यतिबेला वैज्ञानिकहरू एउटा 'स्प्रे' को परीक्षण तथा विकासमा लागिपरेका छन्। यो स्प्रे मान्छेको नाकमा छिसछिस पार्ने हो। यसले मान्छेको शरीरमा कोरोना भाइरस प्रवेश रोक्न सक्ने विश्वास वैज्ञानिकहरूले गरेका छन्।
बेलायती अखबार द गार्डियनका अनुसार यसको एक जनावरमा परीक्षण भइसकेको छ। बिरालो प्रजातिको फेरेट्स नामक एक घरपालुवा जनावरमा गरिएको परीक्षणले आशावादी परिणाम देखिएको उनीहरूको भनाइ छ।
संसारभर कोरोना भाइरस संक्रमित संङ्ख्या बढ्दो छ। यस्तोमा शक्तिशाली देशहरू कोरोना संक्रमण नियन्त्रणका लागि खोप विकासको दौडमा छन्। केही वैज्ञानिकहरु भने कोरोना नियन्त्रणका लागि खोप बाहेकका विकल्पको खोजीमा पनि छन्।
द गार्डियनले जनाए अनुसार अहिले वैज्ञानिकहरूले औषधिजस्तै मलिक्युल विकास गरेका छन् जो स्प्रेमार्फत् हाम्रो नाकमा जानेछन्। यी मलिक्युल नाकका कोषहरूसँग अन्तर्क्रिया गर्नेछन्। यसो हुँदा हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता बढ्नेछ वा भनौं यसले हाम्रो प्रतिरक्षा प्रणाली थप सक्रिय पार्नेछ।
इम्पेरियल कलेज लन्डनको एयरवे रोग अनुसन्धान समूहका एक प्राध्यापक रोबर्टो सोलारीले द गार्डियनलाई भनेका छन्, 'यसले रक्षा कवच जस्तै काम गर्नेछ।'
सोलारी अष्ट्रेलियन बायोटेक कम्पनी एना रेस्पिरेटरी सल्लाहकार समेत हुन्। अष्ट्रेलियन बायोटेक कम्पनी एना रेस्पिरेटरीले नाक स्प्रेमा प्रयोग हुने मलिक्युल, औषधि विकासमा काम गर्दैछ।
सोलारीले यो औषधिले कसरी काम गर्छ भन्ने प्रक्रियाबारे खुलाउँदै भनेका छन्, 'प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाएपछि आइएनएनए-०५१ नामक पदार्थले अन्य केही प्रक्रियाहरू सक्रिय गराइदिन्छ। यीमध्ये साइटोकिन्स नामक प्रोटिनलाई सक्रिय बनाउँछ यसले कोषहरू भित्र भाइरस छिर्नबाट रोक्छ।'
हालसालै गरिएको एक अध्ययनले आइएनएनए-०५१ ले कसरी नाकबाट काम गर्छ भन्ने खुलेको छ।अनुसन्धानको समीक्षा भने हुन सकेको छैन।
स्तनधारी जनावर फेरेट्सलाई तीन समूह विभाजन गरी परीक्षण गरिएको थियो। ६ वटा फेरेट्सको नाकमा यो औषधि स्प्रे गरिएको थियो। चौथो समूहमा रहेका ६ वटा फेरेट्सलाई भने साधारण औषधि, 'प्लेसिबो' दिइयो।
फेरेट्स कोरोना सम्बन्धी जाँच-बुझ गर्न र अनुसन्धानका लागि प्रयोग गरिँदै आएको महत्त्वपूर्ण जनावर हो।
यसरी आइएनएनए-०५१ र प्लेसिबोको दोस्रो डोजपछि अनुसन्धान टोलीले फेरेट्सलाई कोरोना संक्रमण गराउने भाइरसको सम्पर्कमा राखे। त्यसपछि ती फेरेट्सको नियमित १२ दिनसम्म नाक र घाँटीको स्वाब नमूना परीक्षण गरिँदै गयो।
फेरेट्सहरूमा ५ दिनपछि कोरोना संक्रमण पुष्टि भयो। जाँचपछि प्लेसिबो दिइएका फेरेट्सको तुलनामा आइएनएनए-०५१ दिइएकाहरूमा ९६ प्रतिशत भाइरल आरएनएको मात्रा कम देखियो। भाइरल आरएनएले कोरोना भाइरस संक्रमण गराउने हो।
आइएनएनए-०५१ कतिको प्रभावकारी र सुरक्षित छ भन्ने पुष्टि गर्न अब यो मलिक्युलर स्प्रे मान्छेमा परीक्षण गर्नु आवश्यक छ।
प्राध्यापक सोलारीका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका उपायका रूपमा यो आइएनएनए-०५१ मा आधारित नाक स्प्रे हप्तामा दुई पटक प्रयोग गर्न सकिन्छ।
उनले भनेका छन्, 'सुरूमा यो सबभन्दा बढी जोखिम भएको समूह वा स्वास्थ्यकर्मीहरूमा परीक्षण गर्न सकिन्छ। यो स्प्रेले संक्रमितमा देखिने लक्षिणको अवधि र गम्भीरता कम गर्छ भन्ने आशा राखेका छौं। साथै यसले नाकमा भएको भाइरस कण संख्या पनि घटाउँछ भन्ने विश्वास राखेका छौं। तर यो अध्ययन हालसम्म मान्छेमा भएको छैन।'