराग्ची लगायतका शीर्ष नेतृत्वहरूसँग भेटेका छन्।
तस्बिरः तस्निम
मुनिरले इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) प्रमुख जनरल अहमद वाहिदीसँग पनि भेट्ने छन्।
मुनिरले छलफल गर्दा पनि तेहरान सहमतिमा आउने सम्भावना नभए बाध्य भएर अमेरिकाले इरानमा हमला गर्न सक्ने भनिएको छ।
ह्वाइट हाउसमा सुरक्षा परिषद बैठकमा इरानसँगका वार्ता सफल नभए अपनाउन सकिने सैन्य रणनीति तथा युद्ध पुनः सुरु भए आउन सक्ने विभिन्न परिदृश्यमाथि छलफल भएको थियो भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।
अमरिकाले बुधबार नै नयाँ प्रस्ताव पठाएर अस्वीकार भए सैन्य हमला हुन सक्ने भनेर चेतावनी दिएको सिबिएस न्युजको समाचारमा उल्लेख छ।
ट्रम्पले इरानलाई जबाफ दिन केही दिन समय दिएको बताएका थिए।
'अन्तिम चेतावनी' भएका कारण इरानलाई मनाउन र इस्लामावादको मध्यस्थतालाई सघाउन कतारी अधिकारीहरू पनि तेहरान गएका छन्।
इस्लामावादको प्रत्यक्ष वार्ता असफल भए पनि अमेरिका र इरानले पाकिस्तानमार्फत आफ्ना अडानहरू एकअर्कासँग राख्दै आएको छ।
'प्रस्तावका मस्यौदाहरू हरेक दिनजसो आदानप्रदान हुने तर वार्तामा खास प्रगति नहुने भइरहेको छ,' ह्वाइट हाउसका एक अधिकारीले एक्सियसँग भनेका छन्।
ठोस प्रगति हुने नदेखेर अमेरिकाले इरानमाथि आक्रमण गर्नसक्ने आँकलन गरिएको छ।
यसअघि गएको मंगलबार पनि अमेरिकाले इरानमाथि आक्रमण गर्ने चर्चा थियो।
ट्रम्प आफैले इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई फोन गरेर इरानमाथि फेरि हमला गर्ने तयारी रहेको बताएका थिए।
पछि कुटनीतिमार्फत नै समाधान गर्ने भनेर अमेरिकाले योजना रोकेपछि नेतन्याहू आक्रोशित भएका थिए। उनी र ट्रम्पबीच टेलिफोनमै तनावपूर्ण संवाद भएको थियो।
दोस्रो, ट्रम्पको कार्यतालिका रद्द
ट्रम्पले आफ्नै छोराको विवाहमा सरिक हुन नसक्ने भनेका छन्।
उनले ट्रुथ सोशलमा लेखेका छन्, 'सरकारी परिस्थितिहरू र अमेरिकाप्रतिको मेरो प्रेमका कारण म यो सप्ताहन्त विवाह समारोहमा सहभागी हुन सक्दिनँ। यो महत्त्वपूर्ण समयमा ह्वाइट हाउसमा रहनु आवश्यक ठानेको छु।'
सीबीएसका अनुसार सम्भावित सैन्य कारबाहीको तयारीस्वरूप अमेरिकी सेना र गुप्तचर निकायका केही अधिकारीहरूले स्मृति दिवस (मेमोरियल डे) बिदाका योजना रद्द गरेका छन्।
मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति पुनः व्यवस्थित गर्ने तयारीसमेत भइरहेको छ, किनकि इरानबाट प्रतिशोधी हमला हुन सक्ने चिन्ता रहेको छ।
किन तनाव फेरि चुलियो?
गत अप्रिलको सुरुआतमा अस्थायी युद्धविराम भएपछि अमेरिका र इरानबीच प्रत्यक्ष हमला रोकिएको थियो। त्यसपछि अप्रत्यक्ष वार्ता सुरु भए पनि पछिल्ला दिनमा वार्ता लगभग ठप्पजस्तै बनेको छ।
इरानले कहिल्यै आणविक हतियार बनाउन नपाउने र आफ्नो उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्नुपर्ने अमेरिकाको प्रमुख शर्त छ।
इरानले परमाणु कार्यक्रम बन्द गर्ने र उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्न इन्कार गर्दै आएको छ।
हमला भए कहाँ हुन सक्छ निशाना ?
