न्यूयोर्कको मेयर पदमा पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका जोहरान ममदानीको जितले संसारको ध्यान तानेको छ। तर अमेरिकामा मंगलबार भएको निर्वाचनमा इतिहास रच्ने ममदानी मात्र होइनन्।
उनीसँगै अर्का डेमोक्रेट नेता गजलाह हाश्मी पनि अमेरिकाको इतिहासमा नयाँ अध्याय लेख्दै भर्जिनियाको उप-राज्यपाल (लेफ्टिनेन्ट गभर्नर) बनेकी छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार गजलाह हाश्मी अमेरिकाको कुनै राज्य स्तरको राजनीतिक पदमा जित हात पार्ने पहिलो मुस्लिम महिला हुन्।
संयोगको कुरा के भने, उनी पनि ममदानीजस्तै दक्षिण एसियाली मूलकै हुन्। हाश्मीको जन्म भारतको हैदराबादमा भएको थियो।
उनले रिपब्लिकन उम्मेदवार जोन रिडलाई पराजित गरेकी हुन्। रिड पहिले एक कन्जरभेटिभ टक शो होस्ट थिए। उनी आफूलाई समलैंगिक बताउने भर्जिनियाका पहिलो उम्मेदवार पनि हुन्।
गजलाह हाश्मीको जन्म सन् १९६४ मा भएको थियो। उनी चार वर्ष उमेरमा आफ्नी आमा र दाजुसँग भारतबाट अमेरिका गएकी थिइन्। उनका बुबा जर्जिया साउदर्न विश्वविद्यालयमा पढाउँथे।
त्यो समय अमेरिकी विद्यालयहरूमा जातीय भेदभाव अन्त्य हुँदै थियो। हाश्मीले विद्यालयमा राम्रो अंक ल्याइन् र पछि जर्जिया साउदर्न र एमोरी विश्वविद्यालय (एटलान्टा) बाट उच्च शिक्षा पूरा गरिन्।
उनले ३० वर्षसम्म भर्जिनियाका विभिन्न कलेजमा साहित्यकी प्राध्यापक र प्रशासकका रूपमा काम गरिन्।

सन् २०१९ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरूलाई निशाना बनाउने नीति ल्याएपछि हाश्मीले राजनीतिक रूपमा सक्रिय हुने निर्णय गरेकी थिइन्।
हाश्मीका अनुसार एक अमेरिकी मुस्लिम महिला हुनुको नाताले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकाल उनका लागि कठिन र संकटको घडी थियो।
सन् २०२० मा दिएको एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, 'यी समस्यासँग जुध्न सार्वजनिक रूपमा अझ धेरै देखिनु र बोल्नु जरूरी छ भन्ने मलाई महसुस भयो।'
त्यो वर्ष हाश्मीले भर्जिनिया राज्य सिनेटको चुनाव लडिन् र रिपब्लिकन उम्मेदवारलाई हराएर विजयी भइन्। उनले डेमोक्रेट पार्टीलाई लामो समयपछि राज्यसभामा नियन्त्रण दिलाउन पनि भूमिका खेलेकी थिइन्।
उनी त्यति बेलै भर्जिनियाको राज्य सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम महिला थिइन्।
यस वर्षको चुनावमा उनले गर्भपतनको अधिकार, सार्वजनिक शिक्षा प्रणाली बलियो बनाउने र स्वास्थ्य सेवामा सुधार गर्ने वाचा गरेकी थिइन्।
***