अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीका लागि यसपालिको फिफा विश्वकप दुई कारणले महत्त्वपूर्ण छ।
पहिलो, मेसीको यो अन्तिम विश्वकप हुनेछ।
दोस्रो, अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकप जिताउने अवसर उनीसँग छ।
मेसीका लागि विश्वकप जति महत्त्वपूर्ण हो, त्यही स्तरको उम्दा प्रदर्शन पनि उनले देखाइरहेका छन्।
नक आउट चरणमा प्रवेश गरिसकेको अर्जेन्टिनालाई समूह चरणका दुवै खेल मेसीले जिताए। त्यतिमात्रै होइन दुवै खेलमा उनले मात्रै गोल हाने।
पहिलो खेलमा त उनले अल्जेरियाविरूद्ध ह्याट्रिक नै हाने। अस्ट्रियाविरूद्धको दोस्रो खेलमा दुई गोल गरे।
सुरूवाती प्रदर्शनले ३८ वर्ष पुगेका मेसीको लय खस्किएको छैन, बरू बढेको छ भन्ने देखिएको छ।
जारी संस्करणको विश्वकपमा खेल्दा मेसिका नाममा आधा दर्जन बढी कीर्तिमान थपिएको छ।
अल्जेरिया विरुद्धको ह्याट्रिक गर्दा मेसीका लागि विश्वकप करियरको पहिलो ह्याट्रिक थियो। उनले आफ्ना धेरै कीर्तिमानहरू बीच विश्वकपमा भने अहिलेसम्म ह्याट्रिक गरेका थिएनन्।
उनी पुरुष फुटबलको इतिहासमा ५ वटा फरक-फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै दोस्रो खेलाडी पनि बने।
यसअघि यो दुर्लभ कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा मात्र थियो। अब मेस्सीले पनि रोनाल्डोको सोही रेकर्ड बराबरी गरेका छन्।
मेसीले सन् २००६, २०१४, २०१८, २०२२ र अहिले २०२६ को विश्वकपमा गोल गरेर रोनाल्डोको बराबरी गरेका हुन्।
यो खेल मेसीको अर्जेन्टिनाको जर्सीमा २००औं अन्तर्राष्ट्रिय खेल थियो। यो आँकडा छुने उनी पहिलो अर्जेन्टिनी खेलाडी बने। गएराति अस्ट्रियासँग खेलेपछि यो आँकडा पनि २०१ पुगेको छ।
विश्वकपमा आफ्नो २८ औं खेल खेल्दै उनले सबैभन्दा धेरै विश्वकप खेल खेल्ने आफ्नै रेकर्डलाई अझै मजबुत बनाएका छन्।
अल्जेरियाविरूद्धको खेलबाट मेसीले अर्को रेकर्ड पनि बनाए। अर्जेन्टिनाको इतिहासमा साविक विजेताको रूपमा मैदान उत्रिँदा पहिलो खेल जितेको त्यो पहिलो पटक थियो। यसअघि १९८२ र १९९० मा अर्जेन्टिनाले साविक विजेता भएर खेल्दा पहिलो खेल हारेको थियो।
अल्जेरियाविरूद्ध ३ गोल प्रहार गर्दा मेसीले अर्को महत्त्वपूर्ण कीर्तिमान बनाए।
यस ह्याट्रिकसँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका दिग्गज खेलाडी मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरे।
गएराति अस्ट्रियाविरूद्ध २ गोल गरेपछि मेसीले क्लोजको कीर्तिमान तोडे। विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान अब लिओनल मेसीका नाममा दर्ज भएको छ।
यो ऐतिहासिक कीर्तिमानसँगै मेसीले गएरातिकै खेलबाट एउटा खराब कीर्तिमान राखे।
८ पटकको बालोन डि'ओर विजेता मेसीले खेलको आठौं मिनेटमा पेनाल्टी मिस गरे।
