किज बल्दोर मानिसहरूलाई प्रायजसो समुन्द्र किनार, म्यूजियम, चिडियाखाना, खेल मैदान, एक्वारियम, चर्च र खेत घुमाइरहेका हुन्छन् तर उमेरले ६० पुगेका किज कुनै पर्यटक गाइड भने होइनन्।
उनले मानिसहरूलाई घुमाउन थालेको एक दशक भइसकेको छ। उनी कसैको सहारा बिना कहिकतै जान नसक्ने गम्भीर रोग लागेका मानिसहरूलाई उनीहरूको मृत्यु अघि उनीहरूको मनपर्ने ठाउँ देखाउन लैजान्छन्।
किज यस क्रममा आफूले अनुभव गरेका केही शानदार यात्राहरूको अनुभव यसरी सुनाउँछन्।
भ्याटिकनको यात्रा
किजको पछिल्लो समयको अविस्मरणीय यात्रा भ्याटिकनको हो। उनी समयभन्दा चाँडो रोम पुगेका थिए। सन् २०१३ मा ओछ्यान परेकी एक ६० वर्षीय महिलाले पोपलाई भेट्ने चाहना राखेपछि उनी भेटिकन पुगेका हुन्।
ती महिलाको इच्छा सुनेपछि किजले सुरूमा पोप कहिले र कतिबेला मानिसहरूको अभिवादन स्वीकार गर्न बाहिर आउँछन् भनेर वेबसाइटबाट जानकारी हासिल गरे।
प्राप्त जानकारीले ती महिलाको इच्छा पूरा हुने देखायो। त्यसपछि उनी ती महिलालाई लिएर रोटेरडमबाट १६ सय किलोमिटर पार गर्दै भ्याटिक पुगे।
'मैले स्ट्रेचरमै सबैभन्दा अगाडिको लाइनमा उनलाई राखें। त्यहाँ केही मानिसहरू ह्विलचियरमै पोपलाई पर्खिरहेका थिए तर स्ट्रेचरमा बस्ने उनी एक्ली थिइन्', उनले सो पलको सम्झना गरे।
उनलाई पोपको ध्यान आफूले लिएर गएकी महिलामाथि तुरून्तै पर्ने लागिरहेको थियो। नभन्दै पोपले उनीसँग भेट गरे, उनको हात समाते र भलाकुसारी गरे।
'पोपले उनलाई आशिर्वाद दिदैं उनका लागि प्रार्थना गरे। जीवनपछिको यात्राका लागि शुभकामनासमेत दिए', उनले बताए।
त्यो क्षणले ती महिलालाई एकदमै राहत दियो। लगत्तै उनीहरू त्यहाँबाट फर्किए।
पोपलाई भेटेको केही दिनपछि नै ती महिलाको निधन भयो।
समुन्द्र र जनावरहरू हेर्न चाहनेहरू
किजले यसक्रममा केही मानिसहरूको अनौठो आग्रहलाई पनि पूरा गरेका छन्।
उनले एक बिरामीलाई उनको एकदमै मनपर्ने जनावर घोडासँग बिदा माग्ने चाहाना पूरा गर्न घोडाको तबेला पुर्याएका छन्। यस्ता कयौं बिरामी थिए जो आफ्ना प्रिय पाल्तु जनावरलाई मर्नुअघि बिदाइको हात हल्लाउन चाहन्थे।
उनका अनुसार यस्ता धेरै मानिसहरूमा आफ्नो घर र त्यसको वरीपरी हेर्ने चाहाना हुन्छ।
खेलकुद, म्यूजियम, चिडियाखाना र एक्वारियम हेर्ने इच्छा पनि मानिसहरूले राखिरहन्छन्।
तर किजका लागि कयौं मानिसहरूको समुन्द्रप्रतिको कौतुहल्ता भने एउटा रहस्यका रूपमा रहेको छ। थोरै ठीक अवस्थामा रहेका बिरामीलाई उनले समुन्द्रमा सानो डुङ्गामा सयर गराएका छन्।
किज प्यारामेडिकल सेवामा एक एम्बुलेन्स चालका रूपमा काम गर्थे। यस अवधिमा उनले कयौं वर्ष मृत्युलाई नजिकबाट हेरे पनि
किज आफूलाई यसले असर नगर्ने बताउँछन्।
उनले सहयोग गरेका मानिसहरूमध्ये धेरैजसोको उमेर ७० देखि ९० वर्षसम्मको छ। तर कहिलेकाँहि लक्काजवान बिरामीको सामना हुँदा भने उनलाई कठिन हुन्छ।
