श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलमाथि कार्यकक्षमै हातपात भएको छ।
उपसचिव सञ्जेलमाथि कार्यालयकै करारमा रहेका कर्मचारीहरूले हातपात गरेको आरोप छ।
शनिबार सार्वजनिक बिदा भए पनि सञ्जेल कार्यालयमै थिए।
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार शनिबार उपसचिव सञ्जेलमाथि हातपात भएको जानकारी आएलगत्तै कार्यालयमा प्रहरी पुगेको थियो।
‘उहाँमाथि हातपात भएको खबरपछि प्रहरी घटनास्थल पुगेको थियो,’ प्रजिअ निरौलाले भने, ‘घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ।’
सञ्जेललाई उनीहरूले चप्पल, पञ्चिङ मेसिनलगायतले हातपात गरेको आरोप छ।
सञ्जेलको अनुहारमा सामान्य चोट छ।
घटनामा संलग्न रहेको आरोप लागेका कर्मचारीहरू नेत्र भट्टराई निरौला र मेनुका सापकोटालाई प्रहरीले छलफलका लागि बोलाएको जनाएको छ।
स्रोतका अनुसार २४ सै घण्टा ड्युटीमा खटाएको भन्दै ती कर्मचारीले सञ्जेलको विरोध गर्दै आएका थिए।
प्रजिअ निरौलाका अनुसार सञ्जेल शनिबार पनि कार्यालयमा नियमित काम गर्ने गर्छन्। ‘उहाँ शनिबार मात्रै होइन अरू बार पनि काम नसकुञ्जेल कार्यालयमै बसेर काम गर्नुहुन्छ,’ उनले भने।