शनिबार सुनसरी र झापाका तीन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
शनिबार दिउँसो साढे १ बजेको समयमा सप्तरीबाट रामधुनीतर्फ जन्ती बोकेर आउँदै गरेको ना५ख ४९८९ नम्बरको बसका सहचालक सप्तरीको सप्तकोशी नगरपालिका-१ का ४५ को सन्तोष गुप्ताको मृत्यु भएको छ।
बसमा काम गर्ने क्रममा लडेर घाइते भएपछि उपचारको लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा साँझ ६ बजेको समयमा मृत्यु भएको थियो।
यसैगरी, सुनसरीको इटहरी उप-महानगरपालिका-१३ खनार स्थितमा रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार बेलुका पौने ८ बजे सडकको किनारमा रोकेर ट्रकमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को१४प ६०२३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक इटहरी-११ खनारका २५ वर्षीय अशोक चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा ट्रकको सिसा पुछिरहेका ट्रक चालक सिन्धुली-६ का ३१ वर्षीय गंगाप्रसाद नेपाल समेत घाइते भएका थिए।
घाइते दुबैलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर लागिएकोमा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यसैगरी, झापाको कन्काई नगरपालिका-७ बिरिङखोला पुलस्थित पूर्व-पश्चिम राजमार्गमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार राति साढे ९ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१०प २९५४ र मे११प २९२८ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका तीन जनालाई नै उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड लगिएकोमा उपचारको क्रममा मे११प २९२८ नम्बरको मोटरसाइकल चालक नितेश न्यौपानेको मृत्यु भएको हो।