सीमा ढुंगाना एक काममा मात्र छैनन्। अस्पतालको वार्डमा बिरामीको हेरचाह गर्छिन्, नर्सिङका विद्यार्थीलाई पढाउँछिन् र क्रोनिक घाउको उपचारमा पनि संलग्न छिन्।
उनी पेसाले साइक्याट्रिक नर्स हुन्।
हाल उनी जर्मनीको बोनस्थित ल्यान्डेसफर्बान्ड राइनलान्ड (एलभिआर) – क्लिनिक बोन मनोचिकित्सा अस्पतालमा काम गर्छिन्।
'यो सरकारी अस्पताल हो, यहाँ काम गरेको ६ वर्ष भयो,' उनले भनिन्।
उनी अस्पतालको क्लोज वार्डमा कार्यरत छिन्। त्यहाँ मानसिक रूपमा अस्वस्थ बिरामीको उपचार हुन्छ।
बिरामीको हेरचाहका लागि २१ जनाको टिम छ। वार्डमा बेड पनि २१ वटै छ। केही बिरामीलाई बाँधेर राख्नुपर्ने अवस्था आउने भएकाले त्यस्ता बिरामीसँग एक जना नर्स हेरचाहका लागि अनिवार्य बस्नुपर्ने सीमाले जानकारी दिइन्।
'यो वार्डमा त एक जना बिरामीको लागि एक जना नर्स राख्नै पर्छ,' उनले सुनाइन्, 'अवस्था केही सुधार भएपछि अर्को वार्डमा पठाइन्छ।'
अस्पतालमा बिहान, दिउँसो वा बेलुका तीन सिफ्टमा काम हुन्छ। त्यसमध्ये तालिका अनुसार जुनसुकै सिफ्टमा ड्युटी पर्न सक्छ।
वार्डको कामसँगै सीमा नर्सिङका विद्यार्थीलाई पनि पढाउँछिन्। महिनामा एक साता उनको जिम्मेवारी शिक्षणतर्फ हुन्छ। पढाउने काम भएको बेला वार्डको काम गर्नु पर्दैन।
त्यसबाहेक लामो समयसम्म निको नहुने (क्रोनिक) घाउको उपचारको जिम्मेवारी पनि सीमालाई छ। त्यसका लागि अस्पतालमा एक जना डाक्टर हुन्छन्।

सीमा भक्तपुरकी रैथाने हुन्। परिवारको मुख्य आयस्रोत खेतीपाती थियो। घरको काममा सबैले उत्तिकै जिम्मेवारी बाँडफाँट गर्थे।
'हामी प्रायः घरका काम गर्थिम्। गाईवस्तु थिए, दाइ घाँस काट्थे,' उनले सुनाइन्, 'आमाले हामी छोरीहरूलाई कलम चलाउने हातले हँसिया चलाउने होइन, पढ्नुपर्छ भन्नुहुन्थ्यो।'
समयसँगै दाइ परदेशिएपछि सीमालाई घरको जिम्मेवारी बढ्यो। एसएलसी (एसइई सरह) दिएलगत्तै उनले नगरकोटस्थित सनराइज स्कुलमा अंग्रेजी पढाउन थालिन्।
एसएलसीमा राम्रो नतिजा आएपछि अधिवक्ता बन्ने लक्ष्यसहित कलेज भर्ना भइन्।
बिहान कलेज जाने र दिउँसो स्कुलमा पढाउने, उनको दैनिकी निकै व्यस्त थियो।
'स्कुलबाट मासिक पाँच हजार रूपैयाँ पारिश्रमिक पाउँथेँ। त्यो रकम बहिनीको स्कुल शुल्क तिर्न र घरायसी खर्चमा प्रयोग गर्थेँ,' उनले भनिन्।
बिस्तारै उनले नेपालमै काम गरेर आर्थिक रूपमा अघि बढ्न गाह्रो हुने महसुस गर्न थालिन्। अनि विदेश जाने सोच बनाएर जर्मन भाषा सिक्न थालिन्। भिसा आएपछि स्कुलको जागिर छोडिन्।
कम्पनीमार्फत उनी ओ–पेयर भिसामा सन् २०१८ मा जर्मनी आएकी हुन्। यो भनेको कुने परिवारसँग बसेर तिनका बालबालिकाको हेरचाह गर्न र सो देशको भाषा पढ्न दिइने भिसा हो।
