नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेलाको तयारी गरिरहेको छ।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भेला हुनेछ।
पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा भेला गर्ने तयारी संस्थापनइतर पक्षको छ।
यो भेलामा निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने नेता कोइरालाले बताएका छन्।
देउवा ५ महिनापछि साउन २८ गते मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ।
गत पुसमा विशेष महाधिवेशनमा सहभागी नरहेका नेताहरूको अगुवाइमा भेला हुन लागेको हो। यसअघि उनीहरूले सातै प्रदेशमा भेला गरिसकेका छन्।
सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा सुरूदेखि नै सुनुवाइ गर्ने भएको छ। मुद्दा पुनरावलोकन हुने अनुमति अदालतले दिएको थियो।
संयोजक शशांक कोइरालाले भेलाका लागि राजनीतिक प्रतिवेदन लेखनजस्ता विभिन्न समितिहरू गठन पनि गठन गरेका छन्।
भेलामा को को सहभागी हुन्छन्?
संयोजक कोइरालाले सातै प्रदेश सभापतिहरूलाई पत्र पठाएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेश सभापति मात्रै संस्थापनइतर पक्षको भेलामा सहभागी हुने गरेका थिए।
पार्टीको सम्पूर्ण एकता र भावी कार्यदिशा तय गर्न आयोजित भेलामा सहभागी रहन भन्दै कोइरालाले प्रदेश सभापतिहरूलाई साउन २२ गते नै पत्र पठाएका थिए।
राष्ट्रिय भेलामा गाउँ/नगर सभापति, महाधिवेशन, महासमिति सदस्य, प्रतिनिधि सभा/प्रदेश सभा क्षेत्रीय सभापति, जिल्ला सभापति, पूर्व केन्द्रीय सदस्य, पूर्वसांसद, पूर्वमन्त्री, पूर्वपदाधिकारीलाई सहभागी हुन कोइरालाले भनेका छन्।