चितवनस्थित धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्न झोलुंगे पुल बने पनि त्यसपछिको पहुँच मार्ग नबन्दा पर्यटकलाई असुविधा भएको छ।
यहाँ चार वर्षअघि मात्र झोलुंगे पुल बनेको हो। त्यसअघि नारायणी नदीमा डुंगा तरेर जानुपर्थ्यो।
तर पुल तरेर आश्रमसम्म पुग्ने करिब तीन किलोमिटर जंगल क्षेत्रमा सडक बनेको छैन। त्यसैले पुलसमेत सञ्चालनमा आउन सकेको छैन।
चितवन राष्ट्रिय निकुञ्जको घना जंगल बीचबाट बनाइएको गोरेटो बाटोमा आवतजावत गर्न निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुमति नदिँदा पुल सञ्चालनमा आउन नसकेको हो।
माडी नगरपालिका वडा नम्बर १ स्थित यो आश्रम महर्षि वाल्मीकिले तपस्या गरेको तपोभूमि मानिन्छ। रामायण र अध्यात्म रामायणमा यही क्षेत्रमा सीतालाई अग्निपरीक्षा पश्चात् वनवासका लागि छोडिएको तथा लव र कुश जन्मिएको, उनीहरू हुर्किएको र वाल्मीकि ऋषिबाट शिक्षादीक्षा प्राप्त गरेको उल्लेख छ।
रामायणमै उल्लेख भए अनुसार अयोध्याबाट रामले अश्वमेध यज्ञका बेला छाडेको घोडालाई बाल्यकालमै लव र कुशले नियन्त्रणमा लिएर यही ठाउँमा राखेका थिए।
सन् १९६४ मा तत्कालीन राजा महेन्द्र शाह गण्डक ब्यारेजको शिलान्यास गर्न आएका थिए। त्यो बेला भारतले ब्यारेजको डिपिआरमा वाल्मीकि आश्रमलाई भारतको पश्चिम चम्पारण, बिहार अन्तर्गतको नक्सामा राखेको भेटेपछि महेन्द्रले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग आपत्ति जनाएका थिए।
त्यसपछि इलाहावादको प्रयागमा भएको धर्म सम्मेलनबाट वाल्मीकिले रामायण रचना गरेको स्थान, सीतालाई परित्याग गरी लव–कुशको जन्म भएको स्थान तमसा नदीको किनार वाल्मीकि आश्रम नेपालभित्रै पर्ने निर्णय भएको थियो। भारतले गण्डक ब्यारेजको डिपिआर पनि संशोधन गरी वाल्मीकि आश्रमलाई नेपालभित्रै पारेको थियो।
रामसँग जोडिएकाले हिन्दु धर्मावलम्बीहरू वाल्मीकि आश्रमलाई ठूलो तीर्थस्थल मान्छन्। यहाँ राम, सीता, वाल्मीकि, लव–कुश, हरिहरका मूर्ति र प्रतिमासहितका मन्दिरहरू बनाइका छन्। मुख्य मन्दिरमा भएको हरिहरको अष्टधातुको मूर्ति महत्त्वपूर्ण मानिन्छ।

मन्दिरका पुजारी रामशरण गिरीका अनुसार राजा महेन्द्रले २०२२ सालमा वाल्मीकि आश्रममा उत्खनन गर्न लगाउँदा यो मूर्ति भेटिएको थियो। २०२८ सालमा तत्कालीन सरकारले हरिहरको सोही मूर्ति अंकित हुलाक टिकटसमेत प्रकाशन गरेको थियो।
राजा महेन्द्रले नै यहाँ आकर्षक मन्दिर निर्माण, मूर्ति प्रतिस्थापन र पुजारीको व्यवस्थासँगै केही परिवारलाई लगेर बसोबास गराएका थिए। पु
'अहिले पनि आश्रम परिसरमा १४ परिवार बसोबास गर्दै आएका छन्,' पुजारी गिरीले भने।
