नेपाली कांग्रेसभित्र अहिले अधिवेशनबारे व्यापक बहस चलिरहेको छ। अधिवेशन चुनावअगाडि हुने कि पछाडि हुने? नियमित हुने कि विशेष अधिवेशन हुने? यही विषयमा पार्टीभित्र झगडा भइरहेको छ र पार्टी यही कुरामा अड्किएको छ भन्नेबारे जताततै समाचार आइरहेका छन्।
पार्टीभित्रका साथीहरूलाई हामी एक ढिक्का हुनुपर्ने बेला यो के विषयमा अड्कियौं भन्ने लाग्ला। पार्टी बाहिरका साथीहरूलाई पनि देशमा यत्रो आगो दन्किएका बेला कांग्रेस आफ्नै अधिवेशनको विषयमा अड्किएको छ भन्ने लाग्ला। तर के साँच्चिकै यो विषय अधिवेशनको मात्र हो त?
होइन।
अधिवेशनको विषयलाई हामीले योभन्दा व्यापक ढंगले हेर्न आवश्यक छ।
हामीले देशप्रतिको जिम्मेवारीबोध, अहिलेको अवस्थाप्रतिको चिन्ता र चिन्तनका साथमा अधिवेशनको विषयलाई प्रवेश गराएका हौं।
भदौ २३ भन्दा अगाडि नेपाली कांग्रेसको आफ्नो एउटा गति थियो, आफ्नो एउटा योजना थियो। हामी अर्को वर्ष अधिवेशन गर्ने भनेर सोचिरहेका थियौं।तर त्यसैबीच भदौ २३ र २४ गते ठूलो उथलपुथल भयो। २३ गते राज्यबाट ठूलो दमन भयो, हिंसा भयो; अनि २४ गते थुप्रै अवाञ्छित क्रियाकलापहरू भए।
यी दुई दिन जेन-जी मात्र होइन, सबै उमेर समूहका नागरिकले भ्रष्टाचार, नातावाद, कृपावाद, अक्षमता र कुशासनविरूद्ध व्यापक रूपमा आफ्नो असन्तोष जाहेर गरे। त्यो असन्तोषको एउटा कारण नेपाली कांग्रेस पनि हो भनेर हामीमाथि पनि प्रश्न उठ्यो।
देशमा पहिलो पटक नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन नभएको मात्र होइन, यो आन्दोलन हाम्रैविरूद्ध पनि लक्षित हुन पुग्यो। के हामी यो कुरा बिर्सेर अगाडि बढ्न सक्छौं?
हामी संसदको पहिलो पार्टी थियौं, सत्तापक्ष थियौं। आज हामी न सत्तापक्ष छौं, न प्रतिपक्ष छौं; हामी सडकमा आइपुगेका छौं। आज हामीमाथि विश्वासको ठूलो संकट छ। हाम्रो प्रासंगिकतामाथि नै प्रश्न उठेको छ।
आज कति नागरिकले, खासगरी नवजवानहरूले हामीलाई साहस होइन, सम्झौतासँग; निष्ठा होइन, भ्रष्टाचारसँग; आदर्श होइन, अवसरवादसँग जोडेर हेरिरहेका छन्। यो बेला हामीले आफू कहाँ चुक्यौं, किन चुक्यौं, कसरी चुक्यौं, के नगर्नुपर्ने कुरा गर्यौं र के गर्नुपर्ने कुरा गरेनौं भनेर एक पटक समीक्षा गर्नुपर्दैन?
समीक्षा मात्र होइन, त्यो समीक्षाबाट आएका कुरालाई हामीले सच्याउनुपर्दैन? स्वीकार गर्नुपर्दैन? संकल्प गर्नुपर्दैन?
अनि त्यसकै आधारमा हामीले नागरिकहरूलाई यो–यो ठाउँमा हामी चुक्यौं, अब हामी चुक्दैनौं, हामी बदलिन्छौं भनेर भन्नुपर्दैन?
यो कुरा नभनी हामी नागरिकहरूमाझ जान सक्छौं?
यसका लागि के हामीलाई अधिवेशनको आवश्यकता छैन?
