महानगरीय प्रहरी बृत्त बानेश्वरले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ।
बृत्तबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ एक लाख २३ हजार ८ सय ३५ रुपैयाँसहित काठमाडौं-३१ संगम चोकबाट जुवाडेहरूलाई पक्राउ गरेको हो।
बृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा ८ जना पुरुष र दुई महिला छन्।
चाडपर्वको मुखमा जुवा खेलेर शान्ति सुरक्षामा चुनौती उत्पन्न गराएको सूचना पाएपछि बृत्तको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
एउटा घरमा जुवा खेलिरहेको सूचना पाएपछि बृत्तका प्रहरी नियन्त्रण गर्न गस्ती निस्किएका थिए। पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धान थालिएको रेग्मीले बताए।
डिएसपी रेग्मीका अनुसार पक्राउ परेकाले उक्त घरको दोस्रो तला भाडामा लिएका थिए। उनीहरूले रियल स्टेटको काम गर्ने फ्लाट नै भाडामा लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको रेग्मीले बताए।
‘घरबेटी न्युरोडमा कपडा व्यापार गर्दा रहेछन्, उनीहरूले बीचको फ्याट रियल स्टेटको कारोबार गर्ने भनेर भाडामा लिएर जुवा खेल्ने खेलाउने गर्दा रहेछन्,’ डिएसपी रेग्मीले भने।
पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी थालेको डिएसपी रेग्मीले बताए।