प्राचीन तथा धार्मिक सम्पदा र एक दर्जनभन्दा बढी परिवारको बसोबास रहे पनि यो आश्रममा पुग्न सहज छैन।
माडीमा पर्ने भए पनि आश्रम पूर्वी नवलपरासीको त्रिवेणीदेखि नजिक पर्छ। त्रिवेणीस्थित नारायणी नदी तरेपछि करिब साढे २ किलोमिटर दुरीमा आश्रम पुगिन्छ। एउटा महत्त्वपूर्ण धार्मिक स्थलदेखि नजिकै भए पनि सहज मार्ग नहुँदा बिरानो बनेको भनेर चार वर्षअघि नारायणीमा पुल हालिएको थियो।
२०७० असारमा बनाउन थालिएको यो पुल दुई वर्षमा सक्ने भनिएको थियो। तर ९ वर्षमा, अर्थात २०७९ साल असारमा मात्रै सकियो। करिब ६ करोड रूपैयाँ लागतमा ४७९ मिटर लामो पुल बनेको हो।
नयाँ वर्ष, माघे संक्रान्ति, माघे औंसी, शिवरात्रि, ठूलो एकादशी लगायत पर्वहरूमा पर्यटकहरू वाल्मीकि आश्रममा पुग्न चाहन्छन्।
नेपालतिरबाट झोलुंगे पुल तरेपछि चितवन राष्ट्रिय निकुञ्ज हुँदै गोरेटो बाटोबाट आश्रम पुग्न सकिन्छ। त्रिवेणीदेखि एक किलोमिटर दक्षिणतर्फ रहेको गण्डक ब्यारेज न(बाँध) पारिपट्टि भारतको वाल्मीकिनगर हुँदै ६ किलोमिटर पार गरेपछि पनि पुग्न सकिन्छ।
नेपालतर्फको तमसा र भारततर्फको सोनभद्र खोला नारायणी नदीमा मिसिएर त्रिवेणी नदी बनेको हो।
भारत हुँदै जाने बाटो पनि जंगल भएकाले जंगली जनावरको जोखिम उत्तिकै छ। त्यसैमाथि दुई वटा खोला यही बाटोमा पर्छन्। वर्षायाममा खोला बढ्छ, आवतजावत बन्द हुन्छ।
अर्कोतर्फ, गण्डक ब्यारेज पार गरेपछि नै भारतीय सुरक्षाकर्मीको कडा जाँच र सोधपुछले हैरानी हुन्छ। यसले गर्दा वाल्मीकि आश्रम जान चाहने नेपाली पर्यटकहरू मन मारेर बस्न बाध्य छन्।

मुख्य पुजारी रामशरण गिरीका अनुसार राजा महेन्द्रले १२ बिघा जमिन आश्रमका लागि छुट्ट्याए पनि त्यसको स्वामित्व निकुञ्ज मातहत छ। निकुञ्जको अनुमति बिना केही संरचना निर्माण गर्न पाइँदैन।
निकुञ्ज स्थापना हुनुभन्दा पहिल्यै आश्रममा पूजाआजा सुरू भएकाले त्यसमा भने निकुञ्जले रोक लगाएको छैन। तर निकुञ्जभित्रका गोरेटोमा आवतजावत बन्द गरिएको छ।
हिउँद याममा यहाँ दैनिक ५ सयदेखि १२ सयसम्म पर्यटकहरू पुग्छन्। तर अधिकांश भारतीय नै हुन्छन्। बिहार सरकारले वाल्मीकि आश्रम भ्रमण योजना अन्तर्गत बजेट विनियोजन गरेर हरेक वर्ष त्यहाँका विद्यार्थीलाई आश्रमको अध्ययन भ्रमणका लागि ल्याउँछ।
आफ्नै भूमिमा भएको गोरेटो समेत बन्द गरिएका कारण आश्रममा बस्ने १४ परिवार दैनिक उपभोग्य वस्तु किनमेलका लागि साइकल, मोटरसाइकल र पैदल यात्रा गरी भारतको बाटो हुँदै भारतीय बजार र नारायणीपारिको त्रिवेणी जानुपर्ने बाध्यता छ।