यसो भन्दै गर्दा मैले कसैलाई दोष दिइरहेको छैन। म आफै नेपाली कांग्रेसको नेतृत्वको हिस्सा हुँ। कतिपय निर्णयको भागीदार म पनि हुँ। यस आधारमा म त्यसको जिम्मा लिँदै यो कुरा भनिरहेको छु।
पार्टीका सदस्यहरूलाई मेरो आग्रह छ — यो कुनै व्यक्तिको कुरा होइन, नेपाली कांग्रेस पार्टीको निम्ति अनिवार्य र अपरिहार्य सर्त हो।
पार्टी बाहिरका युवा साथीहरू, जो भदौ २३ र २४ को आन्दोलनमा सहभागी हुनुभयो, म उहाँहरूलाई पनि आग्रह गर्न चाहन्छु — नेपाली कांग्रेसभित्रको छलफलको कुरालाई तपाईंहरूले पनि नजिकबाट नियाल्दिनुपर्छ। किनकि, यो तपाईंहरूको सुधारको मागसँग जोडिएको छ।
भदौ २३ र २४ को आन्दोलनले उठाएको एउटा विषय भनेको नेपालभित्रका सबै संस्था सुध्रिनुपर्छ भन्ने हो। अदालत, प्रहरी, प्रशासन सबै सुध्रिनुपर्छ भन्ने नै आन्दोलनको मर्म हो। र, सुध्रिनुपर्ने एउटा मुख्य संस्था भनेको राजनीतिक पार्टी पनि हो। हाम्रा सबै पार्टी सुध्रिए भने र खासगरी भ्रष्टाचार र कुशासनका सन्दर्भमा सबै पार्टी प्रस्ट भएर आए भने मात्र त्यसले देशलाई सुधार्ने अवस्था बन्छ।
हामी नसुध्री, आफूलाई नबदली तपाईंहरूको हुलमा आयौं, तपाईंहरूको कार्यक्रममा आयौं, तपाईंहरूसँग कुममा कुम जोड्न आयौं र तपाईंहरूसँग मुख मिलाउन आयौं भने त्यो केवल औपचारिकता हुनेछ।
हामीले आफूलाई बदलेर ठिक ठाउँमा आयौं भने मात्र तपाईंहरूले उठाएका मुद्दा बोक्न सक्ने पार्टी बनाउन सक्छौं।
त्यसैले नेपाली कांग्रेसको अधिवेशनका नाममा अहिले केन्द्रित भइरहेको कुरा मसँग वा मेरो पार्टीसँग मात्र जोडिएको विषय होइन। यो तपाईंहरूको आन्दोलन र तपाईंहरूको संघर्षसँग पनि जोडिएको विषय हो।
यो अधिवेशनमा हामी के गर्छौं त?
पहिलो कुरा, हामी अहिलेको अवस्थामा नेपाली कांग्रेसको भूमिका के हो भनेर खोज्छौं।
हामी नेपाली कांग्रेसलाई राष्ट्रिय शक्ति भन्छौं। त्यो भनेको के हो?
देशको अगाडि जुन बेला समस्या आउँछ, त्यो समस्यालाई ऐतिहासिक ढंगमा हेर्न सक्ने, राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति बुझ्ने र त्यो समस्या समाधान निम्ति जीउज्यान लगाएर पहल गर्ने। व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने, पार्टीगत स्वार्थभन्दा माथि उठ्ने र व्यापक दायरामा जनपरिचालन गर्न सक्ने। त्यो सामर्थ्य जसले राख्छ, त्यो राष्ट्रिय शक्ति हो।
हामीले यसलाई पटक पटक प्रमाणित गरेर आएका छौं। त्यसो भए के हामीले यस पटक आफूलाई राष्ट्रिय शक्ति हुँ भनेर प्रमाणित गर्नुपर्दैन?
भदौ २३ र २४ गते पछाडि नेपालसामु दुईवटा सम्भावना हुन सक्छन् भनेर म अनुमान लगाउँछु —
एउटा, हामी थप हिंसाको चक्रमा पर्न सक्छौं। थप अन्यौलमा फस्न सक्छौं।
दोस्रो, भदौ २३ गतेभन्दा अगाडि हामी जस्तो थियौं, शान्ति र स्थिरताका नाममा हामी त्यही स्थितिमा अड्किएर बस्न सक्छौं।
यी दुवै हामीले अपेक्षा गरेको कुरा होइन। वाञ्छनीय कुरा पनि होइन।
त्यसो भए गर्ने के हो त?
