क्यानडाको बहुराष्ट्रिय टेलिकम कम्पनी एरिक्सन क्यानडा इंकमा काम गर्छन् जगदीश घिमिरे।
ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा इन्जिनियरिङ गरेका जगदीश त्यहाँ सिनियर सिस्टम डिजाइनरका रूपमा कार्यरत छन्।
अहिले आफू सिक्स–जी प्रविधि विकासका लागि अनुसन्धानमा सक्रिय भएको उनले बताए।
जगदीश सन् २०१० मा उच्च शिक्षाका लागि क्यानडा पुगेका थिए। त्यसअघि उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी र फ्रान्सको टेलिकम सुडपेरिसको संयुक्त कार्यक्रम अन्तर्गत टेलिकम्युनिकेसन विषयमा स्नातकोत्तर गरेका थिए।
'थाइल्यान्ड र फ्रान्सको सहकार्यमा सञ्चालन भएको मास्टर्स कार्यक्रम टेलिकम्युनिकेसनमै केन्द्रित थियो। पढाइ सकेपछि केही समय फ्रान्सको टेलिकम्युनिकेसन रिसर्च ल्याबमा टेक्निसियनका रूपमा काम गरेँ,' उनले भने।
त्यसपछि उनी क्यानडा गएका हुन्। त्यहाँ युनिभर्सिटी अफ वाटरलुबाट पिएचडी पूरा हुनुअघि नै उनले एरिक्सन कम्पनीमा काम थालेका थिए।
सन् २०१४ मा पिएचडी सकेर पनि उनले त्यहीँ काम गरिरहे।
सुरूमा उनी सिस्टम डिजाइनरका रूपमा काम गर्थे। त्यसपछि टेलिकम्युनिकेसन सफ्टवेयर सिस्टम डिजाइन गर्ने, सफ्टवेयर लेख्ने र नेटवर्कसँग सम्बन्धित विभिन्न प्रविधिमा काम गरे।
अहिले उनको काम अझ व्यापक भएको छ। डिजाइन, विश्लेषण, अनुसन्धान, ल्याब परीक्षणदेखि प्रतिवेदन तयार पार्ने र प्रविधिबारे अरूलाई बुझाउने पनि गर्छन्।
सिक्स–जी प्रविधि अहिलेसम्म व्यावसायिक रूपमा उपलब्ध नभए पनि विभिन्न कम्पनीहरूले यसको तयारी गरिरहेका छन्। अहिले यो प्रविधि प्रारम्भिक अनुसन्धानको चरणमा रहेको उनले बताए।
'कहिले सफ्टवेयर लेख्छु, कहिले ल्याबमा जान्छु, कहिले अनुसन्धानको प्रतिवेदन बनाउँछु। अहिले हामी सिक्स–जीमा कसरी जान सकिन्छ भनेर अनुसन्धान गरिरहेका छौं,' उनले भने, 'सिक्स–जी कहिले आउँछ भन्ने ठ्याक्कै भन्न गाह्रो छ। तर सन् २०३० तिर व्यावसायिक रूपमा आउने अपेक्षा छ। त्यसअघि धेरै अनुसन्धान र तयारी गर्नुपर्ने हुन्छ।'
सिक्स–जी केवल इन्टरनेटको गति बढाउने प्रविधि नभई नेटवर्कको गुणस्तर सुधार गर्ने, ऊर्जा खपत घटाउने र एआई प्रयोगमार्फत नेटवर्क प्रभावकारी बनाउने प्रविधि हुनेछ।
थ्री–जीबाट फोर–जीमा जाँदा डेटा चलाउन सहज भयो। फाइभ–जीमा डेटा फस्ट भनिन्छ। तर सिक्स–जीमा गति मात्र होइन, गुणस्तर र दक्षतामा पनि ध्यान दिइने उनले बताए।
सिक्स–जीमा फोनको ब्याट्री लामो समय टिकाउने, टावरहरूले कम बिजुली खपत गर्ने र एआई प्रयोगबाट नेटवर्क सुधार गर्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले जानकारी दिए।
उनी काम गर्ने एरिक्सन टेलिकम सेवा प्रदायक होइन, प्रविधि उपलब्ध गराउने भेन्डर कम्पनी हो। यो टेलिकम्युनिकेसन क्षेत्रमा मात्र केन्द्रित कम्पनी हो। यसले टावर, एन्टिना, नेटवर्कमा चल्ने डिभाइसदेखि बिलिङ प्रणालीसम्मका प्रविधि बनाउँछ।
इन्जिनियरहरूका लागि क्यानडामा राम्रो अवसर रहेको जगदीश बताउँछन्। यद्यपि प्रविधि क्षेत्रमा अमेरिका अगाडि रहेको उनको बुझाइ छ।
क्यानडामा चिसो मौसम भए पनि काम गर्न सहज वातावरण रहेको उनको अनुभव छ।
'क्यानडाको चिसो मौसमलाई धेरैले चुनौतीका रूपमा लिने भए पनि बिस्तारै अभ्यस्त हुन सकिन्छ। माइनस २५ डिग्रीसम्म तापक्रम पुग्छ। सुरूमा गाह्रो लागे पनि बस्दै गएपछि बानी पर्छ। कहिलेकाहीँ ठूलो हिउँको थुप्रो देख्दा पनि रमाइलो लाग्छ,' उनले भने।
उनका अनुसार क्यानेडियनहरू सभ्य हुन्छन्। कमाइको हिसाबले पनि क्यानडा आकर्षक छ। अमेरिकाको तुलनामा कमाइ अलि कम हुन सक्छ, तर खर्च पनि कम छ। स्वास्थ्य र शिक्षा पनि तुलनात्मक रूपमा सहज छ।
नेपाल प्रविधि विकासमा अझै पछाडि भए पनि प्रविधि प्रयोग गर्ने क्षमतामा नेपालीहरू अगाडि रहेको उनी बताउँछन्।
'पहिले नेपाल र विकसित देशबीच प्रविधिको ग्याप धेरै थियो। अहिले त्यो घट्दै गएको छ। सफ्टवेयर क्षेत्रमा नेपालले राम्रो गरिरहेको छ,' उनले भने, 'नेपालमा क्युआर सामान्य भइसकेको छ, जुन कुरा क्यानडामा अझै त्यति सामान्य छैन।'
नेपालबाट सफ्टवेयर निर्यातको पनि ठूलो सम्भावना रहेको र काम पनि भइरहेको उनले बताए।
१६ वर्ष क्यानडामा बिताइसकेका जगदीश पहिले पढेर फर्किन्छु भन्ने सोच्थे। तर पढाइ, कामले उतै अलमलिए।
'पछिल्लो समय पश्चिमा देशहरूमा आप्रवासन नीति कडा हुँदै गएको छ। उता कडाइ हुने र नेपालमा अवसर सहज हुँदै जाने हो भने फर्किने क्रम बढ्न सक्छ,' जगदीशले भने, 'म आफै पनि कति क्यानडा बस्ने भनेर सोच्छु। तर बच्चाहरू पढ्दै छन्, त्यसैले अहिल्यै कुनै ठोस योजना बनिसकेको छैन।'