यो परिसरमा सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोलीसँगै राष्ट्रिय निकुञ्जबाट समेत दुई जना कर्मचारी खटिएका छन्।
बस्तीमा शिक्षा र स्वास्थ्य मात्र होइन, खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेटजस्ता आधारभूत सुविधा केही छैनन्। त्यसैले बस्तीमा बालबालिका बस्दैनन्। स्थानीयले स्कुल जाने उमेरका बालबालिकालाई भारत र त्रिवेणीतर्फ रहेका आफन्तको घरमा राखेर पढाइरहेका छन्।
बिजुलीको विकल्प एउटा सोलार छ।
'राती जनावरको डर हुने भएकाले दिउँसो बिजुली बचत गरेर राती बत्ती बाल्छौं,' पुजारी गिरीले भने, 'घाम नलागेको बेला त्यही पनि बल्दैन। खानेपानी पनि त्यस्तै समस्या छ।'
आश्रमबाट तीन किलोमिटर उत्तरबाट वर्षौँ पहिले पाइपलाइन जोडेर ल्याएको पानीले त्यहाँ पुग्ने पर्यटक र स्थानीयको तिर्खा मेटाउने गरेको छ। जंगलको बाटो हुँदै लामो दुरीबाट तानिएको पाइपलाइन वर्षाको समयमा बगाएर हैरानी हुने गरेको उनले बताए।
पूजा सामग्री बिक्री गर्ने स्थानीयका टहरा र छाप्रा राती हात्तीले भत्काएर हैरानी पार्छन्। जीविकोपार्जनको मुख्य स्रोत नै पूजा सामग्री बिक्री–वितरण भएकोले जति हैरानी भए पनि उनीहरू अन्यत्र जान सकेका छैनन्।

माडीमा पर्ने भए पनि यहाँका बासिन्दा प्रशासनिक कामका लागि त्रिवेणी पुग्छन्। मतदान पनि त्रिवेणीबाटै गर्दै आएका छन्। भूगोल एउटा जिल्ला र पालिकामा भए पनि भोट हाल्न अर्को जिल्ला र पालिकामा जाने भएकाले पनि माडी नगरपालिकाले त्यति ध्यान नदिएको स्थानीयको भनाइ छ।
'वाल्मीकि आश्रम माडीका लागि त जमिन मात्रै हो। त्यहाँ बस्नेहरूले त्रिवेणीबाट भोट हाल्दै आएका छन्। आफूले भोट नपाउने भएकाले होला माडीका जनप्रतिनिधिले पनि बेवास्ता गर्दै आएका छन्,' पुजारी गिरी भन्छन्।
माडी नगरपालिकाकी मेयर ताराकुमारी महतोले पनि त्यहाँ पुग्ने सडक सुविधा नभएको र आफूहरूका लागि पायक नपर्ने भएकाले त्यहाँको पछिल्लो अवस्थाबारे धेरै जानकारीमा नरहेको बताइन्।
'भूगोलका हिसाबले वाल्मीकि आश्रम माडी नगरपालिकामै पर्छ तर, स्वामित्व र अधिकार हामीसँग छैन। त्यसैले पनि काम गर्न धेरै कठिनाइ छ,' उनले भनिन्।
केही काम गर्न खोजे पनि निकुञ्जको स्वीकृतिबिना गर्न नपाइने भएकाले नसकिएको उनले बताइन्।
'केही वर्षपहिले माडी नगरपालिकाले नै बजेट छुट्ट्याएर गोरेटो बाटो बनाए जस्तो लाग्छ। अहिले त त्यो बाटो पनि भत्किएको छ भन्ने सुन्छु। त्यहाँ पुग्न हामीलाई पनि त्यति पायक पर्दैन,' मेयर महतोले भनिन्।