सबभन्दा पहिला त, हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई जोगाउँदै; हाम्रो अहिलेको जुन भू–राजनीतिक संवेदनशीलता छ, यो संवेदनशीलता बुझेर बढो चलाखीपूर्ण ढंगबाट आफ्ना कदमहरू चाल्दै; सुशासन निम्ति, थिति बसाल्नका निम्ति जुन आवाजहरू मुखरित भएर आएका छन्, त्यसलाई संस्थागत गर्ने बाटोमा नेपाललाई अगाडि बढाउनुपर्नेछ।
हामीले आमनागरिकलाई विश्वास दिलाउनुपर्नेछ — जे भयो भयो, हामी अब आन्दोलनका जुन भावना छन्, त्यसलाई समेटेर अगाडि जान्छौं।
अहिले अर्थतन्त्र ठूलो स्तरमा तलमाथि भएको छ, हामीले त्यहाँ पनि विश्वास दिलाउनुपर्नेछ।
जसले आफ्नो परिवारका सदस्य गुमाउनुभएको छ, जो अहिले पनि घाइते हुनुहुन्छ; ती साथीहरूलाई र त्यो परिवारका सदस्यहरूलाई हाम्रो मिहिनेत खेर गएन, हाम्रो त्याग खेर गएन भन्ने विश्वास दिलाउनुपर्नेछ।
यसका निम्ति नेपाली कांग्रेस पार्टीले हामी यो जिम्मेवारी पूरा गर्छौं भनेर अधिवेशनबाट संकल्प गर्नुपर्नेछ।
हामी अन्य राजनीतिक दलहरूसँग कुराकानी गर्छौं, सरकारसँग कुराकानी गर्छौं, जेन-जी आन्दोलनमा लागेका साथीहरूसँग कुराकानी गर्छौं भनेर संकल्प गर्नुपर्नेछ। त्यस्तो कुराकानी गर्न हामीलाई नैतिक तागत चाहिन्छ। त्यो नैतिक तागत हाम्रो समीक्षाबाट मात्र आउँछ, हाम्रो सुधारबाट मात्र आउँछ।
हामी के के कुरामा बदलिने हो? के गर्ने हो, के नगर्ने हो? यी सबै कुराका लागि आफूलाई तयार गर्यौं भने त्यसपछिको नेपाली कांग्रेसले बल्ल सबैसँग संवाद गर्न सक्छ र यो जिम्मेवारी निर्वाह गर्न सक्छ।
हो, यसका निम्ति हामीलाई अधिवेशन चाहिएको छ।
दोस्रो कुरा, अहिले नयाँ र पुरानोको बहस चलिरहेको छ। नेपाली कांग्रेस पुरानो पार्टी हो, वर्षौं पुरानो पार्टी हो। हामीले पार्टी खोल्ने बेला के भनेका थियौं? हाम्रा पितापुर्खाले के भनेका थिए?
उनीहरूले व्यक्तिगत स्वतन्त्रताको कुरा गरेका थिए। कानुनी राज्य, अवसरको समानता, सामाजिक न्याय लगायत कुरा नेपाली समाजमा स्थापना गर्न पार्टी संगठन बनाएको भनेका थिए।
के यी पुराना कुरा हुन् त? के यी कुरा थोत्रा भए त? के आजका नवजवानहरूले पनि यही कुरा भनिरहेका छैनन् र?
उनीहरूले भनिरहेका छन् — हामी तिमीहरूका यी आदर्शको सम्मान गर्छौं। तर तिमीले मानेको आदर्श आफ्नै जीवनमा अवलम्बन गरिरहेका छौ कि छैनौ?
अहिले सबैले सोधिरहेको प्रश्न यही हो।
तिम्रो मूल्य कालातीत छ, तर त्यो मूल्यमा तिमीहरू आफै बाँचिरहेका छौ कि छैनौ?
उनीहरूले गरिरहेको प्रश्न यही हो।
उनीहरूले हामीलाई पत्याइरहेका छैनन्। जुन उद्देश्यका लागि यो पार्टी बन्यो, यति धेरै त्याग र संघर्ष भए, आज तिमी त्यसमा चुक्यौ भनेर उनीहरूले भनिरहेका छन्।
यसमा उनीहरूको विश्वास जित्न हामीले बोलेर मात्र हुँदैन, ठूलो सुधार हामीलाई चाहिएको छ। त्यो सुधार पार्टीभित्र चाहिएको छ।
पार्टीभित्र हामी के गर्छौं, के गर्देनौं? शुद्धीकरण कसरी गर्छौं? पुनर्जागरण कसरी गर्छौं? र, शुद्ध भएको, पुनर्जागरित भएको पार्टीले नेपालको शासन व्यवस्थामा कसरी सुधार ल्याउँछ?
