इरानसँगको युद्धका कारण अमेरिकी हतियार भण्डारमा चरम अभाव देखिएपछि पेन्टागनले अमेरिकी रक्षा उद्योगलाई हतियार उत्पादन र आपूर्ति तीव्र रूपमा बढाउन निर्देशन दिएको छ।
अमेरिकी रक्षा उपमन्त्री स्टिभ फेनबर्गले कारखानाका प्रमुखहरूलाई पत्र पठाएरै महत्वपूर्ण हतियारको उत्पादन क्षमता विस्तार र आपूर्ति समय छोट्याउन भनेका हुन्।
उनले ठोस योजना २१ दिनभित्र पेस गर्न पनि निर्देशन दिएको अमेरकी अखबार वासिङ्टन पोस्टले समाचार लेखेको छ।
पोस्टका अनुसार फेनबर्गले काराखानाहरूलाई हतियारहरूको आपूर्ति गर्न वर्षौं लाग्ने चक्र स्वीकार्य नभएको भन्दै आक्रामक उत्पादन र छिटो आपूर्ति गर्ने योजना पेस गर्न भनेका हुन्।
'हामीले हाम्रा कार्यक्रमको समयतालिका छोट्याउनुपर्छ र अहिले नै उत्पादन क्षमता विस्तार गर्नुपर्छ,' उनले हतियार कारखानाहरूलाई लेखेको पत्रमा भनेका छन्।
फेनबर्गले रक्षा कम्पनीहरूसँग ती हतियारको उत्पादन र आपूर्ति सबैभन्दा छिटो हुने तालिका मात्रै होइन उत्पादन क्षमता बढाउन आवश्यक लगानी र कारखाना विस्तारको प्रस्तावसमेत मागेका छन्।
उनले उद्योगलाई सरकारसँग साझेदारका रूपमा काम गर्न र आवश्यक लगानीमा आफ्नो प्रतिबद्धता देखाउन आग्रह गरेका छन्।
इरानसँगको युद्धका कारण अमेरिकी हतियार भण्डार रित्तिँदै गएको विषय यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले नै सार्वजनिक गरेका थिए।
यही विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षामन्त्री पिट हेगसेथबीच मतभेद उत्पन्न भएको थियो।
हतियार भण्डार रित्तिँदै गएको विषय हालसालै सतहमा आएको भए पनि ट्रम्प प्रशासनभित्र यसलाई लिएर केही अघिदेखि नै छलफल चलिरहेको खुलेको छ।
वासिङ्टन पोस्टका अनुसार जुलाईको अन्त्यमा ह्वाइट हाउसले परम्परागत ठूला हतियार कम्पनीदेखि सिलिकन भ्यालीका हतियार प्रविधि स्टार्ट अपसम्मका प्रमुखहरूलाई बोलाएर छलफल गरेको थियो। छलफलपछि रक्षा बजेट बढाउन सांसदहरूलाई दबाब दिनका लागि आग्रह समेत गरेको थियो।
उक्त बैठकमा लकहिड मार्टिन, नर्थ्रोप ग्रुम्यान, बोइङ, स्वायत्त हतियार निर्माण कम्पनी एन्डुरिल र डेटा विश्लेषण कम्पनी पालान्टिर लगायतका प्रतिनिधि सहभागी थिए।
उनीहरूलाई संसदबाट रक्षा खर्च बढाउन प्रत्यक्ष रूपमा सांसदहरूसँग लबिइङ गर्न भनिएको थियो।
गत सोमबार नर्थ्रोप ग्रुम्यान र लकहिड मार्टिनसँग प्याट्रियट एड्भान्स्ड भण्डार –३ (पिएसी–३) र थाड प्रतिरक्षा मिसाइल उत्पादन बढाउने फ्रेमवर्क सम्झौता गरेको थियो।
त्यसको एक साताअघि लकहिड मार्टिनलाई सन् २०३० सम्म पिएसी–३ क्षेप्यास्त्रको उत्पादन तीन गुणा बढाउन ५८.६ अर्ब डलरसम्मको ठेक्का दिइएको थियो।
त्यसभन्दा अगाडि मे महिनामै पेन्टागनले एन्डुरिल, कास्टेलियन, कोएस्पायर, लिडोस र जोन–५ लगायतका हतियार बनाउने कम्पनीसँग कम लागतका मिसाइल उत्पादन र अमेरिकी सेनाको आक्रमण क्षमता तीव्र रूपमा विस्तार गर्ने फ्रेमवर्क सम्झौता गरेको थियो।