मन कुड्याउँने अनुभवहरू
'उमेर पुगेका मानिसहरूको मृत्युलाई बुझ्न सकिन्छ तर जब तपाईं एउटा नौजवानलाई मर्दै गरेको देख्नुहुन्छ तब तपाईंको मन भाँडिन्छ', उनी भन्छन्।
सन् २००९ मा उनलाई एक हताश युवाले फोन गरे। ती युवा किजले आफ्नी प्रेमिकालाई अस्पतालबाट उनको घर ल्याइदिउँन भन्ने चाहन्थे।
ती युवककी प्रेमिका क्यान्सरबाट पीडित थिइन् र मृत्युको नजिक पनि। उनी आफ्नी प्रेमिकालाई घर ल्याएर आफ्नो नयाँ फ्ल्याट देखाउन चाहन्थे। सो फ्ल्याट उनकी प्रेमिकाले कहिले देखेकी थिइनन्।
डाक्टरहरूले अनुमति दिएपछि किजले ती युवककोमा उनकी प्रेमिकालाई लगिदिए।
'मैले केही घण्टाका लागि उनलाई उनकी प्रेमिकासँग छोडिदिएको थिएं र त्यहाँबाट अस्पताल फर्किएको केही घण्टापछि नै उनको मृत्यु भयो', उनले भने।
मृत्युसँगको साक्षात्कार
जागिरमा रहँदा उनले मृत्युलाई नजिकबाट देखेका छन्। यहीबाट उनलाई नयाँ सोच आयो।
उनलाई लाग्यो- यसलाई बदल्न त सकिन्न तर यसलाई राम्रो अनुभवमा भने परिवर्तन गर्न सकिन्छ।
'जब एकपटक तपाईंको दृष्टि खुल्छ नि तपाईंलाई केही कुरा गर्न राम्रो तरिकाको सहयोग हुन्छ। हामी मृत्युलाई रोक्न त सक्दैनौं, कहिलेकाँहि यसलाई छोड्दिनुपर्छ', उनले भने।
कोरोनाको महामारीमा भएको प्रतिबन्धका बेलामा पनि उनी मानिसका अन्तिम इच्छा पूरा गर्नमा लागिरहेका थिए।
कसरी भयो सुरू भयो यो काम?
किजले जीन्दगीलाई कहिले पनि यस हिसाबले सोचेका थिएनन्। तर सन् २००६ मा घटेको एउटा घटनाले उनको जिन्दगी बदलिदियो।
'म त्यतिबेला एउटा अस्पतालमा काम गर्थे र एकदिन गम्भीर रूपले बिरामी भएका एकजनालाई अर्को अस्पताल लैजानमा लागिरहेको थिए। ती बिरामी स्ट्रेचरमा थिए। उनी धेरै बाँचे तीन महिनासम्म बाँच्ने भनिएको थियो', उनले सम्झना गरे।
यसैबेला उनले ती बिरामीलाई उनले सबैभन्दा धेरै कुन ठाउँ सम्झन्छन् भनेर सोधे। उनले समुन्द्र र जहाज हेर्न चाहेको बताए।
त्यसपछि किजले रोटेरडम बन्दरगाहमा फोन गरेर बिरामीलाई ल्याउन मिल्छ भनेर सोधे।
'मैले मेरो छुट्टीको दिन मेरा दुई साथीलाई सहयोगका लागि भने। मैले उनलाई बन्दरगाह ल्याएर नजिकबाट समुन्द्रका लहरहरू देखाएं', उनले स्मरण गरे।
त्यतिबेला उनले मृत्युलाई पर्खिरहेका ती बिरामीको मनस्थितिमा एउटा ठूलो परिवर्तन भएको देखे।
'अचानक बिरामीको अनुहारमा चमक देखियो। उनी मुस्कुराए। उनमा उर्जा भरिएर आयो', उनले भने।
यसबाट प्रभावित भएका किजले त्यसपछि बिरामीलाई स्ट्रेचरसहित एक डुङ्गामा राखिदिए। उनले यस्तो ती बिरामीले आउँदाजाँदै गरेका जहाजहरू हेरून् भनेर गरेका थिए।
'यो देखेर ती बिरामी रोमाञ्चित र भावुक भए। उसले आएर मलाई अजनबी भएर पनि मेरो लागि यति गर्यौं भने', उनले भने।
ती बिरामी गम्भीर रूपले क्यान्सरबाट पीडित थिए। ऊ यस्तो अवस्थामा थियो कि आफैं कतै जान सक्दैन थियो। उसलाई बाँच्न मन थियो।