दलीयकरणबाट संस्थाहरू भ्रष्टीकरण भए भनेर नागरिकहरूमा यति ठूलो आक्रोश छ। हिजो हामीले पनि गल्ती-कमजोरी गर्यौं, अब हामीले नगर्ने कुराहरू के के छन्? भ्रष्टाचारबाट समाजलाई, संस्थालाई हामी कसरी अलग गर्छौं? यी तमाम विषयका सम्बन्धमा हामीले आफ्नो अधिवेशनबाट संकल्प गर्नुपर्नेछ, आफ्ना योजनाहरू बनाउनुपर्नेछ।
निर्वाचन शक्तिसँग जोडिएको हुन्छ। हामीले शक्तिसँग जोडिएको कांग्रेस खोजेका होइनौं, उद्देश्यसँग जोडिएको कांग्रेस खोजेका हौं।
हामीले चुनाव जित्छौं भन्ने होइन, आफूलाई चुनाव जित्न योग्य बनाउनुपर्नेछ।
भोट माग्न दौडिने होइन, भोट दिन मन लाग्ने नेपाली कांग्रेस पार्टी बनाउनुपर्नेछ।
हो, यसका निम्ति हामीलाई अधिवेशन चाहिएको छ।
तेस्रो कुरा, हामीले नवजवानहरूसँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्नुपर्नेछ।
म जतिखेर कक्षा ९ मा थिएँ, त्यतिखेर मैले पहिलो पटक नेपाली कांग्रेसको झन्डा बोकेको हुँ। कांग्रेसको नाम मात्र सुन्दै गर्दा पनि कति ठूलो गौरव लाग्थ्यो! आजका नवजवानहरूमा त्यो अवस्था छ?
आज हामीमाथि प्रश्नै प्रश्न छन्। हामीलाई सत्ता र शक्तिसँग मात्र जोडेर हेरिएको छ। के हामी त्यही हौं त?
यो अवस्थामा हामीले आफूले गरेका कामहरू बताउनुपर्नेछ। सँगसँगै, हामीसँग भएका गुनासालाई सम्बोधन गरेर पनि जानुपर्नेछ।
यस निम्ति एक पटक उनीहरूसँग हामी बस्नुपर्नेछ। हामीले बोल्ने होइन, उनीहरूका कुरा सुन्नुपर्नेछ, संवाद गर्नुपर्नेछ। उनीहरूलाई ठाउँ दिनुपर्नेछ, सहभागी गराउनुपर्नेछ।
हो, यसका निम्ति हामीलाई अधिवेशन चाहिएको छ।
चौथो कुरा, यो अधिवेशन गरेर गयौं भने नेपाली कांग्रेस पार्टी अडियो, कांग्रेस घोरियो, कांग्रेसले आफूले केही गल्ती गरेका थियौं भनेर स्वीकार गर्यो भन्नेमा प्रस्ट हुनेछ।
हामीले नागरिकहरूका कुरा सुन्यौं, सुधारको संकल्प गर्यौं, हामी नयाँ भएर आएका छौं र नयाँ सुरूआत गर्ने बाचा गरेर आएका छौं भन्ने पनि प्रस्ट हुनेछ।
त्यसपछि बल्ल नागरिकसँग संवादको नयाँ ढोका खुल्छ। त्यसपछि बल्ल हामीसँग रिसाएका नागरिकले एक पटक फेरि तिमीहरूलाई मौका दिन्छौं भन्ने अवस्था आउँछ।
हो, यसका निम्ति पनि हामीलाई अधिवेशन चाहिएको छ।
मैले यही कुरा पार्टीभित्रका साथीहरूलाई भन्दा उहाँहरू यो काम गर्न भ्याइँदैन भन्नुहुन्छ। किन भ्याइँदैन?
पहिले यो काम गर्न ६ महिना लाग्थ्यो भन्ने उहाँहरूको तर्क छ।
पहिले ६ महिना लाग्ने कुरा अब २ महिनामा गर्न सकिँदैन र? इच्छा भयो भने किन नसक्ने?
आफ्नै पार्टीभित्रको दु:ख सल्टाउन नसक्ने र घरभित्रको झगडा मिलाउन नसक्ने नाममा नागरिकहरूको यति ठूलो आन्दोलनको मानमर्दन गरेर हामी बस्न सक्छौं?