जुनको अन्त्यमा पनि पेन्टागनले सिलिकन भ्यालीका विभिन्न रक्षा प्रविधि स्टार्टअपका प्रमुखहरूसँग समेत छलफल गरेको थियो भनेर वासिङ्टन पोस्टले लेखेको छ।
यतिका योजनामा छलफल र सम्झौता गरेको भए पनि पेन्टागनको तीव्र उत्पादन योजनाको सबैभन्दा ठूलो चुनौती अमेरिकी संसद् बनेको छ।
सम्झौताहरूलाई कार्यान्वयन गर्न ११ खर्ब डलरभन्दा बढीको रक्षा बजेट विधेयक पारित हुनुपर्नेछ। तर रक्षा खर्चमा ठूलो वृद्धि प्रस्ताव गरिएको भन्दै डेमोक्र्याट सांसदहरूले विरोध गरेपछि विधेयक संसदमा अड्किएको छ।
पेन्टागनले सम्झौता गरे पनि संसदले आवश्यक बजेट स्वीकृत नहुँदासम्म सम्झौता कार्यान्वयनमा जाँदैन।
'ती सम्झौताहरू सहमतिमात्र हुन्, ठेक्का होइनन्,' स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज सेन्टर (सिएसआइएस) को मिसाइल डिफेन्स प्रोजेक्टका निर्देशक टम काराकोले वासिङ्टनपोस्टसँग भनेका छन्।
उनले बजेटसम्बन्धी गतिरोध संसदमा कायम रहे पनि हतियार कम्पनीहरूले जोखिम लिएर आफ्नै पैसा खर्च गरेर उत्पादन क्षमता बढाउने प्रयत्न गरिरहेको बताए।
सरकारले हतियार खरिदका लागि अन्तिम स्वीकृति नदिन पनि सक्ने भएकाले हतियार कारखानाहरूको लागि अहिल्यै उत्पादन बढाउन जोखिमपूर्ण रहने बताएका छन्।
पेन्टागनका मुख्य प्रवक्ता सियन पार्नेल भने रक्षा मन्त्रालयले हतियार उत्पादन र आपूर्तिलाई तीव्र पार्नका लागि काम गरिरहेको विषय नयाँ नभएको बताएका छन्।
यसलाई उनले पेन्टागनको नियमित काम भनेका छन्। सोहीअनुसार फेनबर्गले पत्राचार गरेको उनको भनाइ छ।
इरान युद्धमा अमेरिकाको कति हतियार खर्च भयो?
इरान युद्धको पहिलो महिनामै अमेरिकाले ८५० भन्दा बढी टोमाहक क्रुज मिसाइल र १ हजारभन्दा बढी प्याट्रियट तथा थाड मिसाइल प्रतिरक्षा प्रणाली प्रयोग गरेको द वासिङ्टन पोस्टले रिपोर्ट सार्वजनिक गरेको छ।
त्यसैगरी युद्धको सुरुवाती सातामै अमेरिकी सेनाले १ हजार ३०० भन्दा बढी सामरिक ब्यालेस्टिक मिसाइल प्रयोग गरेको थियो।
सिएसआइएसको पछिल्लो विश्लेषणअनुसार युद्धअघि विश्वभर करिब २ हजार २०० वटा प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली रहेकोमा अहिले ८२७ भन्दा तल झरेको छ। त्यस्तै, थाड क्षेप्यास्त्रको विश्वव्यापी भण्डार ४५२ बाट घटेर २७८ भन्दा कम भएको छ।
हतियार भण्डारमा आएको कमीले अमेरिकी सैनिकमाथि जोखिम बढाउनुका साथै थप आक्रमण विस्तार गर्ने ट्रम्प प्रशासनको क्षमतामा समेत असर पारेको द वासिङ्टन पोस्टले जनाएको छ।
त्यतिमात्रै होइन भविष्यमा रूस वा चीनसँग अमेरिकाको युद्ध भएको खण्डमा अमेरिकाले कति छिटो हतियार पुनः उत्पादन गर्न सक्छ भन्ने विषयले युद्धमा कस्तो प्रदर्शन गर्न सक्छ भन्ने निश्चित हुनेछ।
भण्डार रित्तिँदै गएको विषय लगातार आइरहँदा ट्रम्पले भने अमेरिकासँग पर्याप्त हतियार भएको बताउँदै आएका छन्।
'हामीसँग ठूलो मात्रामा हतियार छन्। ठूलै परिमाणमा उत्पादन पनि भइहेको छ। उत्पादित हतियारहरू भण्डारण पनि भइरहेका छन्,' ट्रम्पले आइतबार मात्रै ट्रुथ सोसलमा लेखेका छन्।