कोही मानिस एक्कासि बेहोस हुने, घाँटी बांगिएर काम्ने, जिब्रो टोकिने, मुख बन्द हुने, बेहोसीपछि बिउँझिँदा अलमलिने वा भाग्न खोज्ने जस्ता लक्षण देखिए भने छारे रोग हुन सक्छ।
यस्ता लक्षणमा एक पटक जचाउँनुपर्छ।
सुरूमा त छारे रोग औषधिबाटै उपचार सुरू गरिन्छ। दस जनामध्ये सात जनाको छारे रोग औषधिले निको हुन्छ भने ३ जनाको हुँदैन। ती तीन जनालाई हामी औषधिले नछुने छारे रोग भएको भन्छौं।
एउटा औषधि खाँदा निको नहुने र अर्को दिँदा पनि निको नभए अब औषधिले नियन्त्रण गर्दैन भनेर बुझ्नुपर्छ।
कसैलाई औषधि खाँदाखाँदै छारे रोग देखिएको छ भने त्यसलाई थप औषधिभन्दा पनि अपरेसन गरेर निको पार्न सकिन्छ।
सबैमा छारे रोग निर्मूल हुँदैन। बिरामीको अवस्था, कति वर्ष पुरानो रोग हो, अरू समस्या छ कि छैन भन्ने सबै कुरा हेरेर मात्र अपरेसन गर्न मिल्छ। अपरेसनपछि औषधिले निको नभएको छारे रोग निको हुन सक्छ।
तर उनीहरू अपरेसनका लागि योग्य हुन् कि होइनन् भनेर हेर्नुपर्छ। त्यसका लागि २४ घन्टा अस्पतालमै राखेर परीक्षण गरिन्छ।
बिरामीको मस्तिष्कको २४ घन्टाको गतिविधि प्रत्यक्ष हेरिन्छ। छारे रोग कुन ठाउँबाट आएको हो भनेर पत्ता लगाइन्छ।
त्यसपछि कस्तो खालको अपरेसन गर्ने, सफलता दर कति हुन्छ र यसका जटिलता के के आउन सक्छन् भन्नेबारे छलफल हुन्छ।
धेरै प्रकारका छारे रोग अपरेसन गरेपछि निको हुन्छन्। यसको सफलता दर ९० प्रतिशतदेखि कतिपय अवस्थामा शतप्रतिशतसम्म हुन्छ।
अपरेसनपछि यस्ता बिरामी सामान्य बन्छन्।
जन्मजात दाग वा ट्युमरका कारण छारे रोग भएको रहेछ भने पनि त्यस्ता बिरामीको अपरेसन गर्दा सफलता दर ९० देखि १०० प्रतिशतसम्म हुन्छ।
तर मस्तिष्कको धेरै भागमा समस्या हुने छारे रोग रहेछ भने ७० देखि ९० प्रतिशत बिरामी सामान्य अवस्थामा आउन सक्छन्।
सबै छारे रोग एकै खालका हुँदैनन्। कतिपयमा एकदमै जटिल हुन्छ। जन्मजात नै मस्तिष्कमा अक्सिजन नपुगेर उनीहरू अलि सुस्त भएका हुन्छन्। त्यस्ता बिरामीमा ५० प्रतिशत मात्र निर्मूल गर्न सकियो भने पनि हाम्रो भाषामा त्यसलाई सफल मानिन्छ।
कहिलेकाहीँ ठूलो छारे रोग आएर मानिसको श्वासप्रश्वास र मुटुको धड्कन रोकिन सक्छ। कतिपय अवस्थामा मृत्युको खतरा पनि हुन्छ। अपरेसन गरेपछि यो खतरा शून्यमा झर्छ।अ
अर्को कुरा, बिरामीको स्मरणशक्तिदेखि व्यवहारसम्म सकारात्मक परिवर्तन आउन थाल्छ।
अपरेसनपछि पनि २ वर्षसम्म औषधिलाई निरन्तरता दिइन्छ। लामो समयदेखि छारे रोग भएकाले फेरि नदोहोरियोस् भनेर औषधि दिइने हो। त्यसपछि औषधि बन्द गराइन्छ।
(न्युरो सर्जन डा. ऋजु दाहाल अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत छिन्)