साथीहरू भन्नुहुन्छ — भोट माग्न जाने बेला भइसक्यो भ्याइँदैन।
म भन्छु — हामी ठिक ठाउँमा उभियौं भने भोट माग्न जानै पर्दैन। हामी ठिक भयौं भने भोट दिने मानिसहरू आफै आउलान् नि!
तर के हामी ठिक भएनौं भने माग्न गएर मात्र भोट आउँछ? के हामीले पटक पटक यो कुरा अनुभव गरेका छैनौं र?
त्यसैले मैले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पुस १६ गते अधिवेशन गर्नुपर्छ भनेर प्रस्ताव राखेको छु।
म पार्टीको तल्लो तहमा बसेर काम गरिरहेका साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु, तपाईंहरूले पनि यो बहसमा भाग लिनुपर्छ, तपाईंहरूले पनि बोल्नुपर्छ र नेताहरूलाई तपाईंहरूले भन्नुपर्छ — तपाईंहरू निर्णय गर्नुहोस्, दिनरात काम गरेर भए पनि हामी टुंग्याउँछौं।
मैले अर्को एउटा प्रस्ताव पनि गरेको छु।
यो पटक अधिवेशन मात्र गर्ने होइन, उम्मेदवार पनि तपाईंहरूले नै छान्ने हो। पार्टीका प्रत्येक क्रियाशील सदस्य जब क्षेत्रीय प्रतिनिधि छान्न बुथमा आउनुहुन्छ, तब तपाईंहरूले आफ्नो क्षेत्रबाट कसलाई उम्मेदवार देख्न चाहनुहुन्छ, पार्टीको कुनै पुरानो साथीलाई हो कि नवजवानलाई हो, वा समाजमा प्रतिष्ठा आर्जन गरेका अर्को कुनै व्यक्तिलाई छान्न चाहनुहुन्छ कि, त्यो अधिकार पनि तपाईंहरूलाई दिनुपर्छ भनेर मैले भनिरहेको छु।
यी सबै कुराका लागि पुसभित्र अधिवेशन गरौं भन्दा नेताहरू मान्नुहुन्न भने हामीसँग एउटा मात्र विकल्प छ — ५४ प्रतिशत साथीहरूले हस्ताक्षर गरेर विशेष अधिवेशन माग्नुभएको छ, त्यही विशेष अधिवेशनबाट भए पनि नेपाली कांग्रेसले आफूलाई सुधार गर्ने।
यसो गर्दा नियमित अधिवेशनजस्तो अवसर प्राप्त नभए पनि जति अवसर प्राप्त हुन्छ त्यसबाट हामी आफूलाई नयाँ बनाउन सक्छौं। आफ्ना थुप्रै पुराना कुरा छाड्ने र केही नयाँ कुरा थप्न त्यो मञ्च प्रयोग गर्न सक्छौं।
मैले कुनै व्यक्तिगत कारण वा प्रेरणाबाट यो कुरा भनिरहेको छैन। कुनै सत्ता वा शक्तिका लागि होइन, नेपाली कांग्रेस पार्टीभित्र सुधारको आवश्यकताका आधारमा म यो कुरा भनिरहेको छु।
किनभने, सुधार अहिलेको समयको माग हो।
Reform is not a betrayal, it's the highest form of loyalty.
मैले पार्टीप्रति आफ्नो निष्ठाका कारण यो कुरा भनिरहेको छु। पार्टीप्रति भन्दा मेरो निष्ठा त देशप्रति हो। पार्टीप्रतिको निष्ठाका आधारमा त्यसलाई सुधार गर्न सकियो भने त्यसले देशप्रतिको जिम्मेवारी निर्वाह गर्न सक्छ।
मैले देखिरहेको छु, मेरो वरिपरि यति धेरै नागरिक डराइरहनुभएको छ। के होला नेपालमा भनेर प्रश्न गरिरहनुभएको छ। उहाँहरू अनिश्चित हुनुहुन्छ, अन्यौलमा हुनुहुन्छ। यी सबै अनिश्चय र अन्यौललाई सम्हालेर जानुपर्दैन हामीले?
त्यो सम्हाल्ने योग्यता हामीले राख्नुपर्दैन?
२००६ सालको जस्तो क्रान्ति चेत, २०१५ सालको जस्तो प्रगतिशील र समावेशी चेत, २०४८ सालको जस्तो लोकप्रियता, २०६२/६३ सालको जस्तो जोखिम उठाउन सक्ने क्षमता हाम्रो गौरवशाली विगत हो। यो कुरा पनि बताऊँ र सँगसँगै सुनौं हामी — नयाँ पुस्ता आखिर के खोजिरहेका छन्?
