तिहार आउनुअघि नै राजधानीमा अति प्रज्जवलनशील पदार्थ पटाका भित्रिन थालेको छ। रौतहटबाट काठमाडौं भित्रिँदै गरेको ठूलो परिमाणको पटाकासहित एकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार नागढुंगा चेक प्वाइन्टबाट रौतहट राजदेवी नगरपालिका-६ का ३२ वर्षीय पिन्टु जैसवाललाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनी ना६ख ७११४ नम्बरको यात्रुबाहक बसमा पटाका लिएर काठमाडौं आइरहेका थिए।
उनको साथबाट खुर्सानी पटाका ८ हजार ४०० थान, सिंगल रकेट १२ थान, गमला पटाका ८० थान, बुलेट पटाका १०० थान र लामो रकेट पटाका १९० थान बरामद भएको वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।
पक्राउ परेका जैसवाललाई हिरासतमा राखिएको छ। उनीमाथि मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान थालिएको श्रेष्ठले बताए।
पटाका विशेषगरी तिहार छठ पर्वमा बढी प्रयोग हुने गरेको छ। असुरक्षित प्रयोग भए मानिसको ज्यानसम्म जानसक्ने र अंगभंग हुने भएकाले पटाकाको बिक्री-वितरणमा प्रहरीले कडाइ गर्ने गरेको छ।
पटाका नेपालमा बिक्री-वितरण प्रतिबन्ध छ। सीमावर्ती भारतीय बजारमा खुलेआम पाइने हुनाले व्यापारीले पटाका लुकाइछिपाइ नेपाल भित्र्याउने गरेका छन्।
यस्तै, प्रहरीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामै चेकजाँचको क्रममा महेन्द्रगनरबाट काठमाडौं आइरहेको ना७ख ४५५ नम्बरको बसबाट १० बोरा पटाका बरामद गरेको छ।
उक्त बसमा ल्याइएको १० वटा बोरामा २ लाख ६६ हजार थान पटका फेला परेको डिएसपी श्रेष्ठले बताए।
अनुसन्धानको क्रममा तत्काल उक्त बसका चालक जिल्ला कन्चनपुर भीमदत्त नगरपालिका-४ का ३० को वर्षीय नवीन जोशीलाई पक्राउ गरिएको उनले बताए।
उक्त पटका तिहार पर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा बिक्री-वितरण गर्न महेन्द्रनगरबाट ल्याइएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ। बरामद भएको पटकाको ‘अवैध’ बजार मूल्य अन्दाजी १३ लाख ३० हजार रूपैयाँ रहेको श्रेष्ठले बताए।
पक्राउ परेका चालकलाई विष्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।