महोत्तरीको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको विहार राज्य स्थित सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नम्बर १ बस्ने २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
युवक साह ज१२प ७३३ नम्बरको मोटरसाइकलमा चढी जलेश्वरबाट भिठ्ठामोडतर्फ जाँदै गर्दा जलेश्वर नगरपालिका–२ स्थित खैराचोकमा खटिएका नेपाल प्रहरीको टोलीलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट १० किलो नौ सय ग्राम चाँदी बरामद भएको प्रहरी उपरीक्षक अधिकारीले बताए।
युवक साहले नेपालबाट चाँदी तस्करी गरी भारतमा लैजान लागेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। चाँदीसहित पक्राउ परेका युवक साहलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रासस