अस्पताल फिर्ता ल्याएपछि ती बिरामी धेरै खुशी बने।
अप्रिल, २००७ मा उनको निधन भयो। डाक्टरहरूले तीन महिनामात्र बाँच्छ भनेकोमा उनी त्यो भन्दा बढी समय बाँचे।
'यो कुराले मलाई सोच्न बाध्य बनायो। मैले मेरी पत्नीसँग मिलेर यस्ता मानिसहरूलाई सहयोग गर्ने अभियान सुरू गरें', उनले भने।
यस घटनाबाट प्रेरित भएका उनले स्टिचिंग एम्बुलेन्स वेम्स-एम्बुलेन्स विश फाउन्डेसनको सुरूवात गरे।
निःशुल्क सेवा
दुई वर्षसम्म उनी र उनकी पत्नीले प्यारामेडिकमा आफूहरूलाई निरन्तरता दिए तर उनीहरूको सेवाको माग बढ्दै गएपछि उनले आफ्नो जागिर छोड्नुपर्यो। त्यसपछि उनले पुर्णरूपमा यसैकाममा आफूलाई समर्पित गरे।
त्यसयता उनको फाउन्डेसनले करिब १५ हजार मानिसहरूलाई उनीहरूको मनपर्ने ठाउँ जान सहयोग गरिसकेको छ। त्यसमा दुई हजार जनालाई त उनी एक्लैले उनीहरूको प्रिय ठाँउमा लिएर गएका छन्।
'कयौंपटक मैले उनीहरूको अनुहारमा अपार खुशी देखेको छु। यसले मलाई पटकपटक यस्तो गर्न प्रेरणा दिने गरेको छ', उनले भने।
उनीसँग यस कार्यका लागि सात वटा एम्बुलेन्स छ र १४ देशमा यस्तै किसिमको फाउन्डेसनको सुरूवात गरेका छन्। यो व्यवसाय होइन र यसका लागि बिरामीले कुनै शुल्क तिर्न पर्दैन।
'हामीले सरकारबाट पनि कुनै पैसा पाउँदैनौं तर चन्दा भने हामीले पाइरहेका छौं', उनले भने।
कुरा गर्न मुश्किल
बिरामीको इच्छा अनुसारको स्थानमा पुर्याउन प्रयोग हुने एम्बुलेन्समा बिरामीका अलावा अन्य दुई जना पनि साथै हुने गर्छन् तर उनीहरूका बिचमा मुश्किलले कुराकानी हुने गर्छ।
'धेरैजसो मानिसहरू मृत्युको बारेमा कुरा गर्न चाहँदैनन्। महिलाहरू यसबारेमा आफ्ना पतिसँग कुरा गर्छन् तर पुरूषहरू आफ्नी पत्नीसँग यसबारेमा कुरा गर्नबाट बच्ने गर्छन्', उनले भने।
उनले आफूले पनि उनीहरूलाई कुरा गर्न कहिले प्रोत्साहित नगर्ने गरेको बताए।
'कहिलेकाँही म उनीहरूसँग बस्छु र कुराकानी सुरू गराएर एक्लै छोडिदिन्छु, फर्किदा उनीहरूलाई अक्सर रोइरहेको अवस्थामा भेट्छु', उनले भने, 'आफ्नो जीवनसाथीलाई ढाडस दिन सजिलो हुँदैन तर यो जरूरी भने छ।'
उनका अनुसार मानिसहरूमा मृत्युलाई लिएर फरकफरक दृष्टिकोण हुनेगर्छ।
'केही मानिसहरू मृत्युलाई स्वीकार गर्छँन्। केही चाँडै हार मान्न चाहँदैनन्। अन्तिम समयमा पनि उनीहरू लड्न सकिन्छ भने आशामा रहने गरेका छन्', उनले भने।
किजले निक्कै कम मानिसले मात्र जीवनको अन्तिम समयमा आफूले गरेको काममा पछुतो मान्ने गरेको बताउँछन्। धेरैजसो मानिसहरू आफ्नो अतीतलाई खुशी भएर सम्झने गर्छन्।
किजलाई अक्सर उनी आफ्नो अन्तिम समयमा के हेर्न चाहन्छन् भनेर सोध्ने गर्छन्।
'यसको बारेमा अहिले नै भन्न गार्हो छ। अन्तिम समयमा नै यसको फैसला लिन सकिनेछ। तर सायद म मेरो अन्तिम समयमा मेरो वरीपरी मेरा बच्चाहरू हुन् भन्ने चाहन्छु', उनले भने।