यसअघि बागमती प्रदेश सरकारले पनि २०७९/८० मा झोलुंगे पुल तरेपछि वाल्मीकि आश्रमसम्म जाने पहुँच मार्ग निर्माणका लागि २५ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। तर सो क्षेत्र गण्डक आयोजनाभित्र पर्ने भन्दै भारतीय पक्षले डोजर लगायत उपकरण लैजान रोक लगायो।
यसले गर्दा प्रदेश सरकारले विनियोजन गरेको बजेट फ्रिज भयो। बजेट फ्रिज भएपछि स्थानीयले श्रमदानबाट गोरेटो बाटो बनाएका थिए। अहिले त्यही बाटो पनि ठाउँ ठाउँमा पहिरो झरेर बिगारिदिएको छ, झाडीले हिँड्नै नमिल्ने गरी ढाकिएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल वाल्मीकि आश्रम प्राचीन तथा धार्मिक हिसाबले पनि विशिष्ट महत्त्वको क्षेत्र भएकाले प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउँछन्।
'बाटो बनाउँदा निकुञ्जभित्रबाटै बनाउनुपर्ने भएकाले मानिस र वन्यजन्तु दुवैतर्फ जोखिम हुन सक्छ। कसैलाई जोखिम नहुने गरी एउटा मापदण्ड बनाएर समस्या समाधान गर्नुपर्छ,' उनले भने, 'यस विषयमा बैठक बसेर निर्णय समेत गरिएको थियो।'
२०८२ चैत २३ गते सिडिओ अर्यालको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका पदाधिकारी, सदस्यहरू तथा अन्य सरोकारवालाहरू गरी ३८ जनाको उपस्थितिमा आश्रममै बैठक बसेको थियो।
सो बैठकले २०८३ वैशाख १ गतेदेखि लागू हुने गरी त्रिवेणी धामदेखि आश्रमसम्म जाने सुविधाप्राप्त बाटोको सञ्चालन तथा व्यवस्थापन गर्न निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सिफारिस गर्ने निर्णय गरेको थियो। साथै त्रिवेणीतर्फ झोलुंगे पुल रहेको स्थानमा त्रिवेणी गाउँपालिका र जिल्ला प्रशासन कार्यालय, नवलपुरको संयोजनमा आवश्यक पूर्वाधार व्यवस्थापन गर्ने तथा उक्त बाटोमा हिँड्न सूर्योदयदेखि सूर्यास्तसम्म समयसीमा तोक्ने निर्णय गरिएको थियो।
आश्रम परिसरमा बस्ने १४ परिवारको आवास व्यवस्थापन तथा बाटो स्तरोन्नतिका लागि थप बजेट व्यवस्थापन गर्न सम्बन्धित निकायसँग संस्थागत रूपमै पहल गर्ने निर्णय पनि गरिएको थियो।


जिल्ला सुरक्षा समितिको निर्णय र सिफारिसपछि निकुञ्ज तथा विभागले पर्यटकलाई नियमित बाटो प्रयोगको अनुमति निकुञ्जबाटै दिन भन्दै चैत २६ गते वन तथा वातावरण मन्त्रालयमा पत्र पठाएको थियो। मन्त्रालयले भने नियमित सञ्चालन नभई वैशाख १ र २ गते दुई दिनका लागि मात्र सञ्चालन गर्ने भन्दै चैत ३० गते निकुञ्ज तथा विभागमा जबाफ पठायो।
त्यसैले नियमित रूपमा बाटो सञ्चालन गर्ने जिल्ला सुरक्षा समितिको निर्णय र स्थानीयको चाहना पूरा हुन सकेको छैन।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनले सुविधाप्राप्त बाटो बनाउने गरी निकुञ्ज तथाविभागमा प्रस्ताव गरिएको र विभागबाट निर्णय भएर आएपछि सञ्चालनमा निकुञ्जबाट कुनै समस्या नहुने बताउँछन्।
