बाराको कलैयामा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा विवाद भएको छ।
शनिबार बिहान ११ बजेतिर कलैयास्थित करण पार्टी प्यालेसमा रास्वपाको विस्तारित बैठक बसेको थियो।
बैठकमा रास्वपाका सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, चन्दन सिंह र अरविन्द साह पनि उपस्थित थिए।
बैठकको हल सानो र रास्वपा कार्यकर्ता धेरै हुँदा भीड भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए।
आन्तरिक विवादबारे प्रहरीलाई जानकारी नभएको र अहिले घटना साम्य भइसकेको उनले बताए।
‘उहाँहरूको आन्तरिक विवादबारे जानकारी भएन। तर हल सानो भयो, कार्यकर्ताहरु धेरै थिए। अहिले घटना सामान्य छ,’ उनले भने। उनीहरूबीच के विवाद भएको हो भन्ने यकिन भइसकेको छैन।
सामाजिक सञ्जालमा देखिएको भिडिओमा भीडभाडबीच सांसदलाई त्यहँबाट निकालिएको देखिएको छ।
गत बुधबार मात्रै रास्वपाको संगठन विभागले बारा सभापति चन्दन सर्राफलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।
बारा कार्यसमिति अधिवेशन र विस्तारित बैठकको ठ्याक्कै अगाडि आफूलाई षड्यन्त्रपूर्वक पार्टी साधारण सदस्यबाट हटाइएको भन्दै सर्राफ असन्तुष्ट थिए।
उनीपक्षका नेताहरू शनिबारको विस्तारित बैठकमा सहभागी थिए। सोही क्रममा जिल्लाका संस्थापक नेताहरूलाई बल प्रयोग गरेर लखेटेको उनको आरोप छ।
'प्रहरी र गुण्डा प्रयोग गरी बैठकबाट लखेट्न खोजेपछि त्यस्तो भएको हो। हामी अहिले त्यहाँबाट बाहिर निस्किएर सदरमुकाममा शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं,' उनले भने।