न्युयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले इरानमाथि सम्भावित सैन्य कारबाहीका विभिन्न विकल्पमाथि विचार गरिरहेको छ। त्यसमा ऊर्जा संरचना, मिसाइल अड्डा, सडक–पुल, तेल क्षेत्र तथा समुद्री पूर्वाधारसमेत पर्न सक्छन्।
विशेष चिन्ताको विषय इस्फाहानस्थित भूमिगत आणविक केन्द्र हो, जहाँ इरानको उच्च संवर्द्धित युरेनियम भण्डारण गरिएको बताइन्छ। अमेरिकाले उक्त युरेनियम नष्ट गर्ने वा थप गहिराइमा पुरिने गरी ‘बंकर बस्टर’ बम प्रयोग गर्ने विकल्पसमेत अध्ययन गरिरहेको जनाइएको छ।
युद्धअघि अमेरिका र इजरायलले कमाण्डो टोली पठाएर युरेनियम कब्जामा लिने योजना बनाएको पनि न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। तर जोखिम अत्यधिक भएपछि ट्रम्पले अन्तिम समयमा उक्त योजना रोकेको बताइएको छ।
जोखिमरहित छैन सैन्य कारबाही
न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पमाथि अहिले सैन्य कारबाहीको राजनीतिक जोखिम पनि बढेको छ। पाँच साताको युद्ध र छ साताको युद्धविरामपछि पनि इरानलाई झुकाउन नसकेको भन्दै अहिले ट्रम्पको आलोचना बढिरहेको छ।
इरानको नौसेना र वायुसेना ध्वस्त बनाइए पनि मिसाइल क्षमता पूर्ण रूपमा नष्ट भएको छैन।
अमेरिकी गुप्तचर प्रतिवेदनले हर्मुज जलमार्ग आसपासका ३३ मध्ये ३० मिसाइल केन्द्र पुनः सञ्चालनमा आएको देखाएको छ। देशभरिका करिब ९० प्रतिशत भूमिगत मिसाइल भण्डारण तथा प्रक्षेपण स्थल आंशिक वा पूर्ण रूपमा पुनः सञ्चालनमा रहेको भनेर पेन्टागनकै गुप्तचर निकायको प्रतिवेदनले बताएको टाइम्सले जनाएको छ।
युद्ध पुनः सुरु भए तेल आपूर्ति प्रभावित हुन सक्ने र इन्धन मूल्य अझ बढ्न सक्ने चिन्ता पनि छ। होर्मुजबाट युद्धअघि विश्वको दैनिक तेल आपूर्तिको करिब पाँचौं हिस्सा ओसारपसार हुने गरेको थियो।
पहिल्यै हर्मुजबाट निस्किएका जहाजले बोकेको तेल अहिले आपूर्ति भइरहेको छ। तर अहिलेको स्थिति अझै लम्बिने हो भने तेलको संकट अझै चर्किने छ। तेलको भाउ अहिलेको भन्दा धेरै उच्च हुने प्रक्षेपण गरिएको छ।
आइआरजिसीले अमेरिका वा इसराइलबाट थप हमला भए युद्ध मध्यपूर्वभन्दा बाहिर समेत फैलिन सक्ने चेतावनी दिएको छ। उसले अमेरिका र इसराइलले कल्पनै नगरेको ठाउँमा कडा प्रहार गर्ने धम्की दिएको छ।
ह्वाइट हाउसमा गम्भीर छलफल भए पनि ट्रम्पले निर्णय भने गरिसकेका छैनन्। एक्सियसका अनुसार अझै पनि आगामी २४ घण्टाभित्र कूटनीतिक ‘ब्रेकथ्रु’ सम्भव रहेको विश्वास केही स्रोतहरूले गरेका छन्।
तर ट्रम्पनिकट स्रोतहरूका अनुसार वार्तामा अपेक्षित प्रगति नभए उनी सैन्य कारबाहीतर्फ अघि बढ्ने सम्भावना बढी रहेको बताएका छन्।