नेपाली कांग्रेस निकटको प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीमाथि दुर्व्यवहार गरेका छन्।
बुधबार दिउँसो छलफलका लागि पुगेका संघका पदाधिकारीले रजिष्ट्रार उप्रेतीसँग विवाद गरेपछि उनी बस्ने कुर्सी कार्यकक्षबाट बाहिर फ्याँकिदिएका हुन्।
संघका अध्यक्ष जगत तिमिल्सिनालगायत प्रजातान्त्रिक प्राध्यापकहरूलाई नै विभिन्न ठाउँमा निरन्तरता दिनुपर्ने माग गर्दै उनीहरू रजिष्ट्रार उप्रेतीलाई भेट्न गएका थिए। सो क्रममा विवाद भएपछि प्राध्यापकहरूले नै कुर्सी फ्याँकेका हुन्।
घटनाबारे त्रिवि रजिष्ट्रार कार्यालयका एक कर्मचारीले सेतोपाटीसँग भने, ‘भागबन्डा खोज्दै प्राध्यापकहरू रजिष्ट्रारलाई भेट्न आएका थिए। कुराकानीका क्रममा विवाद भएपछि रजिष्ट्रार कार्यकक्षबाट उठेर बाहिर आउनुभएको बेला कुर्सी फ्याँकिदिएका हुन्।’
भागबन्डा माग्दै प्राध्यापकहरू रजिष्ट्रारलाई भेट्न आउनु नै दु:खद भएको उनले बताए।
‘कांग्रेसकै भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिविमा भागबन्डाविरूद्ध त्रिवि गेट र परिसरमा कालो ब्यानर राखेको छ तर कांग्रेसकै निकट संगठनका प्राध्यापक भागबन्डा खोज्दै रजिष्ट्रारको कुर्सी फ्याक्छन् के भन्ने?’ उनले भने।