सेयर बजार परिसूचक नेप्से विगत पाँच दिनदेखि यता न उता भएको छ। यसले न २७०० विन्दु पार गरेर माथि जान सकेको छ, न तल ओर्लिन सकेको छ।
यसले बजार अल्पकाललाई न्यूनतम विन्दुका रूपमा रहन लागेको संकेत गरिरहेको छ।
विशेषगरी, नेप्से परिसूचक पछिल्ला १४ कारोबार दिनमा २७८० विन्दुबाट घटेर २७०० विन्दुमा झरेको छ।
यस अवधिका अधिकांश कारोबार दिनमा परिसूचक ओरालो लागेका कारण बजारमा बिक्री दबाब हाबी रहेको देखिन्छ।
यो अवधिको उतारचढावमा नेप्सेले कुल ६ अंक जोड्दा १४२ अंक गुमाएको छ।
यही कारण १४ दिने रिलेटिभ इन्डेक्स (आरएसआई) सूचक अत्यन्त न्यून छ। यो सूचक ४.५८ मा छ। यसले बजारमा अत्यधिक बिक्री रहेको संकेत गर्छ।
यद्यपि पछिल्ला पाँच कारोबार दिनदेखि परिसूचक २७०० विन्दुको आसपास रहनुले ठूलो गिरावट देखिएको छैन।
सेयर बिक्री दबाब केही कमजोर त बन्दै गएको छ। तर बजारमा भित्रिने र बाहिरिने रकमको अवस्थाले अझै स्पष्ट सुधारको संकेत देखाएको छैन।
पछिल्ला आठ कारोबार दिनदेखि खरिद–बिक्री (एकुमुलेसन एन्ड डिस्ट्रिब्युसन) सूचक लगातार ऋणात्मक छ।
२१ दिनमा एकुमुलेसन सूचक कुल पाँच करोड ३४ लाख हुँदा डिस्ट्रिब्युसन सूचक चार करोड ८६ लाख छ। यसले बजारमा खरिदकर्ताभन्दा बिक्रीकर्ता बलियो बन्दै गइरहेको देखाउँछ।
त्यस्तै, मुद्रा प्रवाह सूचक २७ बाट बढेर २८ पुगेको छ। तर अझै पनि यो न्यून छ। यसले बजारमा पैसाको प्रवाहमा केही स्थिरता देखिए पनि सेयर किन्ने प्रवृत्तिमा सुधार नभइसकेको संकेत गरिरहेको छ।
बजार तीव्र गिरावटबाट स्थिरता उन्मुख देखिए पनि दिगो सुधारको आधार तयार भइसकेको पुष्टि हुन बाँकी छ।
आगामी दिनमा बजारमा खरिददारी बढ्दै गए, एकुमुलेसन एन्ड डिस्ट्रिब्युसन सूचक सकारात्मक बनेमा र आरएसआईमा वृद्धि हुन थालेमा मात्रै बजार फर्किन लागेको विश्लेषण गर्न सकिने छ।
त्यसो भए अब बजार कसरी अघि बढ्छ त? यसका लागि अब बजारमा पर्नसक्ने प्रभावहरू नै हेर्नुपर्ने हुन्छ।
हालै धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको छ। विधावारिधिको क्रममा सेयर बजारको विषयमै आफ्नो शोध गरेका अध्यक्ष डा. गोपाल भट्टबाट बजारले नीतिगत तहमा कस्तो लाभ पाउँछ त्यसमा पनि निर्भर रहन्छ।
राष्ट्र बैंकले केही सातामै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।
बैंक तथा वित्तीय संस्थामा लामो समयदेखि खर्बौं रूपैयाँ लगानी हुन नसकेर थन्किरहेको छ। यसलाई चलायमान बनाउन राष्ट्र बैंकले कस्तो नीति लिन्छ त्यसमा पनि बजारको प्रवृत्ति निर्भर रहने छ।
चालु आर्थिक वर्ष अन्त्य हुन लागेकाले त्यसपछि सूचीकृत कम्पनीहरूको वित्तीय विवरण कस्तो आउँछ त्यसमा पनि निर्भर हुने देखिन्छ। बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको अवस्था, लाभांश क्षमता, जलविद्युत, होटल, लगानी वा व्यापारमूलक लगायतका कम्पनीहरूको नाफा नोक्सान जस्ता कुराले बजारलाई प्रभाव पार्नेछ।
अर्को पक्ष लगानी वातावरण हो। अहिले बैंकहरूको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जा लगानी विस्तार भएको छैन। यो हिजो वा आजै आएको समस्या होइन। केही वर्षदेखि नै बैंकहरू अधिक तरलताको समस्याबाट गुज्रिरहेका छन्।
तर यसबीच नयाँ सरकार आएसँगै आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको थियो। अहिलेसम्म परिस्थिति त्यस्तो देखिएको छैन।
त्यसैले सरकारले उद्योगी, व्यवसायी र लगानीकर्ताहरूको आत्मविश्वास कसरी बढाउँछ भन्ने कुराले पनि बजारको आगामी प्रवृत्ति स्पष्ट हुँदै जाने देखिन्छ।