नैतिक आचरणमा शुद्धता, शासन गर्दा पारदर्शिता र परिणाममुखी, जनसम्पर्कमा अत्यन्त ऊर्जाशील, व्यवस्थापनमा अब्बल, देशलाई डोहोर्याउन सक्ने खाका भएको, त्यो खाकाप्रति इमानदार भएको र इमानदारीका साथ त्यो खाकालाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने क्षमता पनि भएको; हामीले खोजेको नेपाली कांग्रेस यस्तो हो।
यसका निम्ति हामीले नेपाली कांग्रेस सक्षम छ, आजको जिम्मेवारी पनि पूरा गर्छ, भोलिको जिम्मेवारी पनि पूरा गर्छ भनेर भन्नुपर्नेछ।
त्यो भनिसकेपछि बल्ल हामी चुनावमा जाँदै गर्दा त्यसको लाभ प्राप्त गर्न सक्ने अवस्था बन्छ।
हो, यसका निम्ति पनि हामीलाई अधिवेशन चाहिएको छ।
हामीले पार्टी बाहिरका साथीहरूको पनि कुरा सुन्नुपर्छ। नेपाली कांग्रेसलाई कहिल्यै मत नहाल्नेले पनि कांग्रेस सुध्रिनुपर्छ भनेर भन्न पाउनुपर्छ। किनभने, पार्टी भनेको सबैको हो। पार्टीभित्र बसेका वा जिम्मेवारीमा बसेका मानिसहरूको मात्र होइन।
चुनावमा मत माग्न जाँदा के हामी पार्टीका सदस्यसँग मात्र माग्छौं? आफूले कहिल्यै नचिनेको र कहिल्यै कांग्रेससँग नजोडिएका व्यक्तिसँग मत माग्दैनौं?
ती मतदातासँग मत चाहिँ माग्ने, अनि तिनको मनभित्र भएका कुरा हामीले नसुनीकन हुन्छ?
हामीले तिनको कुरा सुन्नैपर्छ, त्यसलाई सम्मान गर्नैपर्छ। नागरिकलाई सम्मान गर्यौं भने मात्र नागरिकले हाम्रो सम्मान गर्छ, हाम्रो पार्टीको सम्मान गर्छ।
हामीले भदौ २३ गतेभन्दा अगाडि एउटा तरिकाले सोच्यौं, अब हामीले त्यसपछिको आवाज सुन्नुपर्छ। भ्रष्टाचारबाट पूर्ण रूपमा अलग, कुशासनबाट पूर्ण रूपमा अलग र साथमा जबाफदेहिता, पारदर्शिता, पवित्रता, शुद्धता, यस्ता जे-जति कुरा खोजिएका छन्, ती सबै बोकेर २०६२/६३ को आन्दोलनबाट प्राप्त संवैधानिक अधिकार, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरू जोगाउँदै र हाम्रा प्रजातान्त्रिक हकलाई पनि जोगाउँदै हामीबाट अपेक्षा गरिएको कार्य-सम्पादन गर्न सक्ने पार्टी अधिवेशनबाट बनाउनुपर्नेछ।
हामीले पार्टीभित्रका तमाम सदस्यलाई जोडेर उनीहरूलाई उत्साहित गर्नुपर्नेछ। नेपाली कांग्रेसभन्दा बाहिर रहेका थुप्रै नवजवानलाई पनि यो पार्टीमा लिएर आउनुपर्नेछ, यसैमा जोड्नुपर्नेछ। अनि बल्ल हामी चुनावमा जान योग्य हुनेछौं।
त्यसैले म पार्टीका तमाम साथीहरूलाई आग्रह गर्छु — अधिवेशनको यो बहसमा तपाईंहरूले भाग लिनुपर्छ, हाम्रो प्रयासलाई तपाईंहरूले बल पुर्याउनुपर्छ।
पार्टीभन्दा बाहिर रहेका नवजवान साथीहरूलाई पनि म अपिल गर्छु — म कांग्रेससँग सम्बन्धित छैन तर कांग्रेसको सुधारका कुरामा मेरो चासो रहन्छ भनेर तपाईंहरूले पनि भन्दिनुपर्छ।
(नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बुधबार राति सामाजिक सञ्जालमार्फत् जारी गरेको भिडिओ सन्देशमा आधारित)