प्राचीन स्थल र निकुञ्ज दुवै भएकाले सरकारले यसको दीर्घकालीन समस्या समाधानका लागि नियमावलीमै राखेर व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ।
'यसबारेमा स्थानीय पालिका, धार्मिक संघसंस्था र समुदायका आ–आफ्ना चासो रहन सक्छन्। कतिपयबाट राजस्व लिएर भए पनि बाटो सञ्चालन गर्नुपर्छ भनेर प्रस्ताव आएको छ। कतिपयले त्यहाँ जाने अधिकांश पाको उमेरका हुने भएकाले निःशुल्क गर्नुपर्ने प्रस्ताव गरेका छन्। सरकारले नियमावलीमै राखेर के गर्ने भन्ने निर्णय गर्नुपर्छ,' उनले भने।
झोलुंगे पुलको आश्रमतर्फको मुखमा ताला लगाएर आधिकारिक रूपमा बाटो बन्द गरिएको भए पनि दायाँबायाँबाट आवतजावत भइरहेको भन्दै सरकारले सुविधाप्राप्त बाटो बनाएको अवस्थामा निकुञ्जबाट आवागमनमा कुनै समस्या नहुने उनले बताए।
'यसो गर भनेर सरकारबाट कुनै निर्देशन त आउनुपर्यो नि। निर्देशन आएको अवस्थामा निकुञ्जबाट कुनै समस्या हुँदैन,' उनले भने।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयबमोजिम विनयी त्रिवेणी गाउँपालिकाले भने आफूलाई दिइएको जिम्मेवारी पूरा गरेको छ। गाउँपालिकाका प्रमुख घनश्याम गिरीले पुलको मुखमा चेकपोस्ट निर्माण गरिसकेको बताए।
वाल्मीकि आश्रमको प्रवर्द्धन र झोलुंगे पुल निर्माणका लागि पहल गर्दै आएका पूर्वसचिव आत्माराम पाण्डे यति महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र भएर पनि सामान्य बाटो निर्माणको विषयमा निर्णय नहुँदा वर्षौंदेखि ओझेलमा परिरहेको बताउँछन्।
'जागिरको सिलसिलामा २०४४ सालमा चितवन गएदेखि नै मलाई वाल्मीकि आश्रम व्यवस्थित बनाउनुपर्छ भन्ने लागेको थियो। जागिरे रहँदा आफ्नै बाध्यता रहेऽ २०७० सालमा सेवाबाट निवृत्त भएपछि यसैका लागि आवाज उठाइरहेको छु,' उनले भने।
आफ्नै आग्रह र पहलमा तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले बजेट विनियोजन गरी २०७० सालमा पुल शिलान्यास गरिएको उनले बताए।
'तर आश्रम पुग्ने बाटो नहुँदा वर्षौंदेखिको पल निरर्थक बन्यो,' उनले भने।
२०२२ सालमा उत्खनन गर्दा भेटिएका पुरातात्त्विक संरचनाहरूको संरक्षण हुन सकेको छैन। भेटिएका पुरातात्त्विक अवशेषहरू, सीताले प्रयोग गरेको मानिएको सिलौटो, कन्दमूल खाने स्थान, सीता धर्तीमा प्रवेश गरेको स्थान, अमृत कुवा, लव–कुश जन्मिएको, पढेको र अश्वमेध यज्ञको घोडा बाँधेको स्थान, विश्वामित्रले देह त्याग गरेको स्थान लगायत अहिले पनि यत्रतत्र छरिएका छन्।
६ दशकसम्म खुला छोडिएका प्राचीन वस्तुहरू संरक्षण नहुँदा हराउने र नासिने जोखिम बढेको छ।