'मान्छेहरू पढ्न भनेर विदेश आउँछन्। म त काम गर्ने, पैसा कमाउने भनेरै आएको हुँ,' सीमाले भनिन्, 'करिअरभन्दा पनि परिवारको आर्थिक अवस्था बलियो बनाउनु थियो।'
उनको काम एक जर्मन नागरिकको घरमा बच्चा हेर्ने काम थियो। बस्ने–खाने सुविधा र मासिक २५० युरो पारिश्रमिक पाउँथिन्।
बच्चालाई स्कुल पठाएपछि उनी जर्मन भाषा पढ्न जान्थिन्। फुर्सदमा पुस्तकालयमा बसेर पढ्थिन्। त्यसले भाषा सिक्न र नयाँ मानिससँग चिनजान बढाउन सहयोग पुग्यो।
तर उनले पाँच महिनामै त्यो घर छाडिन्।
'त्यो घरकी आमा कामको सिलसिलामा बाहिरै हुन्थिन्। कहिलेकाहीँ आउँथिन्। उनले बच्चालाई गरेको व्यवहार देख्न नसकेर त्यहाँ काम गर्नै मनलागेन। छोडिदिएँ,' उनले भनिन्।
त्यसपछि उनको जिन्दगीको उद्देश्य नै परिवर्तन भयो।
उनी होस्टल बसेर नर्सिङ पढ्न थालिन्। पढाइ चलिरहँदा अस्पतालमा काम पनि गर्थिन्। यसले उनको खर्च जुट्थ्यो।
नर्सिङमा उनको नतिजा राम्रो आयो। पढ्दै गर्दा नै उनले अहिले काम गरिरहेको अस्पतालमा कामका लागि आवेदन दिएकी थिइन्। सुरूमा नर्सहरूको असिस्टेन्टको जिम्मेवारीबाट काम थालिन्।

अस्पतालबाट कमाएको पैसा सबै घर पठाउँथिन्।
'मेरो बाल्यकाल त अभावमै बित्यो। घरको छतबाट पानी चुहिन्थ्यो। हुरी चल्दा जस्तापाता मिलाउन दौडिनुपर्थ्यो। अहिले आमाबुबा पक्की घरमा बस्न पाएको देख्दा विदेशको दुःख बिर्सिन्छु,' उनले भनिन्।
विदेश गएको तीन वर्षपछि मात्रै उनी २० दिनका लागि नेपाल आएकी थिइन्। नेपाल नआउन्जेल उनलाई निकै गाह्रो पनि भएको थियो।
'आमालाई एक पटक छुन पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो,' उनले सुनाइन्।
परिवारबाट टाढा बस्दा पीडा भए पनि उनले आफ्नो कामलाई निरन्तरता दिइरहिन्। अहिले भने आफ्नो कामबाट उनी सन्तुष्ट छिन्। तीन वटा जिम्मेवारी सम्हाल्ने भएकाले उनको आम्दानी पनि राम्रो छ।
जिम्मेवारीसँगै उनको संवेदनशीलता उत्तिकै बढेको छ। बिरामीलाई बाँध्नुपर्ने अवस्था आउँदा उनी निकै भावुक हुन्छिन्। विद्यार्थी फेल भए पनि उनलाई चिन्ता लाग्छ।
'यहाँ पहिलो परीक्षामै फेल भयो भने पढ्न पाइँदैन। मूल्यांकनको जिम्मेवारी मलाई पनि हुन्छ। त्यस्तो बेला धेरै गाह्रो लाग्छ,' उनले भनिन्, 'विद्यार्थीको भविष्यभन्दा बिरामीको जीवनबारे नै सोच्नुपर्छ।'
यही अनुभवले उनलाई अझ अगाडि बढ्न प्रेरित गरेको छ।
सीमा अब आफ्नो पढाइलाई निरन्तरता दिँदै साइकोलोजिस्ट बन्ने योजना बनाइरहेकी छन्। साइक्याट्रिक नर्स भएकाले मनोविज्ञान विषयमै अगाडि बढ्ने उनको सोच छ।
पेसागत जिम्मेवारीसँगै उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनीकी अध्यक्ष पनि हुन्। संस्थामार्फत नेपाली साहित्य र बालबालिकाका लागि नेपाली भाषा सिक्ने पुस्तक राखेर पुस्तकालय सञ्चालन गरिएको सीमाले जानकारी दिइन्।