योसँगै उनी विश्वकपमा सर्वाधिक पेनाल्टी मिस गर्ने खेलाडी बनेका छन्। विश्वकपमा ७ वटा पेनाल्टी अवसर पाएका उनले तीन पेनाल्टी खेर फाल्दै धेरै पेनाल्टी मिस गर्ने खराब कीर्तिमान आफ्नो नाममा दर्ज गराएका हुन्।
मेसीलाई इतिहासकै महान् खेलाडीमध्ये एक मानिन्छ। तर पेनाल्टी प्रहारको विषयमा भने उनको प्रदर्शन साधारण देखिएको छ।
मेसीले यसअघि उनले २०२२ मा पोल्यान्डविरुद्ध र २०१८ मा आइसल्यान्डविरुद्ध पनि पेनाल्टी गोल गर्न सकेका थिएनन्।
अन्तर्राष्ट्रिय फुटबलमा मेसीले ३१ पेनाल्टीमध्ये २५ गोल गरेका छन्। क्लब र राष्ट्रिय टोलीका सबै खेल जोड्दा उनले १४९ पेनाल्टी प्रहार गर्दा ११६ गोल गरेका छन्। यसरी पेनाल्टीमा उनको ७७ प्रतिशत सफलता दर विश्वस्तरका शीर्ष खेलाडीहरूको औसतभन्दा कम मानिन्छ।
विश्लेषकहरूका अनुसार मेसीको पेनाल्टी खेर जानुमा उनको शैली कारक हो।
धेरै खेलाडीले पेनाल्टी प्रहारअघि नै कुन दिशामा हान्ने भन्ने निर्णय गरिसकेका हुन्छन्। तर मेसी प्रायः गोलरक्षकको चाल हेरेर अन्तिम क्षणमा निर्णय गर्ने प्रयास गर्छन्।
यसले उनको प्रहार गोलकिपरका लागि त अप्रत्याशित बनाउँछ, तर कहिलेकाहीँ आफू र टिमका लागि प्रत्युत्पादक हुन्छ भनेर विश्लेषकहरू बताउँछन्।
अस्ट्रियाविरुद्धको खेलमा गोलरक्षक अलेक्जेन्डर स्क्लजरले अन्तिम क्षणसम्म आफ्नो स्थिति नबदल्दा मेसी दबाबमा परेका थिए। गोलरक्षकलाई छल्ने प्रयासमा उनले बल पोस्ट बाहिर प्रहार गरे।
खेलपछि मेसीले पनि यो कुरा स्वीकार गरेका छन्।
'म रिसाएको थिएँ। मैले बल निकै खराब तरिकाले प्रहार गरेँ,' उनको भनाइ उद्धृत गरेर न्युयोर्क टाइम्सको द एथ्लेटिकले लेखेको छ।
पेनाल्टी विज्ञ गियर जोर्डेटका अनुसार मेसीले गोल रक्षकको चाल हेरेर निर्णय गर्ने भएकाले अन्तिम क्षणमा सटको नियन्त्रण गुम्ने जोखिम बढी हुन्छ।
'जब खेलाडीको ध्यान बलभन्दा गोलरक्षकतर्फ जान्छ, सटको सटिकता घट्न सक्छ,' उनले बताएका छन्।
मेसीको अर्को विशेषता भनेको एउटै निश्चित शैलीमा निर्भर नहुनु हो।
कहिले भित्री भाग (इन्स्टेप) बाट, कहिले जोडदार प्रहार, कहिले पनेन्का प्रहार गर्छन्। यो सिर्जनशीलता खुला खेलमा उनको सबैभन्दा ठूलो शक्ति भए पनि पेनाल्टीमा भने कहिलेकाहीँ कमजोरी बन्ने गरेको विश्लेषकहरूको भनाइ छ।
यद्यपि पेनाल्टीमा कमजोरी देखिए पनि मेसीको समग्र उपलब्धिमा त्यसले ठूलो असर पारेको छैन। पछिल्लो विश्वकपमा उनले सातमध्ये ६ पेनाल्टी गोल गरेका थिए। फ्रान्स र नेदरल्यान्ड्स विरुद्धको नकआउट चरणमा समेत उनले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।
रोचक कुरा के छ भने मेसीले करिअरभरि धेरै पेनाल्टी गुमाएका भए पनि उनले त्यसको क्षतिपूर्ति मैदानमा अन्य तरिकाले गर्दै आएका छन्।
अस्ट्रियाविरुद्ध पेनाल्टी चुकाए पनि उनले त्यसै खेलमा दुई गोल गर्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाए।