पुस महिनाको चिसो बिहानीमा ठिक पाँच बजे अलार्म बज्यो। मनले भन्यो- बन्द गरेर फेरि सुत। त्यही गरेँ तर धेरै बेर सुत्न सकिएन। साढे पाँच बजे अनिलको फोन आयो, 'ओइ सुतेकै छस्? ढिलो भयो छिटो आइजा!’
मैले फोन उठाएर उसको कुरा सुनेँ। आखिर सुत्न त अझै मन थियो तर बिहान बिहानै बिराटनगरको यात्रामा जानु थियो। फोनकलमा ‘ल हुन्छ म आइपुगेँ’ भन्दै झटपटमा नित्यकर्म गरी तयार भएर घरबाट निस्किएँ। बाहिर पुरै कुहिरोले ढाकेको र पानी परे जस्तै शीतलहर थियो। यही मौसममा जनकपुरबाट बिराटनगर जानु थियो।
घरबाट निस्कँदा ई-रिक्शामा बसेँ र पुगेँ जनकपुरको प्रमुख चोक रामानन्द चौक जहाँ अगाडिदेखि नै मेरा सबै साथीहरू गाडी रिजर्भ गरेर मेरै प्रतीक्षामा थिए। म पुग्दा सबैजना आगो ताप्दै चिया खाँदै थिए। म पुग्नसाथ सबैजना उठेर गाडीमा गएर बसिहाले। सायद म अलि बढी नै ढिलो थिएँ। त्यसपछि म पनि गाडीमा बसे अ सुरु भयो जनकपुरदेखि बिराटनगरको यात्रा चिसो-कुहिरोले ढाकेको मौसममा।
केही छिनपछि ढल्केवर पुग्यौँ। त्यहाँबाट हामीले दुईजना थप साथीहरूलाई गाडीमा बसाई यात्रालाई निरन्तरता दियौँ। बाहिर चिसो भए पनि भित्र हामी आठ जना साथीहरूले गाडी तताइसकेका थियौँ। रमाइलो गर्दै दिनको १२ बजे हामी बिराटनगर पुग्यौँ।
यहाँको मौसम अलि सफा थियो र अलिअलि घाम उदाउने कोशिसमा सूर्य भगवान हुनुहुन्थ्यो। हामीले बिहानदेखि केही पनि नखाएकोले सबैभन्दा पहिला एक होटेलमा गएर खाना अर्डर गर्यौँ। केही मिनेटपछि टेबलमा खाना आयो। त्यसपछि दायाँबायाँ आफ्नो सामानहरू सबै फालेर पहिला खाना सकायौँ। खाना खाइसकेपछि अब हामीलाई जानु थियो त्यहाँ जहाँको लागि हामी बिराटनगर आएका थियौँ।
एक एनजिओको कार्यक्रमका लागि हामी आएका थियौँ। त्यसपछि हामी कार्यक्रम स्थलमा पुग्यौँ जहाँ कार्यक्रम सुरु भइसकेको थियो। कार्यक्रममा विभिन्न ठाउँबाट विभिन्न कलेजका विद्यार्थीहरू पनि आएका थिए। कार्यक्रमपश्चात् हामी अझै एक रक्तदान र रगत परीक्षण कार्यक्रममा जानु थियो। हामी लाग्यौँ अर्को कार्यक्रमतिर।
रक्तदान र रगत समूह परीक्षण कार्यक्रम एक विद्यालयको प्राङ्गणमा हुँदै थियो। रङ्गीबिरङ्गी लुगा लगाएका भीडमा म चारैतिर हेर्दै थिएँ। कोही रक्तदान गर्दै त कोही रक्तदान गरिरहेको दातालाई नियालेर हेरिरहेका थिए। कोही आइसक्रिम खाइरहेको त कोही पेटमा हात हालेर कुर्सीमा नै सुतिरहेको व्यक्तिलाई हेर्दै थिए। त्यहीको छेउबाट छिनछिनमा बुलेट बाइकहरू फटफट फटफट गर्दै गएको आवाज मेरो कानसम्म आइरहेको थियो।
‘हेलो! हेलो! फलानो ज्यूलाई आसन ग्रहण गरिदिन अनुरोध गर्दछु’ भन्दै माइकिङको पनि आवाज आइरहेको थियो।
दिनको तीन बज्न लागेको थियो। हामीलाई भोक लागिसकेको थियो। म र केही साथीहरू त्यहीँ नजिक एक जना दिदीले बेच्दै गरेको चटपटे पसलमा गएर बस्दै गर्दा विद्यालय भित्रबाट आवाज सुनियो- ‘एक आपतकालीन केस छ।’
यति सुनेपछि म कार्यक्रम स्थलमा पुगेर कुरा बुझ्न खोजेँ। थाहा पाएँ कि कोशी अस्पतालमा अहिले तुरुन्त एक महिलालाई ताजा बी-नेगेटिभ रगत चाहिएको छ। हामी कोशी अस्पतालको नजिके थियौँ, रङ्गेली रोडमै।
त्यो समयसम्म जम्मा २३ जनाले रगत दान गर्नु भएको थियो। तर बी-नेगेटिभ कसैको थिएन। बाँकीलाई सोध्दा पनि कसैको नरहेको कुराहरू आयो। त्यसपछि साथीहरू मलाई सोधे कि मेरो कुन हो? मैले एक पटक जाँच्दा बी-पोजिटिभ थियो तर आजसम्म कहिल्यै रक्तदान गरेको थिइनँ। सोही कुरा उनीहरूलाई बताएँ।
म फेरि अहिले नै रगत समूह परीक्षण गराएर भन्छु पख भन्दै म रगत समूह परीक्षण गराउन गएँ। त्यहाँ एक जना केटी पनि आइपुगिन्। उसलाई पनि रगत समूह थाहै नरहेछ। म र उनी एकैचोटि परीक्षण गराउन पुग्यौँ, रगत समूह मिल्यो भने अहिले नै रक्तदान गरेर रगतको अभाव पूरा गर्न सकिन्छ भन्ने सोचले।
परीक्षण गर्ने व्यक्तिले मेरो बायाँ हातको औँलामा पिनले खोचे जस्तै सानो सुई चुभायो। मैले दुवै आँखा बन्द गरेर दुखेको आवाज निकाल्दा छेउमै रहेकी केटी हाँस्न थालिन्। मैले ती केटीलाई हाँसिरहेको बेलामै राम्ररी हेरेँ। मलाई पनि आफै हाँसो आयो। तबसम्म मेरो रगत लिई जाँच भइरहेको थियो। अब पालो थियो उसको म हेर्न चाहन्थेँ कि ऊ कस्तो प्रतिक्रिया दिन्छे।
उसको हातको औँलामा सुई छुआउने बित्तिकै मुखबाट आवाज आउँछ मम्मी। अब मेरो मुस्कान बाहिर आउनबाट मैले रोक्न सकिनँ। मसँगै उनी पनि आफै हाँस्न थालिन्। त्यसपछि हाम्रो कुराकानीको सुरुवात ऊबाटै भयो।
उनले मलाई सोधिन्, ‘तपाईंलाई पनि थाहा छैन ग्रुप?’
मैले भनेँ, ‘थाहा चाहिँ छ तर एक पटक अझ निश्चित गर्न खोजेको।’
रगत परीक्षण भइसकेको थियो र अब पालो थियो नतिजा सुन्ने। मेरो र उसको दुवै जनाको रगत समूह बी-प्लस यानिकि बी-पोजिटिभ। त्यसपछि यति निश्चित भयो कि हाम्रो रगत चाहिनेलाई तत्काल हुनसक्दैन अब। अनि उता अरू ठाउँमा पनि रगतको खोजी हुनथाल्यो। फेरि केही मिनेटपछि नै खबर आयो कि रगतको जोहो भइसक्यो। हामीले दातालाई त्यहीँबाट धन्यवाद भन्यौँ।
यता हाम्रो कुराकानी सुरु भइसकेको थियो। उनी पनि त्यही कार्यक्रमको लागि आएकी थिइन् जुनमा म साथीहरूसँग आएको थिएँ। नाम-ठेगानासहित हामीबिच परिचय साटासाट भयो। उनी सुनसरीबाट थिइन्। उनलाई सामाजिक कार्यमा एकदमै रुचि भएको कुरा भनिन् र सधैँजसो कुनै न कुनै सामाजिक कार्यमा सहयोग गरिरहेकै हुन्छु भनेर पनि भनिन्।
हामी लगातार मस्ती मजाक गर्दा गर्दै एक घण्टा सँगै बितायौँ। त्यसपछि ऊ आफ्नो साथीहरूसँग बस्न गइन्। यता म केही समय अगाडि मात्रै भेटेको केटीलाई लिएर अनेक कुराहरू सोच्न थालेँ। म त पुरै कल्पनामा डुबिसकेको थिएँ।
चिसो मौसममा एकै ठाउँमा बसेर म त्यो समयदेखि धेरै जीवनको अगाडिसम्मको कुरा सम्झिसकेको थिएँ। रुखको पात हल्लिरहेको थियो, फूलहरू मुस्कान दिइरहेका थिए, घाँसहरू आफैमा जिस्किरहेको थिए तर म आफैमा उसको लागि कल्पनामा डुबेको थिएँ।
यत्तिकैमा उनले फेरि मेरो नजिक आएर भनिन्, ‘हिँड्नु न हामीसँग खाजा खान।’
यो कुरा सुनिसकेपछि मन अझै गद्गद् भयो र म पनि उनीसँगै खाजा खानतिर लागेँ। उनीसँग फेरि अगाडि पछाडिको थुप्रै कुराकानी भयो। मलाई लागिरहेको थियो कि हामी धेरै पुरानो दुई साथी हौँ तर सायद यो मलाई मात्र लागिराखेको थियो।
बेलुकाको पाँच बज्न लागिसकेको थियो। अँध्यारो हुनै लागेको थियो। रक्तदान कार्यक्रमहरू अघि नै सकेर सबै जसो फर्किसक्नु भएको थियो। बाँकी सबै जना जानका लागि तयार हुँदै थिए तर मलाई जान नै मन लागिरहेको थिएन। त्यत्तिकैमा ऊसँग कुराकानी गर्दागर्दै अचानक एक मिनिबस आइपुग्यो। आसपास अझै केटाकेटीहरू पनि आइपुग्यो।
अब त मेरो धड्कन ढुकढुक हुनथाल्यो। सायद ऊसँगको बिछोडबाट डराएको थिएँ। ऊ खाँदा खाँदै ‘हजुर मलाई अब जानु पर्छ, पछि फेरि भेटौँला अहिलेको लागि बाई’ भन्दै आफ्नो झोला बोकेर हतार हतारमा बसभित्र छिरिन्। फेरि बसको झ्यालबाट हात हल्लाउँदै बाई-बाई भनिन्।
यता म केही बोल्न लायक थिइनँ, मैले केही सोच्नै पाइनँ कि फोनमा कुराकानी गर्न पनि त सकिन्थ्यो तर नम्बर नै छैन। म यति ख्यालमा डुबेँ कि भोलि कसरी कुराकानी हुन्छ भने जुक्ति लगाउन पाइनँ। अझ समय बिताउने चाहना थियो, अझै कुराकानी गर्ने चाहना थियो तर चाहना अधुरो रह्यो।
यति सब भइरहँदा छेउमा रहेका मेरा मित्रहरू मनमनै मुस्कुराउँदै मलाई जिस्काउँदै थिए। मेरो सपना एकैछिनमा टुट्यो, कल्पना सबै क्षतविक्षत भयो। म मुर्छित थिएँ तर पनि यही भावनाले आफ्नो गन्तव्यतिर लाग्यौँ।
म गाडीमा थिएँ तर मन अर्कै ठाउँमा थियो। मैले उसँग यति कुराकानी गरेँ कि कामको कुरा गर्नै बिर्सेँ। सायद यसैलाई भनिन्छ अभागी। मेरा साथीहरूले गाडीमा अरिजीत सिंहको गीत जानी जानी बजाएर मलाई सान्त्वना दिइरहेको थियो। मलाई थाहा थियो यो केटाहरू मलाई अझ जिस्काइराखेका छन्।
अब मेरो हातमा पनि धेरै कुरा थिएन। सायद भगवानले हाम्रो भेट लामो समयको लागि बनाएका थिएनन्। अब अगाडिको कामहरूको योजना बनाउँदै त्यो समयलाई मैले सामान्य समय भनेर बिर्सिन प्रयास गर्न थालेँ। यदि ऊसँग किस्मतमा केही कुरा लेखेको होला भने फेरि भेट अवश्य हुनेछ।
समय रोमान्चक रह्यो र कहिल्यै बिर्सन सक्दिनँ। हाम्रो ब्लडग्रुप बी-पोजिटिभ हुँदैमा सबै कुरा पनि पोजिटिभ नै हुनुपर्छ भन्ने छैन भन्ने सोचले अब अगाडि बढ्दै छु। रक्तदान जीवनदान हो, समय समयमा सबैजनाले रक्तदान गर्दै गर्नुहोला।