अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रशासनले इरानसँग गरिरहेको वार्तामा ओमानले बाधा पुर्याएमा बम हान्ने धम्की दिएको छ।
अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गर्दै स्ट्रेट अफ हर्मुज खोल्ने प्रयास गरिरहँदा ट्रम्पले उक्त धम्की दिएको बिबिसीले जनाएको छ।
अमेरिका र इरानबीच भइरहेको युद्धका कारण स्ट्रेट अफ हर्मुज करिब ६ महिनादेखि बन्द छ। यो जलमार्ग विश्वको अर्थतन्त्रका लागि एकदमै महत्वपूर्ण मानिन्छ।
फक्स न्युजका एक रिपोर्टरका अनुसार ट्रम्पले फोन अन्तर्वार्ताका क्रममा ओमानलाई यस्तो धम्की दिएका हुन्।
फक्स न्युजका रिपोर्टर ट्रे यिङ्स्टका अनुसार ट्रम्पले भनेका थिए, ‘यदि ओमानले बाटो छेक्छ भने, हामी उनीहरूलाई नराम्रोसँग बमबारी गर्नेछौं।’
तर आफ्नो सम्झौताको प्रयासमा ओमानले के कुरालाई ‘बाधा’ पुर्याएको ठानेको हो भनेर खुलाइएको छैन।
फक्स न्युजसँगको त्यही अन्तर्वार्तामा ट्रम्पले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरसँग अमेरिकाको प्रत्यक्ष गोप्य सम्पर्क रहेको दाबी पनि गरेको उल्लेख छ।
तर गार्डका एक प्रवक्ताले ट्रम्पको दाबी अस्वीकार गरेका छन्।
यसअघि सोमबार इरानी अधिकारीहरूले ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको बताएका थिए। उता, अमेरिका र इरानबीचको वार्ताको टुंगो भने अझै लागिसकेको छैन।
दुई देशबीच भएको ६० दिने समझदारीपत्रको अवधि पनि सकिने बेला भएको छ।
सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पलाई बिबिसी न्युजले उक्त समझदारीको अवधि थप्ने हो कि भनेर सोधेको थियो।
ट्रम्पले ‘नो’ भन्दै अस्वीकार गरेका थिए।
फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले स्ट्रेट अफ हर्मुजलाई बन्द गर्दै आएको छ। सामान्य अवस्थामा विश्वमा खपत हुने कुल तेल र ग्यासको करिब पाँच भागको एक भाग जलमार्ग हुँदै ओसारपसार हुने गर्छ।
ओमान स्ट्रेट अफ हर्मुजको दक्षिणी भागमा पर्छ। यो युद्धमा ओमान तटस्थ रहँदै आएको छ।