गजामा दीर्घकालीन शान्ति स्थापनाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको १५ बुँदे योजनालाई इसराइले अस्वीकार गरिदिएको छ।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबारको मन्त्रिपरिषद बैठकमा ट्रम्पको योजनालाई इसराइलले स्वीकार नगरेको बताएको अमेरिको समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले लेखेको छ।
'इसराइल १५ बुँदे प्रस्ताव अस्वीकार गर्दछ,' बैठकमा नेतन्याहूले भनेका छन्।
हमास हतियार बुझाएर गजाको शासन त्याग्न तयार भइसकेको अवस्थामा इसराइलले भने अमेरिकाले कतार, टर्की र इजिप्टको मध्यस्थतामा हमाससँग गजाको दीर्घकालीन शान्ति योजनामा सहमति गरेका थिए।
गजामा प्यालेस्टिनी प्रशासन हुने र हमासलाई निःशस्त्रीकरण गरिने सहमति थियो। त्यो सहमति गर्न हमासले एउटा शर्त राखेको थियो— इसराइली सेनाले गजा छाड्नुपर्छ।
इसराइली प्रधानमन्त्री नेतन्याहूले भने हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गजाबाट सेना हट्न नसक्ने भन्दै १५ बुँदे प्रस्ताव अस्वीकार गरेका हुन्।
'हमास वास्तवमै निःशस्त्र नभएसम्म हाम्रा सेना कुनै हालतमा फिर्ता हुने छैनन्,' उनले भनेका छन्।
गत जुलाई ३१ मा ट्रम्पले गजामा दीर्घकालीन शान्ति कायम गर्ने उद्देश्यसहित आफ्नो ‘बोर्ड अफ पिस’मार्फत १५ बुँदे योजना सार्वजनिक गरेका थिए।
योजनाअनुसार हमासलगायत गजाका सशस्त्र समूहको निःशस्त्रीकरणसँगै इसराइली सेना क्रमशः पछाडि हट्ने प्रस्ताव गरिएको थियो।
तर नेतन्याहूले आफूहरू अझै अमेरिकासँग वार्तामा रहेको बताएका छन्।
'हामी अहिले यस विषयमा अमेरिकीहरूसँग छलफल गरिरहेका छौं। उनीहरूसँग केही विचार छन्, जसमध्ये केही हामीलाई स्वीकार्य छन् र केही छैनन्। ती विषयमा कसरी अडान लिने भन्ने हामीलाई थाहा छ,' उनले भने।
उनले गजासँगै पश्चिम किनारमा समेत प्यालेस्टिनी राज्य स्थापना हुन नदिने आफ्नो अडानसमेत दोहोर्याए।
'म प्रधानमन्त्री रहुन्जेल प्यालेस्टिनी राज्य स्थापना हुनेछैन—न गजामा, न पश्चिम किनारमा,' नेतन्याहूले भने।
ट्रम्पले योजना घोषणा गरेपछि गजामा इसराइली हवाई तथा सैन्य आक्रमणमा केही दिन वृद्धि भएको थियो।
तर पछिल्ला केही दिनमा ती आक्रमण घटेको बताइएको छ। इसराइली सेनाले गजाको आधाभन्दा बढी भूभाग नियन्त्रणमा राखेको छ। गजामा करिब २० लाख मानिस बसोबास गर्छन् र लामो युद्धका कारण क्षेत्रको ठूलो हिस्सा ध्वस्त भएको छ।
हमासले भने ट्रम्पले अघि सारेको रोडम्यापप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ।
हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमले आइतबार सामाजिक सञ्जाल एक्समार्फत मध्यस्थकर्ता र अमेरिकाले नेतन्याहू तथा उनको सरकारलाई योजनाअनुसार अघि बढ्न दबाब दिनुपर्ने बताए।
'हामी मध्यस्थकर्ता र अमेरिकी ग्यारेन्टरले नेतन्याहू र उनको सरकारलाई रोडम्याप पालना गर्न तथा आन्तरिक राजनीतिक र चुनावी कारणले प्रक्रिया अवरुद्ध नगर्न दबाब दिने अपेक्षा गर्छौं,' नइमले भने।
हमासले यसअघि भने इसराइलले गजामा आक्रमण रोक्नुपर्ने र अक्टोबरमा भएको युद्धविराम सम्झौताले निर्धारण गरेको ‘यलो लाइन’ सम्म आफ्ना सेना पछाडि हटाउनुपर्ने सर्त राखेको थियो।
गजाका विषयमा इजिप्टले पनि सबै पक्षलाई आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गरेको छ।
नेतन्याहूको अडानले ट्रम्प र इसराइली प्रधानमन्त्रीबीचको सम्बन्धमा थप तनाव उत्पन्न हुने संकेत देखिएको छ।
गत वर्ष नेतन्याहूले ट्रम्पलाई ह्वाइट हाउसमा इसराइलले पाएको सबैभन्दा ठूलो मित्र भनेका थिए। ट्रम्पले नेतन्याहूविरुद्ध चलिरहेको भ्रष्टाचार मुद्दामा समेत उनलाई माफी दिनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्।
तर पछिल्लो समय लेबननमा इसराइली आक्रमण, इरानसँगको युद्ध र युद्धविरामलगायत विषयमा दुई नेताबीच मतभेद बढेको छ। नेतन्याहूको दक्षिणपन्थी गठबन्धनमाथि पनि आन्तरिक दबाब छ।
अक्टोबरको अन्त्यमा हुने निर्वाचनअघि गठबन्धन जनमत सर्वेक्षणमा पछाडि देखिएको छ भने सरकारका कट्टर दक्षिणपन्थी मन्त्रीहरूले हमाससँग कुनै सम्झौता नगर्न नेतन्याहूमाथि दबाब दिइरहेका छन्।